
१७ असार, सिन्धुपाल्चोक । बाढीबाट प्रभावित सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित तेर्से माध्यमिक विद्यालयले थप क्षति हुन नदिन तारजालीमा ढुंगा राखेर पर्खाल लगाउन थालेको छ ।
गत जेठ ३१ गतेदेखि असार ४ गतेसम्म मेलम्चीमा आएको बाढीले मेलम्ची नगरपालिका–६ तालामाराङमा रहेको तेर्से माध्यमिक विद्यालयको चारवटा कक्षा कोठा र शौचालय बगाएको थियो ।
मेलम्ची नगरपालिकाबाट २० थान र अभिभावक तथा विभिन्न संघसंस्थामार्फत प्राप्त गरी ८० थान तारजालीमा ढुंगा भरेर राखिएको प्रधानाध्यापक कृष्ण ढुंगानाले बताए । थप सय वटा तारजाली मौज्दातमा रहेको र त्यसलाई पनि लगाउने तयारी गरिरहेको उनले जानकारी दिए ।
विद्यालयको भवन क्षति हुन नदिन विद्यालयले गरिरहेको प्रयासमा अभिभावक एवं विद्यार्थीको श्रमदान तथा आर्थिक सहयोग समेत जुटिरहेको प्रधानाध्यापक ढुंगानाले बताए । तत्काल निर्णय गरी काम थाल्नुपर्ने अवस्थामा समेत सरकारी प्रक्रिया सुस्त भएको बताए । ‘विपद्को बेला काम गर्ने सरकारी संयन्त्र प्रभावकारी रहेनछ भन्ने अनुभव भएको छ । त्यसैले सहयोग एवं ऋण लिएर आफैं विद्यालय जोगाउन लागेका छौं,’ उनले भने, ‘एक दिन मात्रै ढिला गरेको भए बढेर आएको बाढीले विद्यालयको भवनमा थप क्षति पु¥याउने थियो ।’
तारजाली समयमा नै लगाएको कारण बिहीबार बढेर आएको खोलाले विद्यालयको भवनमा थप क्षति हुनबाट जोगिएको उनले बताए ।
प्रतिक्रिया 4