७ साउन, काठमाडौं । टोकियो ओलम्पिक अन्तर्गत बिहीबार भएको पुरुष फुटबलमा साविक विजेता ब्राजिलले विजयी सुरुवात गरेको छ ।
पाँच वर्षअघि घरेलु मैदानमा स्वर्ण जितेको ब्राजिलले त्यसबेला रजत जितेको जर्मनीलाई ४-२ ले पराजित गरेको हो ।
समूह डी अन्तर्गत निसान स्टेडियममा भएको खेलमा ब्राजिलका लागि रिचार्लिसनले ह्याट्रिक गरे । उनले खेलको सातौं, २२ औं र ३० औं मिनेटमा गोल गरे । यस्तै पाउलिन्होले इन्जुरी टाइममा एक गोल थपे । जर्मनीका लागि नादिएम अमिरीले ५७ औं र राग्नर अचेले ८४ औं मिनेटमा गोल गरे ।
पहिलो हाफको इन्जुरी टाइममा ब्राजिलले पेनाल्टी पाएपनि माथेउस कुन्हाले गोल गर्न सकेनन् । ६३ औं मिनेटमा जर्मनीका म्याक्सिमिलियानो आर्नोल्ड दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।
यसै समूहको अर्को खेलमा आइभरीकोष्टले साउदी अरेबियालाई २-१ ले पराजित गरेको छ ।
यस्तै पुरुष फुटबल अन्तर्गत नै समूह सी को खेलमा अर्जनेटिना भने पराजित भएको छ ।
अर्जेन्टिना अष्ट्रेलियासंग २-० ले पराजित भएको हो । अष्ट्रेलियाको लागि लाभलन वेल्सले १४ औं र मार्को तिलिओले ८० औं मिनेटमा गोल गरे । पहिलो हाफको इन्जुरी टाइममा फ्रान्सिस्को ओर्टेगा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएपछि अर्जेन्टिनाले दोस्रो हाफभर १० खेलाडीमा सीमित थियो ।
यस्तै समूह ए अन्तर्गत घरेलु टोली जापानले साउथ अफ्रिकालाई १-० ले पराजित गरेको छ । जापानका लागि ताकेफुसा कुबोले ७१ औं मिनेटमा गोल गरे ।
प्रतिक्रिया 4