२७ असोज, काठमाडौँ। तेस्रो अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड-जुनियर सम्पन्न भएको छ। असोज १७ देखि २४ गतेसम्म काठमाडौँमा सञ्चालन भएको ओलम्पियाडमा नेपालसहित उन्नाइस देशले सहभागिता जनाएका थिए ।
यस खगोल तथा खगोल भौतिक भौतिक ओलम्पियाड-जुनियर विधामा सहभागी विद्यार्थीहरूको सैद्धान्तिक र प्रयोगात्मक परीक्षा लिईएको थियो । सोही परीक्षाको नतिजाका आधारमा ८ स्वर्ण, १३ कास्य, २१ रजत, २८ मानार्थ गरी जम्मा सत्तरी पदक विद्यार्थीहरूले प्राप्त गरेका छन् ।
दुई स्वर्ण पदक प्राप्त गर्नेमा चीन, चेकरिपब्लिक, भारत रहेका छन् भने बुल्गेरिया र थाइल्याण्डले क्रमशः १/१ स्वर्ण प्राप्त गरेका छन् । सैद्धान्तिक परीक्षामा चेक रिपब्लिकका अलेक्स फेयव ‘बेस्ट इन थेउरी’ अन्तर्गत स्वर्ण प्राप्त गरेका हुन् । त्यस्तै, प्रयोगात्मक परीक्षामा चीनका च्याहु जङगले ‘बेस्ट इन अब्जरभेसन’ अन्तर्गत स्वर्ण प्राप्त गरेका छन् ।
त्यस्तै, चेक रिपब्लिकका अलेक्स फेयवले ‘बेस्ट इन ओवरल्’ प्राप्त गरे । ओलम्पियाडकै एक गतिविधिका रुपमा आयोजित ‘खगोल र संकृति’ पोस्टर प्रतियोगितामा दश देशले पोस्टर प्रदर्शनमा राखेकोमा मतदान मार्फत् चेक रिपब्लिकले बाजी मार्यो ।
हेर्नुहोस् पदक तालिका
सहभागीलाई एकै देशमा दुई सदस्य नरहने गरी विभिन्न १६ समूहमा विभाजन गरी सामूहिक प्रतियोगिता गराइएको थियो । उक्त प्रतियोगितामा एपिमेथियस नामक टोली विजयी भए ।
असोज २३ गते आयोजित समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेश सामाजिक मन्त्रालयका मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले नेपालमा ओलम्पियाड कार्यक्रम गर्ने र गराउने सवालमा नीतिगत नियम बनाउन पहल गर्ने बताइन् । उनले भनिन्, ‘सामाजिक विकासका लागि नेपालमा खगोलीय विज्ञान मात्र नभई पर्यावरण तथा नविनतम् प्रविधिको विकास र त्यसको प्रवर्द्धनका निमित्त थप काम गरिनेछ ।’
‘नेपालमा खगोलीय अनुसन्धान तथा विकासका लागि सहकार्य गर्ने वातावरण तयार गरिनेछ,’ मन्त्री खड्कीले भनिन्, ‘पछिल्लो सताव्दीमा हाम्रा सम्पदा, कला-संस्कृति, प्राचीन प्रविधि तथा खगोलीय ज्ञानको दायरा फराकिलो हुन सकेन।’ त्यसका लागि थप काम गर्ने वातावरण बनाउन पहले गर्ने उनले बताइन् ।
नेपालमा भएको ओलम्पियाडमा इटाली पहिलो पटक सहभागी भएको थियो । अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाडका अध्यक्ष अनिकेत सुलेले नेपाल एउटा ऐतिहासिक, सांस्कृतिक र सर्वोच्च शिखर सगरमाथा भएको देश हो भन्दै सगरमाथाको उचाइ जस्तै जीवनको लक्ष्य निर्धारण गर्नुपर्ने बताए ।
नेपाल नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो) का अध्यक्ष सुरेश भट्टराईले उपस्थित यस प्रकारको ओलिप्याडले नेपालमा मात्र नभई विश्वमै खगोल तथा खगोल भौतिक विज्ञानमा टेवा पुग्ने बताए । आइओएए जुनियर २०२४ का सह-अध्यक्षसमेत रहेका भट्टराईले भने, ‘तपाईंहरुको सक्रिय सहभागितले रोमानिया, ग्रीसहुँदै नेपालमा पनि ओलम्पियाड-जुनियर गर्न सफल भएको हो ।’
‘नेपालमा तपाईंहको बसाईं सुखद रहयो भन्ने मैले विश्वास लिएको छु,’ आइओएए जुनियर २०२४ का सह-अध्यक्ष मनिषा द्वाले भनिन्, ‘तपाईंहरुले हामीलाई विश्वास गरेर पहिलो पटक नेपाल आउनु भयो । त्यसका लागि विशेष आभार छ।’
वि.सं. २०७९ मा सुरु गरिएको ‘अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड-जुनियर’ को नेपाल एक संस्थापक सदस्य राष्ट्र हो। यस ओलम्पियाडको पहिलो संस्करण रोमानिया र दोस्रो संस्करण ग्रीसमा आयोजना भएको थियो ।
‘ओलम्पियाड-जुनियर’ मा बांग्लादेश, बुलगेरिया, क्यानडा, चीन, कोलम्बिया, चेक रिपब्लिक, इस्टोनिया, ग्रिस, भारत, इटाली, लिथोनिया, मलेशिया, नेपाल, रोमानिया, श्रीलंका, स्वीडेन, थाइल्यान्ड, युक्रेन र युएइ देशका विद्यार्थी तथा टिम लिडर (शिक्षक) सहित १५० सहभागी भएका थिए ।
त्यस्तै, नासोले सन् २०१४ देखि नेपालमा राष्ट्रिय खगोल ओलम्पियाड सञ्चालन गर्दै आइरहेको छ। यस ‘सिनियर विधा’मा १६ वर्षदेखि २० वर्ष उमेर समूहका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुका सहभागी हुनेछन्।
राष्ट्रिय खगोल ओलम्पियाड ‘जुनियर विधा’ भने सन् २०१९ देखि नासोले नेपालमा सञ्चालन गर्दै आइरहेको छ। यस विधामा कक्षा ८ देखि १० मा अध्ययनरत १६ वर्ष उमेर मुनिका विद्यार्थीहरू सहभागी हुन पाउनेछन् ।
नेपाली विद्यार्थीहरूले अन्तर्राष्ट्रिय खगोल तथा खगोल भौतिक ओलम्पियाड हालसम्म १८ वटा पदक प्राप्त गरेका छन् ।
प्रतिक्रिया 4