+
+

शनिबार एनआरएनए अस्ट्रेलियाको चुनाव, २५२ पदका लागि ४४५ जना उम्मेदवार

व्यक्तिको भन्दा सामाजिक दायित्वको प्रचार

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १५ गते १९:२७

१५ साउन, सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको २०२१- २०२३ को लागि नयाँ नेतृत्वका लागि शनिबार चुनाव हुँदैछ । विभिन्न तहका २५२ पदका लागि हुने चुनावमा ४४५ जना उम्मेदवार मैदानमा रहेको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्ष पदका लागि अघिल्लो कार्यसमितिका महासचिव डा ज्ञानेन्द्र रेग्मी र प्रवक्ता नन्दु गुरुङ प्रतिस्पर्धी छन् । एनआरएनएको विधान तथा जारी आचार संहितामा समूह बनाउन नहुने कुरा उल्लेख भएता पनि दुई समूह फरक पहिचान देखिने प्रचार सामग्रीसहित चुनावी मैदानमा छन् ।

निर्वाचन आयुक्तहरु मध्ये एकजना डा कृष्णकुमार श्रेष्ठले अनलाइनखबर अस्ट्रेलियालाई दिएको जानकारी अनुसार आचार संहिता उल्लङ्घनका कुनै गुनासा प्राप्त नभएको तर त्यस्तो देखिएमा निर्वाचन आयोगले त्यस्ता उम्मेदवारलाई सचेत गराउने बताए ।

पहिलो पटक पूर्ण रुपमा अनलाइनबाट हुने चुनाव शनिबार बिहान ७ बजे सुरु भै साँझ ७ बजे सम्पन्न हुनेछ र परिणाम राति १० बजे सार्वजनिक गर्ने तयारी भएको प्रमुख निर्वाचन आयुक्त सुरेन्द्र सिग्देलले बताए ।

एनआरएनए अस्ट्रेलियाको चुनावमा १५ हजार २९८ मतदाता छन् ।

प्रचारमा सचेतना

एनआरएनए अस्ट्रेलियाको चुनावी मैदानमा भएका उम्मेदवारहरु अधिकांशले आफ्नो समूहगत प्रचार सामग्री मात्र सार्वजनिक गरेर मतदाताहरुलाई आकर्षित गर्ने कोसिस गरेका छन् ।

दुई समूहले तयार गरेको फरक-फरक तर उस्तै ढर्राको प्रचार सामग्री सामाजिक संजालमा राख्दा मतदाताहरु आकर्षितभन्दा पनि अलमलमा परेका छन् ।

तर केही सीमित उम्मेदवारहरुले भने आफ्नो व्यक्तिगत प्रचारभन्दा पनि समुदायलाई अहिलेको अवस्थामा उपयोगी हुने सामग्रीहरु आफ्ना सामाजिक संजालमा राखेका छन् ।

गैरआवासीय नेपाली संघको अन्तर्रास्ट्रिय समितिको सदस्यका लागि उम्मेदवारी दिएका अस्ट्रेलियाका रजिस्टर्ड नर्स धर्मराज अधिकारीले सचित्र पोस्टर प्रकाशित गर्दै लेखेका छन्- कोभिड महामारीको भ्याक्सिन लिइसकेपछि पनि हामी सबै सतर्क रहौं त्यसका लागि १.५ मिटरको दुरी कायम राखौं, सधैं मास्क लगाऔं र साबुन पानीले हात धोऔं वा सेनिटाइजरले हात सफा राखौं ।

उनले त्यहाँ आफ्नो चुनाव प्रचार गरेका छैनन् । र, भन्छन – हाम्रो उमेदवारीभन्दा पहिले हाम्रो समाज सुरक्षित् हुन आवश्यक छ । ‘हामी सबै पहिले महामारीको संक्रमण रोक्न खट्नु पर्ने छ ,’ उनले भने ।

त्यस्तै सचेतनामुखी प्रचार सामग्री राख्ने अर्का उम्मेदवार हुन् – प्रतिज्ञा अधिकारी । उनी गैरआवासीय नेपाली संघ अस्ट्रेलियाको उपाध्यक्षकी उम्मेदवार हुन् । उनले पनि आफूलाई मत माग्नुभन्दा पनि समुदायलाई उपयोगी हुने प्रचार सामग्री सामाजिक संजालमा राखेकी छन् ।

उनले अहिले अस्ट्रेलियामा जनतालाई टेलिफोन गरेर ठगी गर्ने गिरोह सक्रिय रहेको उल्लेख गर्दै यहाँको कर कार्यालय, प्रहरी वा अध्यागमनले कसैलाई पनि टेलिफोन गरेर रकम माग्दैन भन्ने जानकारी दिंदै  त्यस्ता फोनहरु आएमा नआत्तिन र उनीहरुलाई आफ्नो परिचय र बैंक खाता सम्बन्धी सूचना नदिन सचेत गराएकी छिन् ।

उनले सामाजिक संजालमा न्यु साउथ वेल्स सरकारको टेलिफोन ठगीबारे सजग गराउने सरकारी सूचना राखेकी छिन् । आफ्नो व्यक्तिगत प्रचारभन्दा पनि सामुदायिक सूचना दिनुको कारणबारे प्रतिज्ञा भन्छिन् – हाम्रो चुनाव र हाम्रो संस्थाभन्दा पहिले हाम्रो समुदाय हो । समुदायका सर्बसाधारण सदस्यहरुको सुरक्षा हाम्रो पहिलो कर्तव्य हो ।

न्यु साउथ वेल्स राज्यको युवा संयोजकका उम्मेदवार कलम खड्काले पनि चुनावभन्दा पनि कोभिड महामारीबाट समुदायका सदस्यहरुलाई सुरक्षित राख्ने सन्देश उल्लेखित पोस्टर बनाएर सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?