
१ भदौ, काठमाडौं । भूगर्भ पिपिसी सिमेन्ट नेपाल गुणस्तर परीक्षणमा असफल भएको छ । नमूना परीक्षणमा सिमेन्टको भारवहन क्षमता नेपाल गुणस्तर मापदण्ड बमोजिम नपाइएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।
गुणस्तर ‘फेल’ भएपछि भूगर्भ सिमेन्ट उद्योग प्रालिबाट उत्पादित सबै प्रकारका पीपीसी सिमेन्टको बिक्रीमा रोक लगाइएको विभागका प्रवक्ता दिनानाथ मिश्रले जानकारी दिए ।
‘सिमेन्टको गुणस्तरहीन पाएपछि बिक्रीमा रोक लगाएर कम्पनीलाई १५ दिने स्पष्टीकरण सोधिएको छ, स्पष्टीकरणको जवाफपछि थप कारबाहीबारे निर्णय हुन्छ,’ प्रवक्ता मिश्रले भने ।
सिमेन्टको कम्प्रेसिभ क्षमता परीक्षण गर्दा तीन दिनको नतिजा १६ एमपीए आउनु पर्नेमा ९ मात्रै आएको थियो । यस्तै ७ दिनको भारवहन क्षमता २२ एमपीए आउनु पर्नेमा १५ मात्रै आएको विभागले जनाएको छ ।
विभागले तोकेको नेपाल गुणस्तर मापदण्डभन्दा सिमेन्टको गुणस्तर निकै कम भएको प्रवक्ता मिश्रले बताए । सिमेन्ट प्रयोग गरेका वुटवलको उपभोक्ताबाट आएको गुनासापछि गरिएको गुणस्तर परीक्षणमा उक्त तथ्य पत्ता लागेको उनले बताए ।
गुणस्तर फेल भएको सिमेन्ट बिक्रीबारेे कम्पनीले चित्त बुझ्दो जवाफ नदिए थप कारबाही अघि बढाउने विभागले जनाएको छ । कपिलवस्तुको शिवराज ६ मा रहेको सिमेन्ट उद्योगले भूगर्भ ओपीसीसहित अपोलो, क्र्याष्टल र देउराली ब्राण्डको पीपीसी सिमेन्ट उत्पादन गर्छ ।
विभागको कारवाहीपछि अपोलो, क्र्याष्टल र देउराली ब्राण्डको पिपिसी सिमेन्टको बिक्रीमा रोक लगाइएको छ ।
प्रतिक्रिया 4