
मान्छेकै लगातार हत्या गर्ने सिरियल किलरहरुका बारेमा त तपाईंले धेरै सुन्नुभएको छ होला । तर के तपाईंले यस्तो हत्याराको बारेमा सुन्नुभएको छ जसले मान्छे होइन कुकुर, बिरालो, खरायोलगायतका घरपालुवा जनावरको हत्या गर्दथ्यो ?
सुन्दैमा अनौठो लाग्ने यस्तो घटना केही वर्षअघि बेलायतमा भएको थियो । बेलायतका विभिन्न ठाउँमा घरपालुवा जनावरको हत्या गरिएका सनसनीपूर्ण खबर बाहिर आए । त्यसले देशव्यापी रुपमा तरंग मात्र ल्याएन घरमा साथी जनावर अर्थात् पेट्स पालेका घरधनीहरु त्रसित भए ।
वास्तवमा एकजना सिरियल किलरमा यस्ता घरपालुवा जनावरहरुको हत्या गर्ने भूत चढेको थियो । उसले खरायोको बच्चादेखि उल्लूको बच्चासम्मको हत्या गर्यो तर ऊबाट मारिएका जनावरमध्ये सबैभन्दा धेरै बिरालो थिए ।
उसले बेलायतका विभिन्न ठाउँमा गरी ४०० भन्दा धेरै बिरालो र अन्य कैयन् घरपालुवा जीवहरुको हत्या गरेर लासलाई समेत क्षतविक्षत बनाइदिएको थियो ।
सन् २०१४ मा दक्षिण लण्डनको क्रायडन सहरबाट उसको हत्याको श्रृंखला सुरु भएको थियो । त्यसले सञ्चार माध्यमहरुले उक्त व्यक्तिलाई ‘क्रायडन क्याट सिरियल किलर’को उपमा दिएका थिए । साथै उसलाई एम २५ क्याट किलरको नामबाट पनि मानिसहरु चिन्दछन् । सुरुमा क्रायडनबाट सुरु भएको घरपालुवा जनावरको हत्याको श्रृंखला लण्डनका विभिन्न ठाउँमा फैलियो र अन्ततः उसले बेलायतभर नै यस्तो आतंक मच्चायो ।
सो व्यक्तिले घरपालुवा जनावरलाई खानेकुरामा लोभ्याएर आफूसँग बोलाउने र धारिलो हतियारले प्रहार गरेर हत्या गर्ने गर्दथ्यो । त्यसपछि सबूत मेटाउनका लागि उसले जनावरको शवलाई क्षतविक्षत पार्दथ्यो ।
उक्त अनौठो सिरियल किलरलाई पक्रिनका लागि सन् २०१५ को डिसेम्बरमा पुलिसले एक टिम गठन गरेर विशेष अपरेशन सञ्चालन गर्यो, जसको नाम ताकाहे राखियो ।
हत्यारा पत्ता लगाउनका लागि हत्या गरिएका बिरालोहरुको पोष्टमार्टम पनि गरियो । सिरियल किलर पत्ता लगाउने उक्त अभियान निकै महँगो थियो किनकि केवल १० वटा बिरालोको पोष्टमार्टम गर्नमै ७ हजार ५०० पाउण्ड खर्च भएको थियो ।
सन् २०१७ को अगष्ट देखि नोभेम्बरसम्म नर्थह्याम्पटनको आसपासमा पाँच वटा बिरालोको मृत्यु भएको घटनामा पनि सोही सिरियल किलरको हात रहेको पुलिसले अनुमान गर्यो । तर पछि अनुसन्धानबाट ती बिरालोको मृत्यु एक अर्कासँग सम्बन्धित नभएको ठहर गरियो । प्रहरीले उक्त घटनासँग सम्बन्धित रहेको भन्दै ३१ वर्षका एक व्यक्तिलाई पक्राउ गर्यो । तथापि सबूत प्रमाण नभएका कारण उसलाई पछि छाडियो ।
सिरियल किलर पत्ता लगाउन नसकेपछि सन् २०१८ मा लण्डनको महानगरीय प्रहरीले उक्त छानबिनको फाइल नै बन्द गर्यो ।
बिरालोलगायतका पाल्तु जनावरको मृत्यु कुनै सिरियल किलरबाट नभई सडक दुर्घटना वा कुनै जंगली जनावरको आक्रमणबाट भएको दाबी पुलिसले गर्यो । तर मानिसहरु पुलिसको यस्तो अनुमान मान्न तयार थिएनन् । घरपालुवा जनावरको हत्याका पछाडि कुनै सिरियल किलरको हात रहेको मानिसहरुको ठम्याइ थियो ।
तथापि पुलिसले नै अनुसन्धानको फाइल बन्द गरेपछि रहस्यमय सिरियल किलरको पत्ता लाग्न सकेन । बेलायतमा बिरालो लगायतका घरपालुवा जनावरको श्रृंखलाबद्ध हत्या कसले गरेको हो भन्ने कुरा रहस्यकै गर्भमा रह्यो ।
एजेन्सी
प्रतिक्रिया 4