+
+

रिलेबलिङ : कराेडौंको बदमासीमा लाख तिरेर उन्मुक्ति

नवीन ढुंगाना नवीन ढुंगाना
२०७८ साउन २२ गते २०:१०
बि.स. २०७६ असोज २० गते काठमाडौंको सतुंगलमा रहेको सुयास इन्टर नेश्नल कम्पनीकाे गाेदाममा फेला परेकाे रिलेबलिङ गरेर बजार पठाउने तयारीमा राखिएकाे खाद्य वस्तु

२२ साउन, काठमाडौं । उपभोग्य अवधि नाघेको वस्तुमा नयाँ मिति राखेर बजार पठाउने धन्दा काठमाडौं उपत्यकामा शृंखलाबद्ध रुपमा हुन थालेको छ । जसमा दैनिक प्रयोगका खाद्यवस्तुदेखि सौन्दर्य सामग्री र बालबालिका तथा ज्येष्ठ नागरिकको आहारसम्म पर्दछन् ।

पछिल्लो दुई वर्षमा उपत्यकामा म्याद सकिएका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाएको पाँच ठूला घटनामा मालिकसहित १५ जना पक्राउ परेकामा दुई भरिया कामदारलाई मात्र कानुनी दायरामा ल्याइयो । वाणिज्य विभागले कमजोर कानुनलाई आधार बनाएर अरुलाई रिहा गरिदियो ।

उपभोक्ताको स्वास्थ्यमा सिधा असर गर्ने खाद्य वस्तु तथा सौन्दर्य सामग्रीमा भएको गम्भिर बदमासीमा पनि विभागले मालिकलाई उन्मुक्ति दिएर कामदार फसाउने भूमिका खेलेको देखिन्छ । करोडौं मूल्यको नयाँ मिति राख्ने धन्दामा संलग्नलाई विभागले केही लाख जरिवानामै उन्मुक्ति दियो ।

१३ ट्रक वस्तुमा नयाँ म्याद टाँस्नेलाई तीन लाख जरीवाना

२० असोज २०७६ मा काठमाडौंको सतुंगलमा रहेको सुयास इन्टर नेश्नल कम्पनीमा वाणिज्य विभागले छापा मार्‍यो । विदेशबाट आयात गरिएका तर उपभोग्य मिति सकिएका हजारौं किलो कन्फेक्सनरी खाद्य वस्तुमा नयाँ मिति राख्दै बजार पठाउने गरेको विभागले पायो ।

चकलेट, बिस्कुट तथा कफी, पिल्सबेरी–प्यास्टी केक, अस्टोर–मिनी स्टीक, जुजी मिल्क, मन्च अन (नेमकिन), अनमोल म्यारी प्लस् (चिया), चोकोरिच, लुभिट, कोपिको (चकलेट), कफी गो, चोको–पोलिल, चोकी–चोकी, स्ट्याबल ब्लिचिङ पाउर, ब्याङ ब्याङ, टाइगर क्लियर चकलेट जस्ता दर्जनौं ब्राण्डका वस्तुहरुमा नयाँ म्याद राखेर बजार पठाइएको पाइएको थियो ।

सतुंगलमा रहेको सुयास इन्टर नेश्नल कम्पनीकाे गाेदाममा फेला परेकाे रिलेबलिङ गरेर बजार पठाउने तयारीमा राखिएकाे खाद्य वस्तु

पक्राउ परेका उद्योगी बिनित अग्रवालले उक्त सामान भारत, इन्डोनेसिया लगायत मुलुकबाट आयात गरेर म्याद सकिएपछि नयाँ उपभोग्य मिति राखेर बजार पठाइएको फेला परेको थियो । विभागका तत्कालिन सूचना अधिकारी दीपकराज पोख्रेलका अनुसार दुई वर्ष अघि नै म्याद सकिएको सयौं कार्टुन चकलेट, कफी र विस्कुटहरुमा नयाँ लेबल टाँसेको भेटिएको थियो ।

२०१७ अगस्टमा उत्पादन भएर २०१८ अगस्टमा खाने म्याद सकिएका ती बस्तुमा उत्पादन मिति १५ फेब्रुअरी २०१९ र उपभोग्य मिति १५ अगस्ट २०२० सम्म भएको नयाँ लेबल टाँसिएको पोखरेल बताउँछन् । तर विभागका तत्कालीन महानिर्देशक नेत्र सुवेदीले बिनित अग्रवाललाई तीन लाख रुपैयाँ जरिवाना र विभागकै निरीक्षणमा ती वस्तुहरु नष्ट गर्ने फैसला सुनाएका थिए ।

मालिकलाई सफाई, कामदारलाई दण्ड

सतुंगल घटनाको ११ महिनापछि २०७७ असोज १५ मा वाणिज्य विभाग र प्रहरीको अपराध अनुसन्धान महाशाखाले कंलकी र बाफलमा एक उद्योग र दुई वटा गोदाममा छापा मारेपछि व्यवसायीक घरना विशाल ग्रुपसँग कारोबार गर्ने आयन इन्टरनेश्नल नामक वितरकले म्याद सकिएका सयौं प्रकारका सामान नयाँ लेबल राखेर बजार पठाउने गरेको थाह भयो ।

छापा मार्दा खाने म्याद नाघेका स्नेकर्स चकलेट, प्रिङगल्स चिप्स, ट्याङ जुस लगायतमा नयाँ म्याद टाँस्दै गरेको पनि भेटिएको थियो । वाणिज्य विभागका तत्कालीन निर्देशक रबिन्द्र आचार्यले म्याद नाघ्ने बितिक्कै सस्तोमा उठाएर पुनः नयाँ लेबल राखेर बजार पठाउने गरेको पाइएको त्यसबेला बताएका थिए ।

भारत राजस्थानका रोशन बात्रा वितरक कम्पनीको प्रमुख थिए । उक्त धन्दामा संलग्नत रहेको आरोपमा थप ८ जना पक्राउ परेका थिए । उनीहरुविरुद्ध विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीको इजलाशमा पेश भएको मुद्दामा आयन डिष्टिब्यूटर्सका म्यानेजर रोनक बोथरा र कामदार शंकर बयलकोटीलाई एक–एक वर्ष कैद र जनही तीन लाख रुपैयाँ जरिवानाको फैसला भयो । आयानकी मुख्य सञ्चालक पुष्पादेवी अग्रवाललाई भने विभागले तीन लाख १२ हजार रुपैयाँ जरिवाना मात्र गर्‍यो ।

‘प्रतिवादी पुष्पादेवी अग्रवाल, उद्योगका कामदार मुन्ना ठाकुर, पुष्प कुमार ठाकुर, श्यामप्रसाद सिंह, रामबहादुर बयलकोटी र विक्रमप्रसाद गुप्तालाई जनही ३ लाख १२ हजार रुपैयाँ जरिवानाको फैसला भएको छ,’ विभागको फैसलामा भनियो ।

आयन इन्टरनेश्नल नामक वितरक कम्पनीले कंलकी खसीबजार र बाफलमा नयाँ मिति राखेर बजार पठाउन ठिक्क पारेकाे ट्याङ जुस ।

विभागले ‘डेट एक्सपायर्ड’ खाद्य वस्तु बजारमा लैजान खटिएका केही कारदारलाई मुख्य आरोपी बनाएर कैद र जरिवाना दुवै गर्यो भने कम्पनी सञ्चालकलाई जरिवाना मात्र गरेर उम्कायो ।

१४०० प्रकारका कच्चा पदार्थमा नयाँ मिति, केस डिसमिस

आयन इन्टरनेश्नलको घटनाको तीन दिनपछि कलंकी चोक नजिकै अर्को घरमा वाणिज्य र प्रहरीले अर्को छापा मार्यो । सिंगो घर भाडामा लिएर चलाएको भारतीय नागरिक अनिलकुमार बंकाको एएसटी प्रालिले बेकरीका १४ सय किसिमका कच्चा पदार्थमा नयाँ मिति राखेको फेला पर्यो ।

छापा मार्दा नेतृत्व गरेका कालीमाटी प्रहरी वृत्तका तत्कालीन प्रमुख डिएसपी अपिलराज बोहोराका अनुसार उपभोग्य मिति सकिएको सयौं किलो त्यस्ता खाद्य वस्तुमा त्यहाँ रि–प्याकेजिङ समेत हुने गरेको पाइएको थियो ।

कंलकीकाे मालपाेत नजिक भारतीय नागरिक अनिलकुमार बंकाको एएसटी प्रालिले बेकरीका १४ सय किसिमका कच्चा पदार्थमा नयाँ मिति राख्न प्रयाेग गरेकाे गाेदाम ।

त्यहाँ बिभिन्न किसिमका बेकरीमा प्रयोग हुने तेल, चेरी, चकलेट, पिठो आदिको ठूलो परिमाण फेला परेको थियो । १४१ प्रकारका वस्तुको पहिचान भएको उक्त छापामा चार जना पक्राउ परेका थिए । तर, त्यो मुद्दा कसरी टुङ्ग्याइएको थियो भन्ने विवरण वाणिज्य विभागसँग छैन ।

जरिवानामै घटना सामसुम बनाइएको संकेत गर्दै बिभाग स्रोत भन्छ, ‘केश डिसमिस भएजस्तो भयो ।’

५१ प्रकारका कस्मेटिकमा बदमासी, ४० लाख धरौटीमा रिहा

२०७७ चैत २४ गते विणिज्य विभाग र महानगरीय प्रहरीको अपराध महाशाखाको संयुक्त टोलीले कलंकीमा अर्को छापा मार्यो । त्यो स्थान यही थियो जहाँ असोज १८ गते छापा मारेर वाणिज्य र प्रहरीले नयाँ म्याद राखेको ठूलो परिमाणको बेकरीका बिभिन्न बस्तु फेला पारेका थिए ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता शिवप्रसाद सेढाईंका अनुसार पछिल्लो छापामा अप्रमाणित रसायन प्रयोग गरेर कस्मेटिक उत्पादन गरेर ५१ प्रकारका ब्राण्डेड कस्मेटिक वस्तुको खोलमा राखेको पाइएको थियो । नक्कली कस्मेटिक उत्पादन गर्ने त्यो धन्दा संचालक चेतनाथ गोयल पक्राउ परेका थिए । उनलाई वाणिज्य बिभागले ४० लाख धरौटीमा गत वैशाख ९ गते छाड्यो ।

अप्रमाणित रसायन प्रयोग गरेर ५१ प्रकारका ब्राण्डेड कस्मेटिकमा राख्ने कंलकीकाे गाेदाम ।

नयाँ मिति राख्नेमा भाटभटेनी र बिग मार्ट पनि

गत आइतबार वाणिज्य र उपत्यका अपराध अनुसन्धान शाखाको टोलीले काठमाडौंको सानो भर्याङमा रहेको एक गोदाममा छापा मारेर नयाँ म्याद टाँसिएका करीब २ करोड रुपैंयाको भ्यासलिन, रुम स्प्रे र विभिन्न किसिमका क्रिम बरामद गर्‍यो । कारबाहीमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालय नयाँ बानेश्वरका एक प्रहरी अधिकृतका अनुसार म्याद सकिएका ती चिजबस्तुमा भाटभटेनी र बिगमार्टका स्टिकर थिए ।

बि.स. २०७८ साउन १७ गते भाटभटेनी र बिगमार्टका स्टिकरसहित काठमाडौंको सानोभर्याङमा फेला परेकाे कस्मेटीक सामानमा नयाँ मिति राख्ने गाेदाम ।

उक्त सामान बरामदसँगै वीरगन्‍ज–१३ का अविनाश अग्रवाल र भारत, राजस्थानको सिकर जिल्लाका महावीर जगुर पक्राउ परेको ती अधिकृतले बताए । प्रहरीले गोदामलाई सिल गरेको छ । आरोपितहरु वाणिज्य बिभागको नियन्त्रणमा छन् ।

पछिल्लो दुई वर्षमा भएका रिलेबलिङका पाँच घटनामध्ये चारवटा कलंकी आसपास र एउटा त्यहाँबाट थोरैै पर भएको हो । दुईवटा घटना त छ महिनाको फरकमा एउटै घरमा भएको हो ।

म्याद सकिएकाे वस्तुमा नयाँ म्याद राख्ने आयन इन्टरनेश्नल नामक वितरक कम्पनीकाे मेशिन र स्नीकर चकलेटमा नयाँ म्याद राख्दै कर्मचारी ।

म्याद सकिएको वस्तुमा नयाँ मिति टाँस्ने कारखानाहरु भेटिरहनुले बजारमा कुन चाहिं वस्तुमा सही मिति होला भन्नुपर्ने अवस्था आएको उपभोक्ता अधिकारकर्मी ज्योती बानियाँ बताउँछन् । सार्वजनिक अपराधका यस्ता गम्भिर घटना पटक–पटक दोहोरिनुले राज्यको भूमिकामा पनि प्रश्न उठेको उनको भनाइ छ ।

अर्का उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना पछिल्ला घटनाहरुले उपभोक्ताको स्वास्थ्यमा ठूलो खतरा देखाएको बताउँछन् । ‘बच्चादेखि वृद्धवृद्वासम्मले खानेकुरा हुन् वा सौन्दर्य सामाग्री, त्यस्ता बस्तु बजार पठाउनेहरुले उपभोक्तालाई विष दिएर पैसा लुटिरहेका छन्’, उनी भन्छन् ।

गैर–जिम्मेवारको नमूना नियामक

बजारका हरेकजसो वस्तुमा ‘रिलेबलिङ’को धन्दा चलिरहँदा त्यसको निरुपणमा कानुनी डण्डा चलाउने निकाय वाणिज्य बिभाग भने गैरजिम्मेवारको नमूना बनेको छ । दुई वर्षको अवधिमा दुई सहसचिव नेत्र सुवेदी र प्रकाश पौडेल विभाग हाँक्न आए, दुवैको कार्यकालमा रिलेबलिङको अपराधमा आरोपितहरुले सजायमा छुट नै पाए ।

महानिर्देशकद्वय सुवेदी र पौडेलको कार्यकालमा भएका रिलेबलिङका घटनामा कुन वस्तु, कति परिमाण र मूल्यका थिए भन्ने विवरण समेत विभागले राखेको पाइएन ।

सुवेदीले विशाल ग्रुपसँग कारोबार गर्ने आयन इन्टरनेश्नलले म्याद सकिएका सयौं प्रकारका सामानमा नयाँ म्याद राखेर बजार पठाएको प्रमाणित हुँदा कम्पनी सञ्चालकलाई उन्मुक्ति दिएर कामदार र भरियालाई जेल पठाए । अन्य घटनाका दोषीलाई पनि अधिकतम् तीन लाख रुपैयाँ जरिवानामा छोडिदिए ।

वाणिज्य विभाग परिसरमा पूर्वमहानिर्देशक नेत्र सुवेदीकाे बिदाइ र नयाँ महानिर्देशक प्रकाश पाैडेलकाे स्वागत गर्दै विभागका कर्मचारी ।

सुवेदी पछिका महानिर्देशक पौडेलको कार्यकालमा पनि बिभाग जागरुक भएन । अधिकारकर्मी तिमिल्सिनाको शब्दमा, पौडेलले पनि पहिलाकै प्रवृत्ती कायम राखे । ‘विभागले गर्ने अनुसन्धान र सजाय फितलो हुँदा रि–लेबलिङ जस्तो अपराध दोहोरिरहेको छ’, तिमिल्सिना भन्छन् ।

२०७७ फागुनमा विभागको नेतृत्व लिएका पौडेल त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । उनी सार्वजनिक सम्पर्कमा रहन रुचाउँदैनन् । ‘उपभोक्ताको गुनासो सुन्न हरपल तत्पर रहनुपर्ने अधिकारीको कार्यालय र व्यक्तिगत फोन अधिकांश समय बन्द रहन्छ’, विभागकै एक अधिकृत भन्छन्, ‘यो कारण पनि विभागको कार्यसम्पादन अहिले कमजोर भएको छ ।’

विवादबाट जोगिने नाममा विभागको कामकारबाही सार्वजनिक नगर्ने महानिर्देशक पौडेलको नीति रहेको बताउँदै ती अधिकृत भन्छन्, ‘यसले गर्दा अहिले विभाग निर्णय लिनै नसक्ने अवस्थामा पुगेको छ ।

लेखकको बारेमा
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?