Comments Add Comment

नेपालमै कोरोना खोप उत्पादन कति सहज ?

२५ साउन, काठमाडौं । आइतबार सत्तारुढ गठबन्धनले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रममा नेपालमै खोप उत्पादन गर्न प्रयोगशाला स्थापना गर्ने विषय पनि राखिएको छ ।

तर जानकारहरु भने यो विषय सरकारले सस्तो लोकप्रियताका लागि राखेको टिप्पणी गर्छन् । हाल नेपालमा मानवीय प्रयोगका लागि खोप उत्पादन नै नभएको अवस्थामा कोरोना भाइरसविरुद्धको खोप उत्पादन गर्ने विषय सामान्य नभएको उनीहरुको भनाइ छ ।

गत साउन १८ गते स्वाथ्य राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमै खोप उत्पादनको सम्भावनाबारे अध्ययन अघि बढेको बताएका थिए । सरकारी अधिकारी र औषधि उत्पादकहरु नेपालमा खोप विकासको सम्भावना नकार्दैनन् तर यो काम त्यति सजिलो नरहेको बताउँछन् ।

उत्पादकहरुका अनुसार हालसम्म नेपालमा खोप विकासको प्रविधि र उत्पादनका लागि दक्ष जनशक्ति छैन । औषधि उत्पादक संघका अध्यक्ष नारायणबहादुर क्षेत्री सरकारको इच्छाशक्ति भए खोप उत्पादन गर्न सकिने बताउँछन् ।

औषधि व्यवस्था विभागका अनुसार हाल नेपालमा पशुलाई लगाउने केही खोप उत्पादन हुने गरेको छ । विभागका सूचना अधिकारी सन्तोष केसी खोप उत्पादन प्रक्रिया अगाडि बढाउन उद्योग मन्त्रालयको सचिवको संयोजकत्वमा समिति नै बनेको बताउँछन् ।

खोप विकास अघि गहन अध्ययन र अनुसन्धान आवश्यक पर्ने र त्यसका लागि सरकारी सहयोग जरुरी हुने क्षेत्री बताउँछन् । उनका अनुसार खोप उत्पादनका लागि अर्बौं रुपैयाँ लगानी चाहिन्छ, जसमा निजी क्षेत्रले लगानी गरेमा प्रतिफलको ग्यारेन्टी खोज्छ ।

‘हामीले ठूलो धनराशी खर्चेर कम्पनी स्थापना गरेपछि उत्पादन गरेका खोपहरु खरिद गर्ने सुनिश्चितता हुनुपर्ने र अन्य मुलुकसम्म बजार विस्तार गर्न सरकारले सघाउनुपर्छ,’ उनले भने ।

खोप उत्पादन गरिरहेका मुलुकसँगको समन्वयबाट प्रविधि, जनशक्ति, खोपका लागि आवश्यक पर्ने कच्चा पदार्थ लगायत सामग्री ल्याएर खोप उत्पादन गर्न सकिने क्षेत्री बताउँछन् । खोप उत्पादनका लागि हालको औषधि ऐनलाई पनि परिमार्जन गर्नुपर्ने उनको भनाइ छ ।

पशुको खोप उत्पादन गरेको अनुभव

औषधि व्यवस्था विभागका अनुसार हाल नेपालमा पशुलाई लगाउने केही खोप उत्पादन हुने गरेको छ । विभागका सूचना अधिकारी सन्तोष केसी खोप उत्पादन प्रक्रिया अगाडि बढाउन उद्योग मन्त्रालयको सचिवको संयोजकत्वमा समिति नै बनेको बताउँछन् ।

‘यो कमिटीले नीति निर्माणदेखि लिएर कसरी प्रविधिहरु भित्र्याउन सकिन्छ भनेर अध्ययन एवं अनुसन्धान गरिरहेको छ,’ केसीले भने । खोप उत्पादनको मोडालिटीबारे हालसम्म छलफल नभएको उनको भनाइ छ ।

खोप उत्पादनका लागि मुख्य कुरा लगानी र प्रविधि भएको केसी बताउँछन् । खोप उत्पादनका लागि बायोटेक्नोलोजी, भ्याक्सिनमा काम गरेका जनशक्ति, फर्मासिस्ट, माइक्रोबायोलोजिस्ट लगायतका जनशक्ति आवश्यक पर्ने उनले बताए ।

‘कुन कम्पनीले उत्पादन गरिरहेको खोपको विकास गर्ने हो । त्यसका लागि सम्बन्धित मुलुकका कम्पनीसँग समन्वय गरेर टेक्नोलोजी भित्र्याउनुपर्छ,’ केसीले भने ।

देउरालीले माग्यो अनुमति

औषधि व्यवस्था विभागमा खोप उत्पादनको अनुमतिका लागि देउराली जनता फर्मास्यूटिकल प्रालिको निवेदन परेको विभागका सूचना अधिकारी केसीले बताए ।

‘देउरालीले चीनबाट टेक्नोलोजी भित्र्याएर खोपको विकास गर्ने योजना आवेदनमा छ । भ्याक्सिन उत्पादन गर्ने र केही समय नेपालमै ट्रायल गरी भ्याक्सिन उत्पादन गर्ने लक्ष्य उसको छ । उक्त निवेदनमाथि अध्ययन एवं अनुसन्धान भइरहेको छ,’ केसीले भने ।

देउराली जनता फर्मास्यूटिकल्सका सञ्चालक हरिभक्त शर्मा भने खोप उत्पादनको सरकारी योजना आफूले अध्ययन गर्न नपाएको बताए । ‘यसबारेमा अहिले नै बोल्नु अलि हतार हुन्छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment