
सबै देउताहरुले बैठक गरेछन्,
तरकारी नमीठो कुन हो सोधेछन् ।
तब चार मुखे ब्रह्मा जुरुक्क उठेछन्,
चिचिण्डो, चिचिण्डो, चिचिण्डो भनेछन् ।।
यो सिलोक हो, जसको शायदै कतै लिखत पाइएला तर हाम्रो परिवारको कुनै लहरोमा प्राय: सबैलाई मुखाग्र छ । कारण हो, यो सिलोक मेरी आमाका साइला मामाले बनाएका हुन् ।
भएछ के भने, मेरी आमाका मामा अर्थात् मेरा हजुरबुबालाई चिचिण्डो साह्रै मन नपर्ने रहेछ । यो कुरा परिवारमा सबैलाई थाहा त थियो तर तरकारी पकाउने कुरामा अहिले जस्तो धेरै विकल्प हुन्थेनन् । बारीमा साह्रै धेरै किसिमका तरकारी लगाइँदैनथे र फल्दैनथे । बजारबाट तरकारी किन्ने भन्ने चलन चाडपर्वका बेलामा मात्रै हुन्थ्यो । यसैले बारीमा भएको चिचिण्डोलाई तरकारी बनाउनु बाध्यता पनि हुन्थ्यो ।
यसैले, कुनै दुई छाक लगातार चिचिण्डोको तरकारी पकाइएछ ।
उति बेलाका बाहुनहरु खाएको कुरालाई मीठो छैन भन्नुहुँदैन भन्ने कुरामा विश्वास गर्थे । खाएको कुरा मीठो छैन भन्नु पाप हुन्छ भन्ने सोच्थे । यसैले मेरा हजुरबुबाले पनि चिचिण्डोको तरकारीलाई नमीठो भो भनेर ‘पापको भारी बोक्न’ चाहनुभएनछ र भान्साबाट निस्किंदै गर्दा माथिको सिलोक भन्नुभएछ ।
यो उदाहरण मात्रै हो । हजुरबुबाका यस्ता सिलोकहरु असाध्यै धेरै हुन्थे रे ! कुनै प्रसंगका लागि लय मिलेका सिलोकहरु उहाँ उत्ति नै बेला भन्न सक्नुहुन्थ्यो रे ! यसैले उहाँलाई सिलोके बराल भनेर नि चिनिने रहेछ ।
उनै सिलोके हजुरबुबाले कुनै बेला राजा वीरेन्द्र मोफसल भ्रमणमा रहँदा तय भएको मनोरञ्जनात्मक कार्यक्रममा सिलोक भन्ने मौका पाउनुभएछ । राति धेरैबेर सिलोकहरु सुनाउनुभएछ । राजा खुशी भएर अहिलेको दमक चोक भन्दा दक्षिणतर्फ १४ बिघा जमीन बक्सिस् दिएछन् ।
बक्सिस् कसरी पनि दिइन्थ्यो भन्ने यो सानो उदाहरण हो ।
सिलोके हजुरबुबाका सिलोकहरु वास्तवमै राम्रा थिए कि थिएनन् भन्ने तपाईंले कसै गरेर पनि जान्न सक्नुहुन्न । कतिवटा सिलोक राम्रा भएर १४ बिघा जमीन पाउनुभयो तर कति वटा मात्रै सिलोक राम्रा भएका भए कति बिघा मात्रै जमीन पाउनुहुन्थ्यो वा अझै केही राम्रा सिलोक भन्न सक्नुभएको भए अझै कति बिघा जमीन थप पाउनुहुन्थ्यो भन्ने पनि हिसाब निस्किंदैन ।
कुन सिलोकलाई राम्रो भनिदिने र कति बक्सिस् दिने भन्ने केवल एक मान्छेको तजबिज, मनस्थिति र बोलीमा फरक पर्थ्यो । राजालाई मन पर्यो, बक्सिसका लागि योग्य भयो । राजाको मुखमा फ्याट्ट १४ अंक आयो, १४ बिघा जमीन दिइयो । त्यो साँझ राजाको ‘मूड’ खराब हुन्थ्यो भने मेरा हजुरबुबा उही सिलोक भनेर पनि खाली हात पर्खिनुपर्ने हुन सक्थ्यो । राजाको मुखमा चौध अंकको साटो ३४ आएको भए मेरा हजुरबुबा ३४ बिघाको मालिक बन्नुहुन्थ्यो होला ।
यो कुरा यस्तै आकस्मिक र व्यक्तिले निर्धारण गर्ने हुन्थ्यो ।
बक्सिसलाई सामन्तवादको प्रतीकका रूपमा प्रयोग गरिन्थ्यो तर अहिले लोकतान्त्रिक गणतन्त्रमा पनि अवस्था उही छ । बक्सिसलाई नाम फेरेर विभूषण, पदक, सम्मान भनिन थालियो । एक मान्छेबाट खोसेर केही मान्छेहरुको निर्णयबाट गरिन थालियो । तर, तरिका उही बक्सिस दिए झैं हुबहु छ । बरु अझ खुम्चिएर कुनै थर वा गोत्र विशेषको कुलपूजाको प्रसाद जस्तो भएको छ ।
विभूषण हो कि कुलपूजाको प्रसाद ?
कुनै विशेष अपवाद बाहेकको स्थितिमा तपाईंलाई कुनै पनि कुलपूजाबाट किन निम्तो आउँछ ? किनभने तपाईं त्यो थर वा गोत्र भित्रकै हुनुहुन्छ ।
खीर पाकिसकेपछि वा आफ्ना कुलका धामीले बोका, पाठीको रगत चुसिसके पछि वा पण्डितले कर्मकाण्ड सकिसकेपछि अनि हाम्रा पुर्खाले कसरी विगतमा पशुपालन गरे वा कृषिकर्म गरे भन्ने झाँकी देखाइसकेपछि कुलपूजाको अन्तिममा प्रसाद आउँछ, त्यो प्रसाद पाउन तपाईं त्यही थर वा गोत्रको हुनुपर्छ । अनि रमाइलो कुरा के हुन्छ भने कसैको कुलपूजामा अर्को थर वा गोत्रकोले प्रसादको आश पनि गर्दैन ।
विभूषण दुरुस्तै कुलपूजाको प्रसाद जस्तै भयो । सत्तामा कसैका आफ्ना ‘धामी वा पण्डित’ छन् कि छैनन् ? तिनका नजरमा ती ‘उनैका कुल’का पर्छन् कि पर्दैनन् भन्ने कुराले कोही विभूषणरुपी कुलपूजाको प्रसाद योग्य छ कि छैन भन्ने मापन हुन्छ । र, ‘उनैका कुल’मा पर्नका लागि योग्यता निर्धारण गर्ने तत्वहरु हुनेछन्, चाप्लुसी, निकटता र उनीहरुप्रतिको वफादारिता ।
कुनै पनि विभूषण कति व्यक्तिलाई दिइन्छ ? कुनै पनि विभूषण कस्ता योग्यता भएका व्यक्तिलाई दिइन्छ ? कुनै पनि विभूषण पाउनका लागि उ कसरी योग्य हुन्छ ? कसको योगदान के थियो र विभूषण दिइयो ? यी माथिका कुनै पनि प्रश्नको जवाफ पाउन सकिंदैन । मात्र यति हो, आफ्नो मान्छे जो सिफारिशमा पर्यो र विभूषण पायो ।
यसैले मैले वा उसले किन विभूषण पाइएन भन्ने प्रश्न नै नाजायज मानिन्छ । बरु कुनै दिन विभूषणको भण्डारमा मेरो ‘कुलको धामी वा पण्डित’ कहिले पुग्छ भनेर कहिले आफ्नो कुलपूजा आउला भनेर बच्चोले पर्खिए झैं पर्खिनुलाई बुद्धिमत्ता मानिन्छ ।
यो कुनै अमूक वर्ष वा अमूक व्यक्ति वा दल सत्तामा रहँदाबस्दा मात्रै भएको होइन । सूचीमा नाम हरेक वर्ष फेरिन्छन् तर अवस्था उही छ । हरेक वर्ष भइरहने विभूषण, पदक वितरणलाई एक एक वाक्यमा लेख्ने हो भने यस्तो बन्छ :
वर्ष १ : विभूषण पाउनेहरुको विशेष योग्यता – सत्तानिकट, अपवाद केही ।
वर्ष २ : विभूषण पाउनेहरुको विशेष योग्यता – सत्तानिकट, अपवाद केही ।
वर्ष ३ : विभूषण पाउनेहरुको विशेष योग्यता – सत्तानिकट, अपवाद केही ।
अघिल्ला धेरै वर्षहरुको अवस्था पनि यही हो ।
विभूषण, पदक पाउने लामो सूचीमा केही वास्तवमै लायक मानिसहरु पनि पर्छन् । जसलाई दिइने विभूषण र पदकहरुले ति व्यक्तिको मात्र होइन, विभूषण र पदकहरुको समेत सम्मान बढ्छ । समाजले विभूषण र पदक वितरणको त्यो सामाजिक अनुष्ठान हेरेर आफ्नो आदर्श स्थापित गर्छ । भोलि म पनि त्यो ठाउँमा हुन पाएँ भन्ने सोचेर मात्रै पनि समाज रोमाञ्चित बन्छ ।
बिडम्वना ! विभूषणरुपी कुलपूजाको प्रसाद बाँडिने सूचीमा आफूलाई सूचीकृत देखेर ती लायक मान्छेहरु आफू द्विविधाग्रस्त बन्छन् र सोच्छन्, ‘यो पदकले मेरो सम्मान हुँदैछ कि अपमान ? मलाई विभूषण दिइयो कि विदूषक बनाइयो ?’
राष्ट्रिय पदक होस् तर यस्तो होइन
यी सबै विकृतिहरु मात्रै लेखिरहँदा राज्यले कसैलाई विभूषित गर्ने वा पदक दिने गर्नै हुँदैन भन्ने निष्कर्ष होइन । विशेष दिनमा विशेष नागरिकहरुलाई विशेष सम्मान दिनु राज्यको व्यवहार पनि हो तर त्यो दिन सबैका लागि उत्सव बन्न सकोस् भन्नेमा राज्य सचेत हुनुपर्छ । अझ सो उत्सवलाई कसैले उत्सवका रूपमा मनाउन नसक्ने अवस्था पनि सृजित हुन्छ कि भनेर राज्य त्यसमा पनि चनाखो बन्नुपर्छ ।
गणतन्त्र स्थापना भएपछि राज्यले दिएका विभूषण र पदकहरु नलिनेहरुको सूची हरेक वर्ष बढ्दो छ । आफूले पाएको विभूषण र पदकहरु लिन नआएर थन्किएर बस्दा त्यसको व्यवस्थापनमा नै असर पर्ने भएपछि एक वर्ष भित्र लिन नआएमा नपाउने भन्ने नियम नै बनाउनु परेको छ ।
यस्तो किन हुन्छ ? राज्यले सम्मान गरेर दिइएको भनिएको आफूले पाएको विभूषण वा पदक लिन कोही किन जाँदैन ? विभूषण र पदकहरुको सम्मान जोगाउने हो भने यी प्रश्नहरुको जवाफ खोज्नु अनिवार्य हुन्छ ।
कसले सम्मान पाउने गर्छ भन्ने कुराले धेरै फरक पार्छ । उदाहरणका रूपमा, भारतमा पद्मश्री पाउनेहरुप्रति आममानिसले देखाउने सम्मान र श्रद्धा उँचो हुन्छ । पद्मश्री पाउनेहरुलाई नामका अगाडि पद्मश्री विशेषण राखेर सम्बोधन गर्ने गरिन्छ ।
तर हाम्रोमा त्यस्तो हुने सम्भावना अझै देखिंदैन । बरु यो झन् धेरै विकृत र विवादित बन्दैछ । कारण हो, हाम्रा विभूषण र पदकको हामीले सम्मान कायम गरेका छैनौं । हाम्रा विभूषण र पदकहरुले सम्मान आर्जन गर्न तथा विभूषण र पदक पाउनेहरुले आफू सम्मानित भएको महसूस गर्न सबैभन्दा पहिले यस्ता विभूषण र पदकहरुको संख्या निर्धारण गर्नुपर्छ । मनलाग्दी सयौंका संख्यामा दिइने कुरा होइन- विभूषण र पदकहरू । सम्मान वितरण पारदर्शी हुनैपर्छ । किन कसैले सो विभूषण वा पदक पायो भन्ने बारेमा जवाफ दिनैपर्छ । योगदानमा आधारित विभूषण र पदकहरूले मात्रै वास्तविक सम्मान दिन्छन् । र, विभूषण र पदकहरूको एक मात्र उद्देश्य योगदानको सम्मान हुनुपर्छ ।
अनि पो समाजले विभूषण र पदक वितरणको त्यो सामाजिक अनुष्ठान हेरेर आफ्नो आदर्श स्थापित गर्छ । अनि पो, भोलि म पनि त्यो ठाउँमा हुन पाएँ भन्ने सोचेर मात्रै पनि समाज रोमाञ्चित बन्छ । अनि पो, विभूषण र पदकबाट समाजको पथप्रदर्शन हुन सक्छ ।
प्रतिक्रिया 4