
१३ असोज, काठमाडौं । नेपाल तेक्वान्दो संघको चौथो अधिवेशन शनिबार भैरहवामा हुने भएको छ । संघले बिहीबार भैरहवामा पत्रकार सम्मेलन गर्दै चौथो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
अधिवेशनमा ५६ जिल्ला संघका अध्यक्ष, सात प्रदेशका अध्यक्षलगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहने जनाइएको छ । खेलकुद विकास ऐनअनुसार सात प्रदेश गठन भइसकेको र आगामी मंसिरभित्र प्रदेश संघको अधिवेशन सम्पन्न गरी नेतृत्व चयन गर्ने संघले जनाएको छ ।
यसैगरी देशका विभिन्न पालिकाहरुमा तेक्वान्दो विकास समिति गठनको काम भइरहेको नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणाले जानकारी दिए । उनले काठमाडौं उपत्यकाका सम्पूर्ण पालिकाहरुमा समिति गठन गरिसकेको पनि बताए ।
अधिवेशनले एक अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष र ११ जना सदस्य निर्वाचित गर्नेछ ।
२०३९ सालमा नेपाल मार्सल आट्र्स संघका नाममा स्थापना भएको तेक्वान्दो संघ २०४६ सालपछि छुट्टै संघका नाममा स्थापित भएको हो । लामो समय तदर्थ रुपमा सञ्चालन हुँदै आएको संघको २०६६ मा वीरगञ्जमा पहिलो पटक लोकतान्त्रिक विधिबाट पदाधिकारी चयन गरिएको थियो ।
प्रतिक्रिया 4