
१७ असोज, चितवन । २०७७ साउनमा चितवन राष्ट्रिय निकुञ्जको प्रमुख संरक्षण अधिकृत भएर आए, अणनाथ बराल । उनी आएको केही दिनमा नै गैंडा तस्करको गिरोहले निकुञ्जमा तीन वटा गैंडा मारे । उनी आउनु भन्दा अगाडि पनि तस्करहरुले निकुञ्जमा नौ गैंडा मारिसकेका थिए । बराल आउन अघि नै मारिएका थप दुई गैंडाको पनि मृत्यु शंकास्पद छ ।
निकुञ्जको तत्कालीन टिम गैंडा चोरी शिकारी शून्य वर्ष भनेर रमाइरहेको थियो । तर, निकुञ्ज भित्र तस्करहरुको पुरानो राज कायम थियो । २०७३ चैत २६ यता निकुञ्जमा चोरी शिकारीले गैंडा नमारेको ‘फेक डाटा’मा मस्त थियो तत्कालीन निकुञ्ज प्रशासन । प्राकृतिक कारणले गैंडा मरेको तथ्यांक निकुञ्जले सार्वजनिक गर्दै आएको थियो ।
निकुञ्जका पूर्व प्रमुख कमलजंग कुँवरले गैंडा तस्करको ठूलो गिरोहलाई भत्काउन बनाएको संयन्त्र नै भत्किन थालेपछि २०७६ सालदेखि नै गैंडा मार्ने क्रम सुरु भएको तथ्य अहिले सार्वजनिक भएको छ । निकुञ्जका प्रमुख अणनाथ बरालले आफू आएपछि निकुञ्जमा तीन गैंडा मारिएपछि तस्करको खोजीका लागि संयन्त्र बनाए र अहिले सफलता पनि हात पारे ।
‘मैले तत्कालै तस्कर विरुद्धको अभियान थालें’ निकुञ्ज प्रमुख बरालले भने, ‘गैंडा तस्कर नियन्त्रणका लागि बनाइएको पुरानो संरचना लथालिङ बनेको थियो, त्यसलाई पुनः सक्रिय र संगठित गरे ।’
निकुञ्जमा गैंडा मार्नेदेखि तस्करी गरेर तिब्बत, भारतसम्म खाग बेच्ने गिरोहका व्यक्तिहरु पक्राउ गरिरहेको निकुञ्ज प्रमुख बरालले बताए । अझै केही फरार छन् । उनीहरुको खोजीलाई तीव्र पारिएको निकुञ्जको भनाइ छ ।
गैंडा तस्करी किन बढ्यो भन्ने प्रश्नमा निकुञ्ज प्रमुख बराल भन्छन् ‘गैंडा मारेको अभियोगमा जेल परेकाहरु पनि धमाधम छुटेर पुनः संगठित हुनथाले तर हाम्रो संयन्त्रले जज गर्न सकेन, निकुञ्ज माथि राजनीतिक लगायतका सबै प्रहार पनि यही बीचमा भयो, तर अहिले पुनः हामीले गैंडा तस्करी विरुद्ध सशक्त अभियान चलाएका छौं, यो रोकिंदैन ।’
उनले एन्टि पोचिङ नियन्त्रण इकाइलाई पुनः सक्रिय पारिएको र नेपाली सेना, नेपाल प्रहरी, सिआइबी, मध्यवर्ती सामुदायिक वन, समुदायलगायतको सहयोगमा तस्करी नियन्त्रणको काम भैरहेको बताए ।
निकुञ्जले गत मंगलबार मात्रै विभिन्न मितिमा पक्राउ परेका गैंडा तस्करीमा संलग्न भएको आरोप लागेका ८ जनालाई सार्वजनिक गरेको छ । हालसम्म पक्राउ परेका ४२ जनामध्ये तीन जना पुरानो मुद्दाका फरार अभियुक्त हुन् । सालकको तस्करी गर्ने थप दुई जनालाई पनि निकुञ्जले पक्राउ गरेको छ । निकुञ्जले गैंडा तस्करीका डन मानिने व्यक्तिहरुसमेत पक्राउ गरेको छ । नाङे तामाङ, मेखबहादुर नेपाली, छिरिङ योञ्जन, बीरबहादुर बस्नेत, कवि श्रेष्ठहरुलाई पक्राउ गर्न निकुञ्ज सफल भएको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा गैंडा चोरी शिकारीमा एकै परिवारका तीन दाजुभाइदेखि बाबु-छोरा समेत संलग्न देखिएका छन् । यसबाट गैंडा चोरी तस्करीमा पुस्तान्तरणको खतरा देखिएको संरक्षण अधिकृतहरु बताउँछन्
गत वर्षको भदौयता अहिलेसम्म पाँचवटा गैंडा सिकारीले मारेको जानकारी निकुञ्जले दिएको छ । यो वर्ष साउन ११ मा माडीको घाँघर नजिक तस्करले गैंडा मारेका थिए । साउन ११ मा गैंडा मारेको अभियोगमा माडी-७ देवेन्द्रपुरका यादव भन्ने राजन गुरुङ समातिएका छन् । राजनले २०७७ जेठमा सो गैंडा मारेको बयानमा बताएका छन् । राजनसँग कवि भन्ने रामकुमार श्रेष्ठको चिनजान र सम्बन्ध देखिएको निकुञ्जको दाबी छ ।
मैघौली, बहपुर र साउन ११ मा मृत भेटिएको गैंडा मार्न रामकुमारले नै मान्छेहरू पठाएको मारेको अनुसन्धानले देखिएको छ ।
गत वर्ष भदौ १६ गते निकुञ्जको पश्चिम क्षेत्रमा गोली चलेको आवाज आएपछि सो क्षेत्रमा खोजतलासका क्रममा सिकारीले मारेका चारवटा गैंडा भेटिएका थिए । भदौ २१, कात्तिक १९ र २१ गते गोली लागेर मारिएका चार गैंडा भेटिएका थिए । त्यसपछि मात्रै निकुञ्जमा तस्करले गैंडा मारेको तथ्य खुलेको हो ।
निकुञ्जले गत वर्षको भदौयता हालसम्म पाँच वटा गैंडा सिकारीले मारेको जानकारी दिएको थियो । आर्थिक वर्ष ०७३/०७४ मा २५, ०७४/०७५ मा २६, ०७५/०७६ मा ४३, ०७६/०७७ मा २६, ०७७/०७८मा ३२ गैंडा मरेको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिए ।
तीन दाजुभाइदेखि कोरियाबाट फर्केकासमेत गैंडा सिकारी !
५ वर्ष कोरिया बसेर फर्किएका नवलपुरको बुलिङटार-१ कोटथरका गोपाल सारूसमेत गैंडा सिकारीमा लागेर गत साउन ३२ गते पक्राउ परे । काठ व्यवसाय नचलेपछि रामकुमार श्रेष्ठको लहैलहैमा लागेर गैंडा मार्न तयार भएको उनी बताउँछन् ।
उनले २०७७ भदौमा निकुञ्जको आइल्याण्ड क्षेत्रमा गैंडा मारेको स्वीकार गरेका छन् । आइल्याण्ड क्षेत्रमा गैंडा मार्ने कार्यमा संलग्न थप ४ जना भने फरार छन् ।
गैंडा सिकारी तथा खाग तस्करीमा एकै परिवारका तीन जना दाजुभाइ समेत संलग्न भएको निकुञ्जले जनाएको छ । मकवानपुरको मनहरी गाउँपालिका-४बस्ने ३० वषर्ीय जयबहादुर प्रजा, ३६ वषर्ीय दिलबहादुर प्रजा र सुरेश प्रजा दाजुभाइ हुन् । तीनै जना गैंडा तस्करीको अभियोगमा पक्राउ परे ।
जयबहादुर र दिलबहादुरले बहपुर खोला क्षेत्रमा २०७६ कात्तिकमा गैंडा मारेको अभियोग निकुञ्जले लगाएको छ । अर्का भाइ सुरेशले साथीहरुसँग मिलेर निकुञ्जको घाँघर क्षेत्रमा पर्ने बाटुली चौरको खोल्सीमा २०७७ असोजमा गैंडा मारेको निकुञ्जको दावी छ ।
गैंडा तस्करीमा बाबु-छोरासमेत संलग्न हुन थालेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताए । तस्करीमा पुस्तान्तरणको खतरासमेत देखिएको उनको भनाइ छ । गैंडा मार्ने काममा केही नयाँ व्यक्तिहरुसमेत संलग्न हुन थालेका छन् । तर परिचालन गर्ने व्यक्ति भने पुरानै रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत बरालले बताए ।
समुदायमा गैंडाको संरक्षणको आवश्यकता, तस्करीमा लाग्दाको परिणाम र कानुनी व्यवस्थाबारे बुझाउन आवश्यक भएको प्रमुख संरक्षण अधिकृत बरालले बताए ।
गैंडा विश्वबाट लोप हुने अवस्थामा पुगेको दुर्लभ वन्यजन्तु हो । यसलाई मारेमा वा यसको अंग किनबेच र ओसारपसार गरेमा १५ वर्षसम्म जेल सजाय वा १० लाख रुपैयाँसम्म जरिमाना या दुवै सजायँ हुने कानुनी प्रावधान छ ।
निकुञ्ज क्षेत्र भित्रका विभिन्न खोलाहरुबाट ढुंगा, गिट्टी, बालुवाको तस्करी गर्ने दुई सय जनालाई पक्राउ गरेर मुद्दा चलाएको निकुञ्जले जनाएको छ । केहीले संगठित रुपमा रातको समयमा र केहीले निकुञ्जको निगरानी कम पर्ने ठाउँबाट ढुंगा, गिट्टी र बालुवाको तस्करी गर्नेहरुलाई पक्राउ गरेको निकुञ्जले जनाएको छ ।
प्रतिक्रिया 4