+
+

भाइटीकामा ढाकाटोपीको महत्व

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १८ गते १४:३५

१८ कात्तिक, काठमाडौं । तिहारमा चेलीले माइतीका लागि उपहार दिने प्रचलन छ । र, यसका लागि सर्वोत्तम मानिन्छ ढाकाटोपीलाई । ढाकाटोपी नै किन त ? यसको खास अर्थ र महत्व छ । यसलाई पहिरनको पनि उच्च कोटीमा राखिन्छ । हाम्रा पूर्खाहरुले टोपीलाई शिरपोसको उपमा दिँदै यसको महत्वलाई दर्शाए ।

तिहारको भाइटीकामा दिदीबहिनीले दाजुभाइको शिरमा ढाकाटोपी लगाइदिने चलन छ । यसको खास अर्थ छ । टोपीजस्तै दाजुभाइको शिर उच्च रहोस् भन्ने प्रतीकात्मक सन्देशसहित ढाकाटोपी उपहार दिइन्छ ।

अर्कोतिर के पनि धारणा छ भने भाइटीकामा माइतीको टाउको खाली राख्नुहुँदैन । यही कारण टोपी पहि¥याइदिने गरिन्छ ।

त्यसो त ढाकाटोपीप्रति हाम्रो भावनात्मक सम्बन्ध पनि छ । यसमा हामी आफ्नोपन पाउँछौ । किनकि, यो हाम्रो आफ्नै उत्पादन हो ।

तिहार नजिकिएसँगै ढाकाटोपी बजारमा छ्यापछ्याप्ती देखिन्छ । तिहारलाई लक्षित गरेर बजार ढाकाटोपीले ढाकिन्छ । बजारमा ढाकाटोपी देख्नासाथ हामी रोमाञ्चित हुन्छौं । किनभने, यसले हामीलाई तिहारको मिठास दिन्छ ।

आधुनिकताको नाममा पछिल्लो समय ढाकाटोपी मारमा परेको देखिन्छ । अहिले चेलीले माइतीलाई ढाकाटोपी होइन अन्य लत्ताकपडा दिने चलन बढेको छ । भाइटीकामा दिइने उपहारलाई अन्य लत्ताकपडा तथा ग्याजेटहरुले प्रतिस्थापन गर्दै आएका छन् ।

ढाकाटोपी नेपालीहरुको मौलिक पहिचान हो । ढाकाको कपडामा तयार पारिने ढाकाटोपी पुरुषहरुले लगाउने एक प्रकारको टोपी हो । निधारसहित सम्पूर्ण टाउको ढाक्ने भएकोले पनि यसलाई ढाकाटोपी भनिने जनविश्वास छ । त्यस्तै, बंगलादेशको ढाका शहरबाट यस किसिमका कपडा आयातीत गरेर बनाइने भएकाले पनि यसलाई ढाका भन्ने गरेको पाइन्छ ।

ढाकाटोपी विशेषगरी दौरा सुरुवालका साथमा पहिरिने गरिन्छ ।

सांस्कृतिक दृष्टिकोणले भिन्नै महत्व बोकेको ढाकाटोपी तत्कालीन राजा महेन्द्र शाहको पालामा ढाकाटोपी बढी मात्रामा प्रचलनमा आएको थियो । त्यसबेला नेपालको सरकारी कार्यालयमा काम गर्ने सबैलाई नेपाली पोशाक अनिवार्य थियो । त्यसमा ढाका टोपी पनि पर्दछ ।

ढाका टोपीलाई नेपालीको कला धर्म, संस्कृतिसँग पनि जोडिएको पाइन्छ । धार्मिक कार्य गर्दा निधार तथा शिर खाली राख्नुहुन्न भन्ने मान्यता अनुसार नेपाली समाजमा हरेक शुभ कार्यपछि ढाकाटोपी लगाउने गरिन्छ । त्यसैमा आधारित रहेर भाइटीकाको दिन हरेक दिदीबहिनीले आफ्ना दाजुभाइलाई ढाकाटोपी लगाइदिने चलन रहेको मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?