+
+

अजिनोमोटोबारे पोषणविद् नै द्विविधामा : के साँच्चै खानै नहुने र ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १४:२८

२९ कात्तिक, काठमाडौं । खानपानको दुनियाँमा लामो समयदेखि बहसको विषय बनेको एउटा खाना हो, अजिनोमोटो । रेस्टुरेन्टको खानामा होस् वा घरायसी परिकारमा समेत अजिनोमोटो अनिवार्य जस्तै बनिसकेको छ । खानामा स्वाद बढाउन प्रयोग गरिने अजिनोमोटो स्वास्थ्यको लागि हानिकारक छ कि छैन ? यो बहस पोषणविद्हरुमा चल्ने गरेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय अध्ययनलाई हेर्ने हो भन्ने कतै अजिनोमोटोले मानिसमा तनाव कम गर्छ भन्ने निष्कर्ष निस्किएको पाइन्छ भने कतिपय अध्ययनले अजिनोमोटोको प्रयोगले स्वास्थ्यमा असर गरेको भन्दै यसमाथि प्रतिबन्ध समेत लगाएका छन् । नेपालमा पनि यसबारेमा दुवैथरीको मत सुन्न सकिन्छ ।

अजिनोमोटोको पक्ष र विपक्षमा हुने बहसको तर्क ?

अजिनोमोटो स्वास्थ्यको लागि फाइदाजनक छ कि हानिकारक भन्ने बहस टुंग्याउने गरी अहिलेसम्म सर्वमान्य अध्ययनको रिपोर्ट सार्वजनिक भएको छैन । यदि यो हानिकारक थियो भने विश्वभर यसलाई किन प्रतिबन्ध गरिँदैन त ? भन्ने प्रश्न र यसले स्वास्थ्यमा असर गर्छ भने किन जापान र चिनियाँहरुमा यसको नकारात्मक असर देखिँदैन त ? भन्ने तर्क अजिनोमोटोको बचाउमा वकालत गर्ने पोषणविद्हरुको छ । तर अजिनोमोटोको विपक्षमा वकालत गर्नेहरु भने यो एउटा मन्द स्वादिलो क्यान्सर रहेको भन्दै यसले नजानिँदो पाराले स्वास्थ्यमा असर गर्ने दाबी गर्छन् ।

अजिनोमोटोको शुरुवात सम्बन्धी रोचक तथ्य

अजिनोमोटोको प्रयोग २० औं शताब्दीको शुरुवाततिर जापानबाट भयो । यो कोरिया, जापान हुँदै विश्वभर फैलिएको छ । सन् १९०८ को एक साँझ रात्रिभोजन सकेपछि अजिनोमोटो समूहका संस्थापक जीवरसायन शास्त्री डा. किकुनाइ इकेडाले आफ्नी श्रीमतीलाई खाद्य परम्परामा परिवर्तन ल्याउन सुझाव दिए । डा. इकेडाले आफूहरूले खाइरहेको फलफूल एवं तोफु सुपलाई पनि फरक शैलीमा मिठास ल्याउन सकिन्छ ? भनेर प्रश्न गरेका थिए । श्रीमती इकेडाले यसमा सकारात्मक प्रतिक्रिया दिइन् ।

भोलिपल्ट कोम्बु वा केल्प भनिने एक किसिमको समुद्री वनस्पतिको प्रयोग गरेर एउटा परिकार तयार पारिन् । सो परिकार तयार पार्ने क्रममा त्यसमा रहेको क्रिस्टलिन कम्पाउण्ड निकाल्न सफल भए । जसमा ग्लुटामिन एसिडको मात्रा बढी थियो । उनले निकालेको क्रिस्टलको स्वाद लिएपछि उनले ‘उमामी’ भन्ने शब्द उच्चारण गरे । उमामी एक गुलियो, नुनिलो, अमिलो र तीतो स्वादको संयोग हो । जापानी भाषामा यो शब्दावलीले स्वादिष्ट भन्ने अर्थ पनि बोक्छ । यो परिकारमा एमिनो एसिड र ग्लुटामेट बढी मात्रामा पाइने गर्छ ।

यसरी कोम्बु र वा केप्ल भनिने समुद्री वनस्पतिबाट यो परिकार बनाइसकेपछि डा. इकेडाले सन् १९०९ मा नयाँ परिकारको सर्वाधिकार (प्याटेन्ट) दर्ता गरे । त्यसको अर्काे वर्ष अजिनोमोटो ग्रुप र अजिनोमोटो जापानी बजारमा सार्वजनिक भयो । शुरुवातमा यो गहुँमा रहेको ग्लुटेनको हाइड्रोलाइसिस मार्फत् उत्पादन गरिन्थ्यो । सन् १९३० पछि यो सोयाबिनबाट तयार पार्न थालियो । सन् १९६० पछि भने उखु एवं सोही प्रजातिका वनस्पतिबाट चिज, दही र वाइन उत्पादन गर्दा जस्तै विधिबाट यसको प्रशोधन गरिन्छ ।

नेपाली पोषणविद्को तर्क

विश्वमा व्याप्त भइसकेको अजिनोमोटोले नेपाली बजारमा पनि आफ्नो उपस्थिति हरतरह देखाइसकेको छ । हामीले अजिनोमोटोको मिसावटबिना दैनिक खाने खाजा भेट्न मुस्किल छ । मःमः, चाउमिन होस् या त चाउचाउलाई पनि स्वादिष्ट बनाउनका लागि अजिनोमोटोको प्रयोग गर्ने गरिन्छ । तर, आहारविद् राजु अधिकारी भने अजिनोमोटो मन्द स्वादिलो क्यान्सर भएकाले तत्काल असर देखिएन भन्दैमा अजिनोमोटोको प्रयोग गर्न नहुने बताउँछन् ।

त्यसमा हुने ग्लुटामिक एसिडले मस्तिष्कमा न्यूरोट्रान्समिटरको रूपमा काम गर्छ । ग्लुटामिक एसिडले मानव शरीरको तन्त्रिका र कोशिकाहरूलाई नष्ट गर्न सक्छ भन्ने आहारविद्हरुको मत छ ।

आहारविद् अधिकारीका अनुसार अजिनोमोटोले रगतलाई प्रदूषित गराउने, शरीर गलाउने वा थकाउने, स्वादको ग्रन्थीलाई बिगार्ने, स्लो एडिक्सन, श्वास ग्रन्थीलाई खुलाइदिने, मिनरल्सहरुको मात्रा बढाउने हुँदा यो मानव स्वास्थ्यको लागि फाइदाजनक छैन । यसलाई विश्वका कतिपय मुलुकहरुमा प्रतिबन्ध समेत लगाइएको भन्दै यसलाई नेपालमा पनि प्रयोग गर्न नदिनु राम्रो हुने उनको तर्क छ ।

उता पोषणविद् सञ्जय महर्जन भने अजिनोमोटोले स्वास्थ्यमा हानि गर्छ भनेर स्पष्ट रूपमा कुनै पनि अध्ययनमा नदेखिएको भन्दै यसमा धेरै भयभित हुनु जरुरी नरहेको बताउँछन् । ‘नुन, चिनी आदि पनि मानव स्वास्थ्यको लागि हानिकारक छ । तर, निश्चित मात्रामा हामी यी खानेकुरा त खान्छौं,’ महर्जन भन्छन्, ‘त्यस्तै हो यो पनि । यसले स्वास्थ्यमा असर गर्छ भन्ने यकिन नभएसम्म यसले फाइदा गर्छ वा हानि गर्छ भन्न सक्ने अवस्था छैन ।’ उनी अजिनोमोटो पनि नुन र चिनीजस्तै कम मात्रामा प्रयोग गर्दा स्वास्थ्यको लागि लाभदायक हुने र धेरै मात्रामा प्रयोग गरे यसले हानि गर्छ भन्ने तर्क राख्छन् ।

जहाँ प्रतिबन्धित छ अजिनोमोटो

सन् २०१८ मा पाकिस्तानको पञ्जाब फुड अथोरिटीले प्रदेशभर अजिनोमोटो साल्टको बिक्री एवं प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

त्यस्तै, अफ्रिकी मुलुक मोरिससले २ लाख ५० हजारभन्दा बढी वयस्क नागरिकमा साइलेन्ट किलरको रूपमा असर गरेको भन्दै अजिनोमोटोलाई प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । यसरी विश्वका अरू पनि कतिपय मुलुकहरुले मानव शरीरमा असर गरेको भन्दै अजिनोमोटोमाथि प्रतिबन्ध लगाएका छन् । तर, यसले मानिसको शरीरमा प्रतिकूल असर गर्छ भन्नेबारे कुनै पनि अध्ययनले पुष्टि भने गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?