
तपाईंको अंग्रेजीमा के छ ?
बालसूर्यका कोमल अनि न्याना किरणले उत्तुङ्ग हिमशिखरहरूलाई सभ्यताको पहिलो बिहान स्पर्श गर्दाको अप्रतिम अनि सुकुमारी सौन्दर्य छ तपाईंको अंग्रेजीमा !
ती हिमालहरू झैं कञ्चन, गर्विलो र मनोहारी छ तपाईंले आफूलाई अभिव्यक्त गर्न रोज्ने गरेको भाषाको मौलिकता ! बुकी र अन्य वनफूलहरू अनि कस्तूरीको सुगन्ध मिसिएको छ तपाईंको अंग्रेजीमा !
अनि ती हिमालहरू पग्लिएर पहाडका खोंच र तराईका विस्तीर्ण मैदानहरू हुँदै बग्ने नदनदीहरूको संगीत बोकेको छ तपाईंले सोच्ने, बोल्ने र लेख्ने ‘म्लेच्छ भाषा’ले ! के त्यो कहिल्यै पहाडका खोंचहरूमा खोला बगेझैं अलि अप्ठ्यारो गरी बग्छ, कहिले झरना झैं छङछङ गर्दै बग्छ अनि कहिले समतल भूभाग भेटेपछि बडो शान्त भई नदी बगेसरी बग्छ ?
अंग्रेजीको ड्रल र न्याजल याक्सेंट मलाई साह्रै उकालो लाग्छ। अंग्रेजी बोल्नु भनेको झरीले भिजेको बाटोमा लडिएला कि भन्दै बडो सावधानीपूर्वक पाइला नापी–नापी हिंड्नु जस्तो हो लाग्छ मलाई। यति गर्दा पनि कतिखेर कति बल्ड्याङ खाने गरी लडिन्छ पत्तै नहुने भएर पो मार्यो त यो भाषाले। यस्तै अनुभव भयो केही दिन अघि लामै समयदेखि सूर्य कहिल्यै नअस्ताउने भनिएको भूपू साम्राज्यको केन्द्रमा बसिरहेका एक जना ब्रोसँग म्लेच्छ भाषामा कुराकानी गर्ने सौभाग्य पाउँदा।
अँ, यी पंक्तिहरू लेख्दा एक जना धाँसु अंग्रेजीवाज अनि अंग्रेजी साहित्यका प्रोफेसरको लण्डन बसाइको अनुभव पो सम्झिएँ। ती प्रोफेसर शायद अंग्रेजी साहित्यमा विद्यावारिधि गर्न बेलायत गएका थिए। अवस्था कस्तो परेछ भने उनी जस्ता दिग्गजले बोलेको औंरेजी बुझ्न पनि गोराहरूलाई हम्मे पर्ने गर्दोरहेछ। हुन त हरेक भाषाको आञ्चलिकता, क्षेत्रगत विविधता हुन्छ, जसले उक्त भाषालाई समृध्द बनाउँछ। तर कतिपय मूलवासी वक्ताहरूले भाषागत विविधतालाई भ्रष्टीकरणको रूपमा लिएको पाइन्छ । अर्काको भाषा बोल्दा कताकता सौतेनी आमालाई आफ्नी आमा ठानेको जस्तो हुँदोरहेछ।
यस्तो अचम्मित पार्ने घटना सम्झेपछि हाफ-बेक्ड अर्थात् अधकल्चो औंरेजी बोलेर के के न पुरुषार्थ गरें भन्ने सोच्ने पंक्तिकारको भन्दा त कतै महात्मा विदुरको महाभारतकालीन ओल्ड हाइ जमनवाला (?) औंरेजी नै धेरै दामी पो थियो कि जस्तो लाग्न थालेको छ, यो औंरेजीको ठाडो उकालो यात्रा ज्यादै गाह्रो लाग्न थालेको छ।
के गर्ने पहाडका उकाली–ओराली जति गरे नि हिमालहरू चढ्ने सपनासम्म देख्नुभन्दा पनि श्रद्धापूर्वक परैबाट नमस्कार गर्ने किसिमको व्यक्ति परियो, त्यसैले होला कि ?
अँ, म महात्मा विदुरको महाभारतकालीन ओल्ड हाइ जमनवाला म्लेच्छ भाषाको कुरा गर्दैथिएँ। महाभारतको एउटा प्रसङ्ग सम्झेर बडो आश्चर्य लाग्छ। पहिले उक्त प्रसङ्ग उल्लेख गरिहालूँ।
कौरवहरू पाण्डवहरूलाई सिध्याउन अनेक थरी षडयन्त्र गरिरहन्थे रे ! हाम्रो कानूनी भाषामा ज्यान मार्ने ‘उद्योग’ गरेको आरोपमा फलानालाई पक्राउ गरियो भन्ने किसिमका समाचारहरू खूब आइरहन्छन्।
प्रसंग आइहाल्यो, त्यसैले उद्योग शब्दको अर्थ खोतल्ने प्रयास गरौं है त। संस्कृतको उद् र योग मिलेर यो शब्द बनेको छ। उद् भनेको माथि, योग भनेको जोडबल, प्रयास। उद्योग भन्नाले उठ्ने, प्रगति गर्ने प्रयास, सत्कर्म, सत्प्रयास। प्रश्न उठ्छ: ज्यान मार्ने जस्तो कुकर्म कसरी उद्योग हुन सक्छ ? राज्यले नै ज्यान मार्ने जस्तो कुकर्मलाई उद्योगको रूपमा विकास गर्न खोजेको त पक्कै होइन होला !
कुरो र कुलो जता लगे पनि हुन्छ भने जस्तो पो भयो त !
कौरवहरूको दुष्प्रयासतर्फ फर्कौं । उनीहरूले एउटा सुन्दर लाक्षागृह अर्थात् लाहाको घर निर्माण गर्न लगाए। उद्देश्य थियो, कसैगरी पाँच भाइ पाण्डवहरूको स्वागत–सत्कार गर्ने नाममा लाहाको घरमा लैजाने अनि विश्राम गरेको बेला पारेर त्यहाँ आगो लगाइदिने। यति गरिसकेपछि पाण्डवहरूको रामनाम सत्य हुन्छ अनि त अकन्टक राज्य गर्न पाइन्छ। टन्टै साफ !
अब हेर्नुस् पाण्डवहरूका हितैषी काका विदुरको गुप्तचरी विद्या र म्लेच्छ भाषाको करामत ! विदुरले दुर्योधनहरूको षडयन्त्रको सुइँको पाइहाल्छन् ।
षडयन्त्रको चाल त पाइयो तर पाण्डवहरूसम्म कसरी खबर पुर्याउने त ? चलनचल्तीको भाषामा दूत मार्फत सन्देश प्रवाह गर्दा दुर्योधनका दूतहरूले थाहा पाइहाल्छन्। हो, यहींनेर विदुरको औंरेजी – ‘म्लेच्छ भाषा’ — काम आउँछ।
‘म्लेच्छ भाषा’मा लेखिएको सन्देश दूत मार्फत समयमै प्राप्त भएकाले पाण्डवहरूको लाक्षागृहको भ्रमण तथा विश्रामको कार्यक्रम रद्द हुन्छ ।
कौरवहरूले पाण्डवहरूको भ्रमण रद्द भएको जानकारी पाउँदैनन्, त्यसैले लाक्षागृहमा आगो लगाइदिन्छन्। विदेशी भाषाको ज्ञानका कारण पाण्डवहरू जोगिन्छन्। यस घटनाले पनि स्पष्ट पार्छ: स्वदेश विरुद्ध हुने विदेशी षडयन्त्रहरूको समयमै जानकारी प्राप्त गरी राष्ट्रिय हितको रक्षा गर्न कूटनीतिज्ञहरू विदेशी भाषाहरूमा पोख्त हुनुपर्ने रहेछ।
तर यो म्लेच्छ भाषामाथिको कमजोर पकडका कारण पनि हाम्रा राष्ट्रिय स्वार्थहरूमा पटक–पटक आघात परेको हो कि जस्तो लाग्न थालेको छ।
विक्रम संवत् २०४६ को राजनीतिक परिवर्तनपछिको एउटा ज्यादै महत्वपूर्ण अध्यायको संक्षेपमा उल्लेख गर्छु।
महाकाली सन्धि गर्ने बेला वर्तमान प्रधानमन्त्री, निवर्तमान प्रधानमन्त्री, नेकपा एमालेका तत्कालीन महासचिव लगायतका वर्षौं कारागारमा बसेर, प्रजातन्त्र, मानवअधिकार, साम्यवाद, समाजवाद र यस्तै यस्तै उच्च आदर्शहरूका लागि राजनीतिक संघर्ष गरेर उतिबेलै वरिष्ठ भइसकेका नेताहरूले प्रस्तावित सन्धिमा लेखिएका/लेखिनुपर्ने शब्द, वाक्य/वाक्यांशहरू सम्बन्धमा ठूलै बुद्धिविलास गरेका रहेछन्। तर त्यति गर्दा पनि महाकाली सन्धि मार्फत पश्चिमबाट सूर्य उदाएन, नेपालले वर्षेनि खरबौं डलरको नगदेबाली स्याहार्न पाएन, नेपाली भूभागमा सिंचाइ हुन सकेन।
बरू नेपालले महाकाली नदीमाथिको जल सार्वभौमिकता गुमाएकै देखियो, देशको सार्वभौमिकतामै आघात पुगेको प्रमाणित भयो कालान्तरमा। स्पष्ट छ, यस्ता दुरभिसन्धिहरूमा लेखिएका अक्षर केलाएर मात्रै हुँदैन, तिनको भूराजनीतिक/भूरणनीतिक अर्थ पनि बुझ्न सक्नुपर्छ, पंक्तिहरूबीच लुकेको गूढार्थ पनि बुझ्न सक्नुपर्छ। उपरोक्त बुद्धिविलासमा संलग्न उपबुज्रुकहरू, पछि भयङ्कर ‘देशभक्त’ भएर निस्केकाहरूलाई यो सन्धि देशघाती छ भन्ने थाहा नभएको पक्कै थिएन होला। प्रश्न उठ्छ: कतै सार्वभौम संसद मार्फत सन्धि अनुमोदन गराई देश र जनताविरुद्ध ‘सेल्फ गोल’ अर्थात् आत्मघाती गोल गर्नकै लागि ती पात्रहरूको लालनपालन गरिएको त थिएन ?
त्यस्तै त्यस्तै उद्भट विद्वान कहलिएका प्रायोजित पात्रहरूले नै कोशी र गण्डक सम्झौता गरी देश र जनताविरुद्ध अक्षम्य अपराध गरेका थिए विक्रम संवत २००७ को राजनीतिक परिवर्तनपछि। मर्ने बेलामा बल्लबल्ल ती पात्रहरूले ती सन्धिहरू देशको हितमा नरहेको स्वीकारेका थिए। विडम्बना के भने तिनै देशघातीहरूलाई हामी अहिले पनि भगवानसरह मानेर पुज्दैछौं ! अनि हाम्रो कल्याण नभए कसको हुन्छ ?
स्वदेश अस्थिर भएपछि, कमजोर भएपछि, आमनागरिकको जीवन गरीबीमा डुबेपछि आफ्नो भाषा, संस्कृति, परम्पर, रीतिथिति बिर्सेर विदेशीको भाषा, संस्कृति, परम्परा, रीतिथिति अँगाल्नुपर्ने बाध्यता हुँदोरहेछ कि क्या हो ? नत्र फ्रेन्च, चिनियाँ, जापानीहरूलाई आफ्नो भाषा, आफ्नो संस्कृति, रीतिथिति, परम्परा अँगालेर पनि पुगिसरी नै छ। अन्तर्राष्ट्रिय सम्पर्कका लागि हो अन्य भाषा, परसंस्कृति, अर्काको रीतिथिति, चाडपर्वको ज्ञान आवश्यक हुने। बाँच्नकै लागि विदेशी भाषा, विदेशी संस्कृति, विदेशी परम्परा र रीतिथिति अँगाल्नुपर्ने बाध्यता उनीहरूलाई छैन।
अर्कोतर्फ हामी ‘लाहुरे’हरूलाई चाहिं कामको खोजीमा संसार चहार्नुपर्ने बाध्यता छ। विविध भाषा, संस्कृति, परम्परा, रीतिथिति, चाडपर्वबारे जानकारी भए जीवन अलि सुखमय हुने झिनो आशा साँचेर भौंतारिइरहेछौं हामी दशकौंदेखि। आफ्नै नाभिमा सुगन्धको स्रोत रहेको थाहा नपाई रनवन भौंतारिने कस्तूरी मृग जस्ता भएका छौं हामी।
अंग्रेजी लगायतका भाषा, संस्कृति, परम्परा आदि पनि सिक्ने, स्वदेशी भाषा/भाषिकाहरूका अलावा। विदेशमा पनि आफ्नो भाषा, संस्कृति, परम्परा, रीतिथिति फैलाउने सद्भावना राजदूत हुने।
विदेशमा जति सुखको वा दु:खको जीवन बाँचिरहेको भए पनि मनमा सधैं नेपाल र नेपाली राख्ने, जतिसक्दो छिटो नेपाल फर्केर आफूले सिकेका प्रविधि, सीप, कौशल सिकाउनतिर लाग्ने। नेपालभित्र हिमाल, पहाड र तराईका नेपालीहरू नै अल्पमतमा पर्दै गएको, खासगरी खुला सीमाका कारण यो देश बृहत् छिमेक र विश्वका अन्य भूभागहरूबाट विस्थापितहरूको शरणस्थली हुँदै गएको तथ्यप्रति संवेदनशील हुने।
सचेत नेपालीहरू सुख खोज्दै, भूस्वर्ग खोज्दै विदेशिने हो भने छूद्र स्वार्थका लागि नेताहरूले यो देशको लिलामी गर्न पनि सक्छन् भन्ने कहिल्यै नबिर्सने। विदेशमा भन्दा मेरो देशमा मेरो खाँचो बढी छ भन्ने स्मरण गरिरहने।
मातृऋण, पितृऋण र राष्ट्रऋण – यहाँ मैले देशलाई तिर्नुपर्ने अरबौं रुपैयाँ नतिर्ने नवधनाढ्य करछली महाशयहरूको राष्ट्रऋणको कुरा गरेको होइन — तिरेर सकिंदैन भनिन्छ। फेरि त्यो ऋण विदेशी ऋण जस्तो वर्षेनि चक्रवृद्धि ब्याजसहित थपिंदै जाने पनि होइन, त्यो त हृदयले अनुभूत गरिने किसिमको, मैले मेरो मातृभूमि, पितृभूमि र स्वदेशवासीहरूको सक्दो सेवा गर्नुपर्छ भनेको न हो।
यति गर्न नसकिएला त ?
प्रतिक्रिया 4