+
+

‘नर्सले बिरामीको भावनात्मक उपचार पनि गर्नुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ७ गते १८:३२

६ मंसिर, काठमाडौं । अस्पताल जाने धेरैजसो बिरामीको एउटै गुनासो हुन्छ, डाक्टर र नर्सबाट राम्रो व्यवहार भएन । यो गुनासो सरकारी र निजी दुवै अस्पतालको साझा समस्या हो । शारीरिक, मानसिकसँगै भावनात्मक सम्बन्ध समेत आवश्यक पर्ने बिरामीहरुलाई अस्पतालमा डाक्टर र नर्सले गर्ने व्यवहारले कस्तो प्रभाव पार्छ त ? यसै विषयमा केन्द्रित रहेर उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्यूरोलोजिकल एप्लाइड साइन्सकी नर्सिङ इन्चार्ज पुष्पा चापागाईंसँग अनलाइनखबरले गरेको कुराकानी ।

बिरामीहरुलाई औषधि र उपचार मात्र होइन, हौसला र माया पनि चाहिन्छ भनिन्छ । अस्पतालमा त्यस्तो व्यवहार हुन्छ ?

पक्कै पनि बिरामीलाई औषधि मात्रै होइन, छिटो स्वस्थ हुनका लागि हौसला र माया पनि चाहिन्छ । बिरामीलाई गर्ने व्यवहारको सवालमा कुरा गर्दा म जुन अस्पतालमा कार्यरत छु, त्यो अस्पतालमा बिरामीलाई यहाँले भने जस्तो कुनैपनि व्यावहारिक झन्झट र नराम्रो व्यवहार हुने गरेको छैन । हामीले औषधीय उपचारसँगै भावनात्मक उपचारलाई पनि ध्यान दिने गर्छौं ।

बिरामीहरुले अस्पतालबाट कस्तो व्यवहार रुचाउँछन् ?

बिरामीको चिकित्सकसँग ठूलो अपेक्षा भनेको त आफूलाई निको बनाएर पठाओस् भन्ने नै हुन्छ । त्यसबाहेक राम्रोसँग बोल्दियोस्, राम्रो व्यवहार गरिदेओस्, समयमा उपचार गरिदेओस् भन्ने अपेक्षा राखेका हुन्छन् । म न्युरोलोजिकल सेक्टरमा काम गर्ने भएकोले एउटा ‘कन्सस’ बिरामीले आफूलाई समयमा उपचार गर्ने र आफ्नो ख्याल गरिदेओस् भन्ने अपेक्षा नै धेरै बिरामीबाट पाउँछु ।

हाम्रो अस्पतालमा दिउँसोको समयमा बिरामीका आफन्तलाई बिरामीलाई भेट्न जाने अनुमति नभएकाले पनि बिरामीको हेरचाह गर्ने सम्पूर्ण जिम्मेवारी नर्सको काँधमा आउँछ । त्यसैले पनि बिरामीले नर्ससँग राम्रो व्यवहार मन पराउँछन् ।

अस्पतालमा भर्ना हुँदा वा उपचार गरिरहँदा बिरामीमा एक किसिमको भय, आशंका हुन्छ । यस्तो अवस्थामा उनीहरुलाई सान्त्वना दिनु, प्रेरणा दिनु कति जरुरी हुन्छ ?

उपचार गराउन आएका बिरामीमा भय र आशंका हुन्छ । यस्तो अवस्थामा उहाँहरुको अवस्था हेरेर सान्त्वना दिनु जरुरी हुन्छ । हामीले बिरामीसँग व्यवहार गर्दा वा उपचार गरिरहेको बिरामीमा देखिएको भय कम गराउन सान्त्वना दिने गर्छौं । हामी बिरामीको कन्डिसनको आधारमा उहाँहरुलाई सान्त्वना दिने गर्छौं । तर सान्त्वना दिने नाममा सम्भवै नभएको कुरा भनेर झुट बोल्ने चाहिं होइन ।

तपाईंहरु प्रायः बिरामीसँगै लामो समयसम्म रहनुहुन्छ, उनीहरुसँग दुःखसुखको कुरा पनि गर्नुहुन्छ ?

त्यो पक्कै पनि हुन्छ । म विभागीय इन्चार्ज भएकाले अरु काममा धेरै व्यस्त हुने गर्छु । तर, जो बिरामीको हेरचाहका लागि खटिनुभएका नर्सहरु हुनुहुन्छ, उहाँहरुले त पूरा समय बिरामीकै लागि बिताउनुहुन्छ । स्याहार गर्ने मान्छे भएपछि बिरामीले पनि सुखदुःखको कुरा सुनाउनुहुन्छ, हामीले पनि सुन्नैपर्छ ।

बिरामीलाई भेट्न साथीभाइ, आफन्त आउँछन् र प्रायः रोगको बारेमा सोधपुछ गर्छन् । यस्तो व्यवहार कति उचित लाग्छ ?

यो हामीलाई उचित लागे पनि नलागे पनि बिरामी भेट्न आउनेले सोधिरहनुहुन्छ । बिरामी भेट्न आउनेहरुले बिरामीलाई के भयो ? भनेर नजिकै रहेको नर्ससँग नै सोध्नु स्वाभाविक पनि हो । तर हामीले पनि सबैलाई बिरामीको यथार्थ अवस्था बताउँदैनौं । हाम्रो पनि प्रोटोकल हुन्छ । सोधेको सबै प्रश्नको उत्तर दिन हामीलाई पनि अनुमति हुँदैन ।

बिरामीको आफन्तले तोकिएको समयमा चिकित्सकसँग भेटेर बिरामीको अवस्थाबारे जानकारी लिन सक्छन् । सामान्य उत्तर दिनेबाहेक हामीले बिरामी भेट्न आउनेलाई सबै कुरा भन्दैनौं ।

अस्पतालमा अलि गरिब, निमुखा बिरामीहरुलाई त्यति धेरै वास्ता गरिँदैन भन्छन् नि । यस्तो पनि हुन्छ ?

त्यो हुँदैन । किनभने हामी त्यो ठाउँमा बसेर बिरामीलाई व्यवहार गर्ने नर्सहरुलाई को धनी र को निमुखा भन्ने थाहा हुँदैन । धनीले तिर्ने पैसा नि त्यही हो र एउटा निमुखाले पनि त्यो अस्पतालमा गएपछि तिर्ने पैसा त्यही हो । धनीसँग र गरिबसँग जस्तो व्यवहार गरे पनि हामीले पाउने पारिश्रमिक त एउटै हो । अस्पतालले लिने शुल्क पनि एउटै हो । त्यसैले यहाँले भनेजस्तो व्यवहार फरक हुन्छ भन्ने कुरामा सत्यता छैन । त्यो सरकारी अस्पतालहरुमा होला म भन्न सक्दिन । तर हाम्रो अस्पतालमा त्यस्तो हुँदैन । कहिलेकाहीं धेरै प्रेसरमा काम गर्दा धेरै वास्ता गर्न नभ्याएको हुन सक्छ । तर वर्गीय हिसाबले विभेद गर्ने कुरामा सत्यता छैन ।

डा. उपेन्द्र देवकोटाले नै एउटा अन्तर्वार्तामा भन्नुभएको थियो, कुनै पनि व्यक्ति स्वस्थ हुनका लागि चारवटा कुरा जरुरी हुन्छ । एक शारीरिक, दोस्रो मानसिक, तेस्रो आत्मिक, चौथो सामाजिक । तर, चिकित्सा विज्ञानले शारीरिक र मानसिक रोगको मात्र उपचार गर्छ । उनीहरुको भावनात्मक र सामाजिक पक्षलाई खासै महत्व दिइँदैन नि किन ?

पहिलो त भावनात्मक समस्या वा भावनात्मक पक्ष आफैंमा रोग होइन । यो सामाजिक विषय हो । यसलाई उपचार नै भनेर गर्नुपर्ने त केही हुँदैन । तर पनि यो मान्छेको लागि चाहिने कुरा भने पक्कै हो । हामीले गर्ने मीठो व्यवहार नै यो भावनात्मक पक्षको समस्या समाधान गर्ने उपाय हो । त्यसैले हामीले भावनात्मक पक्षलाई पनि महत्व नदिने चाहिँ होइन । चिकित्सा विज्ञानले शारीरिक र मानसिक रोगको उपचार गरे पनि हामीले मीठो व्यवहारबाट भावनात्मक सम्बन्धको उपचार गर्ने गर्छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?