रत्नपार्कको सडकपेटीमा उभिएर बस कुर्दै थिएँ । नजिकै दृष्टिविहीन दाइले माइकमा गीत गाउँदै हुनुहुन्थ्यो । त्यो उहाँको जीविकोपार्जनको माध्यम थियो । सडकमा ओहोरदोहोर गर्ने हजारौं पाइलाले उहाँलाई देखेर पनि नदेखेझैं गरी अघि बढे । लाग्यो, दृष्टिविहीन त हामी बाँचिरहेको समाज रहेछ, हुर्किरहेको शहर रहेछ ।
मलाई थाहा छ- समय गतिशील छ, र त्योभन्दा गतिशील छ हाम्रो शहरिया जीवन पद्धति । हामी सब हतारमा छौं तर केको हतारमा शायद कम मान्छेलाई मात्र थाहा होला !
घर आएर सोचें, के अपाङ्गता भएका व्यक्तिहरूको समाजलाई साँच्चै आवश्यकता छैन ? के उनीहरू सडककै सहारा लिएर आफ्नो जीवन अघि बढाउन बाध्य भइरहने हो । मैले त्यो सडकको पीडालाई नजिकबाट बाँचेको छैन तर एउटा अपाङ्गता भएको व्यक्तिले भोग्नुपर्ने हरेक समस्या घरबाहिर निस्कँदा भोगेको छु । विभेद भोगेर पिल्सिएको छु ।
हाम्रो जस्तो विकासोन्मुख देशमा वित्तीय साक्षरता ज्यादै न्यून छ । अपाङ्गता क्षेत्रमा वित्तीय साक्षरता अझ कमजोर छ । यसो भन्दा पनि हुन्छ- यस क्षेत्रमा वित्तीय साक्षरता छँदै छैन । जबसम्म हामीले वित्तीय साक्षर बनाउन सक्दैनौं, कुनै पनि क्षेत्रको विकास हुन सक्दैन । कुनै पनि अर्थतन्त्रको जग भनेको नै वित्तीय साक्षरता नै हो ।
आज आएर आफैंलाई व्यवस्थापन विषय लिएर स्नातकोत्तर (एमबीए) सम्म अध्ययन गरेको अफसोच लाग्दैछ । हुन पनि हाम्रो नेपाली समाजमा अपाङ्गता भएको व्यक्तिलाई पढाइप्रति निरुत्साहित गर्ने प्रवृत्ति अझै पनि चलिरहेकै छ ।
समाजको निरुत्साहनको बाबजूद कसैकसैले पढाइलाई निरन्तरता दिए भने उनीहरूलाई कानून, पत्रकारिता, सामाजिक सेवा, शिक्षातर्फ मात्र प्रोत्साहित गर्ने चलन छ । विज्ञान तथा व्यवस्थापन संकायमा त्यति प्रोत्साहित गरेको पाइँदैन ।
म आफैं एक उदाहरण पात्र हुँ । यहाँ थोरै आफ्नो जिन्दगीमा घटेको घटनाको तीतो अनुभव जोड्न चाहन्छु । एसएलसी पास हुँदा प्रायः सबै विद्यार्थी खुशी अनि उत्साहित हुन्थे । म र मेरो परिवार पनि एसएलसी पास हुँदा जति खुशी भयौं, शायद अरु कोही त्यति खुशी भएनन् होला ।
तर जब कक्षा ११ मा विज्ञान संकायमा अध्ययन गर्ने सपना बोकेर उपत्यकाका प्रायः सबै कलेज चहारें मेरो शारीरिक अपाङ्गता देखेर कुनै कलेजले विज्ञान संकायमा अध्ययन गराउन इच्छुक भएनन् । मेरो विज्ञान संकायमा अध्ययन गरेर उच्च शिक्षा हासिल गर्ने सपना त्यतिबेलै तुहियो । तर, पनि मेरो उच्च शिक्षा हासिल गर्ने सपना मर्न दिएको थिइनँ मैले ।
संयोगले गोल्डेन गेट कलेज पुगें । त्यहाँ प्रिन्सिपल प्रोफेसर भद्र पोखरेल साथै कलेज प्रशासनको उचित सल्लाह सुझाव अनुसार कम्प्युटर साइन्स लिएर व्यवस्थापन संकायमा कक्षा १२ सम्म अध्ययन गर्न पाएँ ।
मेरो उच्च शिक्षा हासिल गर्ने सपनामा कालो बादल फेरि मडारिन थाल्यो। कक्षा १२ सकेर बीबीए अध्ययनको लागि इन्ट्रान्स (सीम्याट) दिएर नेपाल कमर्स क्याम्पस अनि शंकरदेव क्याम्पसको मेरिट लिस्टमा आफूलाई तेस्रो अनि सोह्रौंमा उभ्याएँ ।
त्यसपछि मलाई मानसिक रूपमा प्रताडित गर्दै मलाई अध्ययन गर्न नदिने वातावरण सिर्जना गर्न थालियो दुवै क्याम्पसमा । यस्तो वातावरण सिर्जना भएपछि हिम्मतका साथ त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको डीन कार्यालयमा स्वतन्त्र विद्यार्थी युनियनका दाइहरूलाई लिएर जान बाध्य भएँ ।
डीन कार्यालय गएर छलफल गरिसकेपछि शंकरदेवमा बीबीए अध्ययन गर्ने वातावरण मिल्यो । यो वातावरण मिलाइदिनेमा तत्कालीन व्यवस्थापन संकायको डीन देवराज अधिकारी सर, जेकेन्द्र श्रेष्ठ दाइ अनि शंकरदेव स्ववियु सभापति शुभराम बस्नेत दाइको मुख्य हात छ ।
अपांगमैत्री वातावरण नहुँदा पनि जसोतसो राम्रै अंकका साथ विशिष्ट क्षेणीमा उत्तीर्ण गरें । बीबीए उत्तीर्ण गरिसकेपछि एमबीए अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयमा बुझ्दा त्यहाँ प्रोफेसरहरू सकारात्मक नहुँदा अनि अपांगमैत्री वातावरण नहुँदा मलाई फेरि निरुत्साहित गरियो । त्यसबेला मैले आफ्नो फेसबुक स्टाटस मार्फत कतै सहयोगी हातहरू भेटिन्छन् कि भनेर अपिल गरेको थिएँ ।
त्यसैक्रममा मैले किंग्स कलेजमा अपांगमैत्री वातावरण छ भन्ने सूचना पाएपछि त्यहाँ पुगें । हो, साँच्चै मैले अपांगमैत्री वातावरण भेटें, र अन्य क्याम्पसहरूमा जस्तो अपाङ्गता भएको व्यक्तिलाई हेर्ने नकारात्मक दृष्टिकोण पाइनँ । अनि भोलिपल्टै भर्नाको प्रक्रिया इन्ट्रान्स, अन्तर्वार्ता पूरा गरी भर्ना पश्चात अध्ययन थालें । हिम्मत अनि साहस भयो भने मान्छेले जस्तो अप्ठ्यारो काम पनि सहज ढंगबाट गर्न सक्छ भनेझैं सन् २०२१ मार्चमा सफलतापूर्वक विशिष्ट क्षेणीमा एमबीए उत्तीर्ण गरिसकें ।
यी पङ्क्ति लेख्नुको अर्थ मेरो शैक्षिक योग्यता देखाउनु होइन । अपाङ्गता भएका व्यक्तिहरूले सामना गर्नुपर्ने विभेद अनि कठिन मोडहरूको चित्रण गर्नु हो । हामी दुईचार अक्षर चिनेकोलाई त यति धेरै अप्ठ्यारा पहाडहरू जिन्दगीको यात्रामा समाजले ठड्याइदिन्छ भने दूरदराजमा अपाङ्गता जीवन बिताइरहेका व्यक्तिहरूको अवस्था कति दयनीय छ भनेर कल्पना समेत गर्न गाह्रो हुन्छ ।
हामी अपाङ्गता भएको व्यक्तिहरूलाई साधारण जीवनयापनदेखि पढाइ, जागिर अनि सम्बन्ध गाँस्न सबैमा उत्तिकै चुनौतीका पहाडहरू ठड्याइएका छन् । शैक्षिक योग्यता हुँदाहुँदै पनि हामी अपाङ्गता भएको व्यक्तिले कुनै पनि निकाय/संस्थामा रोजगारीका लागि आवेदन दिंदा शुरुमै ‘अयोग्य’ घोषित गरिन्छ । हुन त प्रायः संस्थाहरू ‘अपाङ्गता भएका व्यक्तिलाई उच्च रूपमा प्रोत्साहन गरिन्छ भनेर त लेखिएको भेटिए पनि तर यो कुरा भने कागजमै सीमित छ । मैले पनि कति धेरै ठाउँमा आवेदन दिएँ होला । तर शारीरिक रूपमा अपाङ्गता भएको कारण शुरुमै ‘अयोग्य’ ठहर गरियो ।
हाम्रो अधिकारको निम्ति लड्ने संगठन नभएको पनि होइन । तर के गर्नु त्यहाँ पनि पार्टीको झन्डा बोकेर बस्ने मात्र छन् । मैले बीबीएमा अध्ययन गर्न नपाउने अवस्था सिर्जना हुँदा धेरैचोटि बाबालाई लिएर ‘राष्ट्रिय अपांग महासंघ’ धाएको थिएँ। तर कहिल्यै पनि मेरो लागि वकालत गर्न गएनन्, महासंघ प्रतिनिधिहरू ।
अब सोच्नुस्- अपाङ्गता हितको लागि काम गर्छ कि राजनीतिक स्वार्थको लागि । महासंघको चुनाव हुने बेला राजनीतिक पार्टीको झन्डा बोकेर चुनाव प्रचारप्रसार हुन्छ । मैले पनि अफिसरको लागि ‘राष्ट्रिय अपांग महासंघ’ आवेदन नदिएको होइन । तर त्यहाँ पनि पार्टीगत सिफारिश नहुँदा रोजगारीका अवसर पाइएन ।
आजकल विभिन्न वित्तीय संस्था, गैरसरकारी संस्था लगायत अन्य थुप्रै संस्थाहरू सीएसआरको शीर्षकमा बाल आश्रम, वृद्धाश्रम, अपाङ्गता भएको व्यक्तिहरूलाई राखिने आश्रमहरूमा गएर दुई चार हजारको खानेकुरा, लगाउने लुगा बाँडेर सामाजिक सेवा गरेको प्रचारबाजी गरिरहेका छन् । के यतिले मात्र संगठित सामाजिक दायित्व पूरा हुन्छ त संस्थाहरूको ? वास्तवमा हाम्रो सीएसआरको बुझाइ नै कमजोर छ ।
शिक्षा त पूरा भयो, तर आज रोजगारीका लागि उत्तिकै संघर्ष गर्न बाध्य छु । योग्यता हुँदाहुँदै बैंकहरूमा रोजगारी पाइएको छैन । के बैंकिङ क्षेत्रमा अपाङ्गता भएको व्यक्तिलाई अवसर छैन न त ? के अपाङ्गता भएका व्यक्ति साँच्चिकै बैंकिङ क्षेत्रमा सेवा गर्न अयोग्य नै हुन् त ? कतिन्जेल अपाङ्गता भएको व्यक्तिलाई मागिखाने मात्र बनाउने ? कहिलेसम्म अपाङ्गता भएका व्यक्तिहरूमा वित्तीय साक्षर हुन्छन् अनि बनाउन सकिन्छन् त ? कहिलेसम्म अपाङ्गता भएको व्यक्तिहरूको पनि
वित्तीय क्षेत्रमा प्रतिनिधित्व देख्न पाइएला ?
यस विषयमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बीमा समिति, नेपाल बैंकर्स एसोसिएसन, बैंकहरू, अनि अपाङ्गता भएको व्यक्तिहरूको हक-अधिकारको निम्ति लड्ने छाता संगठन ‘राष्ट्रिय अपांग महासंघ’ ले गम्भीरता साथ अध्ययन गरेर नीति निर्माण गरी कार्यान्वयन गर्न अत्यन्त जरुरी छ ।
विश्वप्रसिद्ध भौतिकशास्त्री स्टिफेन विलियम हकिङको एउटा भनाइले यी बेथितिहरूबीच पनि मलाई ऊर्जावान राखिरहेछ । ‘मेरो सल्लाह अरु डिसेबल्ड मानिसहरूलाई के हुनेछ भने, यस्ता सवालहरूमा आफ्नो ध्यान केन्द्रित गर्नुहोस्, जसलाई तपाईंको अक्षमताले रोक्दैन, जुन कामलाई तपाईंले राम्रोसँग गर्न सक्नुहुन्छ र तपाईंको शारीरिक अक्षमताले हस्तक्षेप गर्ने चिज या कार्यहरूप्रति पश्चात्ताप नगर्नुहोस् । तपाईं आत्माबाट अक्षम हुनुहुँदैन न त शरीरबाट नै ।’
(कार्की साहित्य लेखनमा पनि सक्रिय छन् ।)
प्रतिक्रिया 4