
१८ मंसिर, काठमाडौं । कोरोनाताका ठमेल बजार सुनसान हुँदा पनि सडकछेउको उनको पसल कहिल्यै बन्द भएन । अहिले चहलपहल विस्तारै बढ्न थालेसँगै उनको व्यस्तता पनि आकाशिएको छ । त्यसैले छोराछोरीहरू पनि साविला खातुनसँगै पसलमै बस्छन् । ठमेलको सडकमै पसल थापेर साविलाले जिन्दगी चलाउन थालेको ३० वर्ष भयो । यो ३० वर्षमा मुलुकमा दुई ठूला राजनीतिक परिवर्तन भए । जनताले पञ्चायत फालेर बहुदल ल्याए, राजा फालेर गणतन्त्र । नजाने; ठमेल बजारमै के–के परिवर्तन भयो, उनको जिन्दगीमै कति उतारचढाव आए । तर आफ्नै कोखबाट जन्मिएका सन्तान अनागरिक भइरहनुको पीडाले साविलालाई पछ्याउन भने कहिल्यै छोडेन ।
५० वर्ष पुग्नै लागेकी खातुन, सर्लाहीबाट काठमाडौं आउँदा झण्डै २० वर्षकी थिइन् । काठमाडौं टेक्ने वित्तिकै दुःखजिलो गरेर जीवन गुजार्न थालेकाले उनलाई एक छाक खान र एकसरो लगाउन अरू कसैको भर पर्नु परेन । सन्तानको पढाइखर्च त्यही चोकछेउको सानो घुम्ती पसलबाटै धानिन्, अहिले पनि आम्दानीको स्रोत पसल मात्रै हो । यसमा उनलाई कुनै दुःखेसो पनि छैन । तर आफैंले यसरी दुःखसुख हुर्काएका सन्तानको नागरिकता आफ्नै नामबाट नबन्दा भने साविलालाई सारै नै नराम्रो लाग्छ । त्यसैले हर साँझ पसलबाट घर फर्किंदा दिनभरिको उज्यालो उनको अनुहारमा पनि ‘गोधूलि’ देखिन्छ, मन झन् अँध्यारो हुन्छ ।
‘मैले सक्नेजति त जसोतसो गरें, अब सरकारले दिनुपर्ने नागरिकता नदिएर छोराहरूले दुःख पाउने भए, यिनीहरूको भविष्य सम्झिंदा ढुंगाले छाती थिचे झैं हुन्छ’ साविलाले भनिन्, ‘रातभरि मनमा कुरा खेल्छ, निद्रा नै लाग्दैन ।’ २०६३ मा राज्यले उनी र उनका श्रीमान्लाई नागरिकता दियो । त्यतिखेर साविलाका श्रीमान्ले जन्मको आधारमा नागरिकता लिए, उनले आफ्नो बुवाको नामबाट वंशजको नागरिकता पाइन् ।
साविलाका पाँच सन्तानमध्ये एक छोरा र एक छोरीले वंशजको आधारमा नागरिकता पाइसकेका छन् । ३३ वर्षे छोरी अन्जुले २०६५ सालमा, २७ वर्षका छोरा एजाजले २०७० सालमा बुवाको नामबाट नागरिकता पाइसकेका छन् तर तिनै सन्तानमध्ये मिराज, रियान र सोफराजले भने नागरिकता पाएका छैनन् । मिराज एक वर्ष अगाडि मात्र माइक्रो बायोलोजीमा स्नातक सकेर घर आएका हुन् । मिराजले पाएको दुःखको आफ्नै कहानी छ । उनलाई एमबीबीएस पढ्न मन थियो तर पढ्न पर्यो बीएस्सी । सरकारी कोटामा डाक्टर आवश्यक पर्ने थेरै थोकमध्ये उनीसित केवल नागरिकता थिएन । ‘कक्षा १२ पछि एमबीबीएसको दुई महीना तयारी पनि गरेको थिएँ, नागरिकता माग्यो त्यसपछि उनको सपनाको पूर्णविराम लाग्यो ।
‘पढ्ने रुचि हुँदाहुँदै पनि पढ्न सकिनँ घरको पैसाले पढ्न सक्ने अवस्था छैन, छात्रवृत्तिमा पढौं भने नागरिकताले नै रोक्यो’ उनी भन्छन्, ‘आमाले आफ्ना चिनजानका मान्छेसँग भनसुन गरेर मलाई भारत पठाउनुभयो ।’ तर पढेर आएपछि पनि नागरिकताकै कारण फेरि जागिर पाउन सकस भएको उनले बताए । आमाबुवा नेपालकै नागरिक, दाइ र दिदीले पनि नागरिकता पाइसक्दा राज्यले आफूमाथि गरेको अन्यायले मानसिक तनाव धेरै हुने गरेको उनी बताउँछन् । ‘भविष्य सम्झेर पीडा हुन्छ’ उनले भने, ‘साथीहरूले मज्जाले काम गरेका छन्, थप अध्ययनका लागि विदेश गइसके आफ्नो समय यत्तिकै बितिरहेको छ ।’ मिराज नजिकैको पसलमा टाइपिङको काम गर्छन् । मिराजसँगै उनको भाइ रियानको पनि समस्या उस्तै छ । उमेरले २३ वर्ष पुगिसकेका रियान आफ्ना हरेक यात्रामा नागरिकता नै तगारो बनेर आएको बताउँछन् ।
मिराज र रियान नागरिकता बन्ने आशामा सर्लाही गइरहन्छन् । उनको घर सर्लाहीको चक्रघट्टा नगरपालिका वडा नम्बर ४ हो । उनी र उनका भाइहरूले वडाको सिफारिश लिएर प्रशासनमा जाँदा सिडियोले फाइल सधैं फालिदिने गरेको मिराज बताउँछन् । ‘दाइ र दिदीको बुवाको नामबाटै नागरिकता बन्ने तर हामी त्यही बुवाको सन्तान भएर पनि नपाउने योभन्दा ठूलो अन्याय अरू के हुन्छ र ?’ मिराज भन्छन् ।
‘बुवाले जन्मको आधारमा र आमाले वंशजको आधारमा २०६३ साल चैत २८ मा नागरिकता बनाउनुभएको प्रमाण छ’ मिराजले भने, ‘दाइ र दिदीको पनि बनेको छ, नेपालमै जन्मिएर युवा भइसक्दा पनि नागरिकता नपाउँदा देश नै मेरो हैन कि भन्ने अनुभूति हुन्छ ।’
यही देशमै जन्मिएर यहीं हुर्किएको, यहींबाट पढेको हुँदा आफूले नागरिकता पाउनको लागि राज्यले कन्जुस्याइँ गर्न नहुने उनको भनाइ छ । ‘डाक्टर बन्छु भन्ने छोरो सडक फुटपाथमा चिया बेच्दै हिंड्दा छाती भक्कानिन्छ’ मिराजकी आमा साविलाले भनिन् ।
‘साहिंलो छोरो विदेश जाने भनेर बसेको छ तर उपाय नभएर मलाई सघाएर बस्छ कान्छोको पनि हालत त्यही हो । २० वर्षको भइसकेको छ उसले सपना देख्न छोडिसकेको बताउँछ’ साविला भन्छिन्, ‘मिराजले दोस्रो लहरको कोरोनाका समयमा टेकु अस्पातलमा तीन महीना काम सिक्यो काम गर्न खोज्दा नागरिकताका कारण रोकिनुपर्यो ।’
संविधानमा जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ भनेर व्यवस्था भएकाले आफूले नागरिकता पाउन योग्य भएको उनले बताए । प्रक्रिया लामो भए पनि आफूले आफ्नो अधिकार लिएर छाड्ने मिराज बताउँछन् ।
२०७२ सालको संविधान अनुुुसार नागरिकता सम्बन्धी ऐन २०६३, संशोधन गर्न नसकेको कारण संविधान अनुसार नागरिक भए पनि कानून बन्न नसकेको कारणले नागरिकताबाट वञ्चित हुनुपरेको अधिवक्ता सविन श्रेष्ठ बताउँछन् । नागरिकता सम्बन्धी विधेयक संसदमा विचाराधीन रहेको र आमाको मात्रै नागरिकतालाई राज्यले प्रमाण नमान्ने समस्या भएको अधिवक्ता श्रेष्ठले बताए । ‘गृह मन्त्रालयले जन्मसिद्ध बाबु र वंशज आमाको हकमा परिपत्र जारी गरेको थियो यस विरुद्ध अदालतमा मुद्दा हालेका कारण कानून नबनाई जन्मसिद्धको आधारमा नागरिकता दिन अन्तरिम आदेशले रोकेको छ’, उनले भने ।
तस्वीरहरु : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4