
२४ मंसिर, काठमाडौं । दोस्रो विश्वयुद्धमा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा अणुबम हान्दा दुबै शहर ध्वस्त भए, जनजीवन तहसनहस भयो । तर शहरको केन्द्रमै रहेको एउटा विरुवामा खास असर परेन, विरुवा हुर्किरह्यो, बलियो बन्यो र लामो समयसम्म बाँच्यो । वैज्ञानिक खोजहरुका अनुसार तीन हजार बर्षसम्म बाँच्ने जिन्को वाइलोवा नामको यही बिरुवा रोपेर नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकीकरणको उद्घाटन गरेका थिए ।
०७५ जेठ ३ गते प्रधानमन्त्री निवास बालुवाटारमा जिन्को सार्दै गर्दा कम्युनिष्ट पार्टीको आकार बढेर झण्डै दुईतिहाइ नजिक पुगेको थियो, नेताहरुको कल्पना नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)माथि आइलाग्ने क्षेप्यास्त्रहरुबाट जोगाएर अजम्बरी दल बनाउने थियो । अहिले जिन्को हुर्किरहेको बालुवाटारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीका रुपमा आसिन छन्, जस्तोसुकै खतराबाट पनि कम्युनिष्टलाई जोगाइन्छ भन्दै जिन्को सारेका नेताहरु तहसनहस ।
अरुको आक्रमणबाट जोगिन्छौं भन्दाभन्दै आफ्नै अन्तरकलहले टुक्रिएको हो नेकपा । हुनसक्छ, देउवाले बालुवाटारमै बसेर कांग्रेसको आकार हुर्किएको जिन्कोझैं फराकिलो बनाउने सोचिरहेका छन् । उनले कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन समरोहलाई समापन गर्दै यही सन्देशसहितको स्पष्ट अभिव्यक्ति दिए । ‘कांग्रेसको सरकार रहिरह्यो भने स्थानीय सरकार कांग्रेसको हुनेछ, राष्ट्रिय सरकार पनि कांग्रेसको हुनेछ,’ देउवाले भने ।
तर कम्युनिष्टहरुका निमित्त परिस्थिति अहिले कतिसम्म डामाडोल छ भने, एकमना एकताको दुहाइ दिने तत्कालीन नेकपाका शीर्ष नेताहरु एकै ठाउँमा जुट्नसमेत अरु कसैको मञ्च पर्खिनुपर्यो, कांग्रेसले नै तादम्यता मिलाउनुपर्यो, कांग्रेसले नै निम्तोपत्र पठाउनुपर्यो । त्यही कांग्रेसको मञ्चमा उभिएर कम्युनिष्ट नेताहरुले आफ्नै अक्षमताको व्याख्या गर्न भने छोडेनन् । उनीहरुको व्यवहार, हाउभाउ र अभिव्यक्ति आफैंप्रति लक्षित थियो, कांग्रेसको महाधिवेशन माध्यम भने बन्यो ।
आफैंले हुर्काएको पार्टी नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष भएका माधवकुमार नेपाल एमालेको १० औं महाधिवेशनमा निम्त्याइएका थिएनन् ।
राप्रपाले गरेको एकताको महाधिवेशनमा नेपाल जाने भएपछि ओलीले नजाने निधो गरे । उक्त सभाबाट नेपाल फर्किसकेपछि मात्रै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पुगे । जबकी एमालेको महाधिवेशनमा चितवनमै पुगेर राप्रपाका तत्कालीन अध्यक्ष कमल थापाले भाषण गर्दा एमाले कार्यकर्ताले समर्थनमा हुटिङ गरेका थिए ।
माधव नेपालको पार्टीलाई पार्टी नै नमानेका ओलीले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवा महत्वका साथ चितवन पुगेको गुण बिर्सिन सकेनन्, कांग्रेस महाधिवेशनमा बोलाइएका पाहुनामध्ये सबैभन्दा ढिलै भए पनि पुगे, देउवाको बायाँपट्टी बसे । तर पूर्व सहयात्रीहरूलाई घोचपेच गर्न न ओलीले छोडे, न ओलीलाई चिढ्याउन प्रचण्ड र नेपालले ।
‘पार्टी ठूलो भएपछि मनोगतवाद, अहंकार र कुनै न कुनै दम्भ आउने र जनतासँगको सम्बन्ध कमजोर हुने तीतो अनुभव मैले गरेको छु’ प्रचण्डले भने । प्रचण्डले यो ओलीलाई नै इंगित गरेर भनेका थिए । उसो त उनको संकेत कांग्रेसतर्फ पनि थियो । सत्ता गठबन्धन चुनावसम्म नजान पनि सक्छ भन्ने कांग्रेनजनको भनाइप्रति संकेत गर्दै प्रचण्डले भने, ‘अहिले हामीले जे सफलता भनेका छौं, त्यो एकता, गठबन्धनबाट प्राप्त भएको सफलता हो । एक्लै हिँड्ने अंहकार जसले पाल्यो, त्यसको ओरालो यात्रा शुरु भएको छ ।’
प्रचण्डले कांग्रेसको मञ्चमा उभिएर उसले गठबन्धन नतोडोस् भन्दै गर्दा उही वामपन्थी विरासत बोकेका कम्युनिष्ट तितरबितर भएको हेक्का राखेकै होलान्, जुन ख्याल ओलीले पनि गरेका थिए । त्यसैले सम्बोधनको सुरुवातमै ओलीले भने, ‘मैले मेरो राजनीति आफ्नै मञ्चमा गर्न पाउँछु, अरुको मञ्च प्रयोग गर्न जरुरी छैन ।’
ओलीको यही अभिव्यक्ति नै उनको राजनीति हो भन्नेमा ओली स्वयं स्पष्टै छन् । किनभने गठबन्धन टुट्ला र अप्ठ्यारो पर्ला भन्ने पिर प्रचण्ड र माधव नेपालहरुको हो, देउवा र ओलीहरुको होइन । ‘केही साना दलहरुलाई कांग्रेसले औंलो समाउन दिएन भने के हुन्छ भन्ने पिर छ,’ ओलीले भने, ‘सँगै जानुपर्छ भनेको सरकारमा मात्र हो कि देश बनाउन पनि हो ?’
पार्टी फुटे पनि एमाले अहिले संसदको सबैभन्दा ठूलो दल हो । एमालेका अध्यक्षको आँखाबाट हेर्दा टुक्रिएको एकीकृत समाजवादी र छुट्टिएको माओवादी केन्द्र सानो देखिनु सम्भवतः अस्वाभाविक होइन । त्यसमाथि नेताहरुले एक अर्कालाई उछित्तो काढ्ने मौसम छ, दलहरु चुनावी दौडाहामा लागिसकेका छन् । तर पाहुना लाग्न गएर आपसमा बाझाबाझ गर्दा घाटा कम्युनिष्टहरुलाई नै लाग्ने हो, कांग्रेस त यसै पनि उत्सवमा छ, महोत्सवमा छ ।
त्यसैले मञ्चमा उद्घाटन भाषण चलिरहँदा कांग्रेसका उम्मेदवारहरु समूहसमूहमा बाँडिएर निष्फिक्री चुनावी प्रचार प्रसार गरिरहे । अरु पार्टीका नेताहरुले के भन्छन् भन्ने चासो कांग्रेसका प्रतिनिधिहरुलाई रत्तिभर पनि थिएन ।
मुलुकको पुरानो लोकतान्त्रिक दल कांग्रेसले ०७४ को प्रतिनिधिसभा चुनावमा प्रत्यक्षतर्फ २३ सिटमात्रै जित्दा चुनावी तालमेल गरेका एमाले र माओवादीले ११६ ठाउँमा बाजी मारेका थिए । उनीहरुकै अन्तरकलहका कारण अरु ५० वर्ष कम्युनिष्टलाई कसैले भेट्न सक्दैन भन्ने अभिव्यक्तिको आयु २ वर्षको पनि भएन ।
नेकपा छिन्नभिन्न भएपछि सत्ताको साँचो अनपेक्षित रुपमा कांग्रेसको हातमा पर्यो । त्यसैले सत्तारुढ दल भएर कांग्रेसले आफ्नो १४ औं महाधिवेशन भब्यताका साथ सम्पन्न गर्ने अवसर पायो, फेरि सत्तामा गएर देखाउँछौं भन्न हिचकिचाउनै परेन । सायद यही कारण हुनुपर्छ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पोडियममा उक्लिदा कांग्रेसका कार्यकर्ताहरुले ताली बजाएर स्वागत गरे ।
त्यो स्वागतले नेपाल पनि पुलकित भए, कांग्रेसलाई केही भनेनन् । बरु राप्रपालाई चेतावनी दिए, ओलीमाथि प्रश्न उठाए । ‘राज्यसत्ता र पार्टीभित्र विकृति छ, भ्रष्टाचार, सत्ताको दुरुपयोग गर्ने र मैमत्त गर्ने प्रवृत्तिबाट, लोकतन्त्रको मूल्यमान्यतालाई कुल्चने प्रवृत्तिबाट, अरुको सम्मान नगर्ने प्रवृत्तिबाट अरुको मर्यादा नगर्ने प्रवृत्तिबाट ।’
गत साउन ३ गते प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा यिनै नेपालको भरथेग थियो । फलस्वरुप नेपालको पार्टी एमाले फुट्यो, देउवा बलियो बने । शुक्रबार परिस्थिति कस्तो बन्यो भने, पूर्व सहकर्मीहरु एकै ठाउँमा बस्न नसक्ने देखिएपछि कांग्रेस नेताहरुले एमाले अध्यक्ष ओली देउवाको बायाँतिर प्रचण्ड र नेपाल दायाँतिर राख्ने गरी कुर्सीको व्यवस्थापन गरे । यसो गर्दैगर्दा देउवा केन्द्रमा परे, केन्द्रमा हुनु भनेको जता अनुकुल हुन्छ, त्यतै ढल्किने अवसर पर्खिनु पनि हो ।
प्रतिक्रिया 4