
९ पुस, काठमाडौं । मन्त्रिमण्डल विस्तार गरेर १८ सदस्यीय बनाएका वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिमण्डल विस्तारको औचित्य पुष्टि हुनेगरी एक डेढ महिनामा नै काम गरेर देखाउने बताएका छन् । शुक्रबार मात्रै प्रदेशमा ६ जना मन्त्री थपेका पाण्डेले अनलाइनखबरलाई प्रतिक्रिया दिंदै यस्तो बताएका हुन् ।
‘अहिले हेर्दा मन्त्रालयको संख्या धेरै भएजस्तो लाग्न सक्छ,’ पाण्डेले भने, ‘म तपाईंलाई एक डेढ महिनाभित्र मन्त्रालय बढाएको पुष्टि हुनेगरी काम गरेर देखाउँछु ।’
उनले संविधान अनुसार वागमती प्रदेशमा २२ जनासम्म मन्त्रीहरु बनाउन सकिने भएता पनि अब मन्त्रीपरिषद् विस्तार नहुने पनि बताए ।
‘अब अरु मन्त्रालय बढ्दैनन । संविधानअनुसार २२ वटासम्म मन्त्रालय बनाउन पाइन्छ तर यो अन्तिम हो,’ पाण्डेले भने, ‘यसपाली हामीले समावेशी ढंगले मन्त्रीमण्डल विस्तार गरेका छौं । चेपाङ समुदायबाट पहिलोपटक मन्त्रिपरिषद्मा प्रतिनिधित्व भएको । दलित आएका छन्, द्धन्दपीडित आएका छन्, चार चारजना महिलाहरु छन् । सकरात्मक पाटो पनि छ नि ।’
मुख्यमन्त्री पाण्डेले प्रदेशदेखि केन्द्रसम्म गठबन्धन जोगाएर जानुपर्ने भएकाले मन्त्रिमण्डल विस्तारको वाध्यात्मक परिस्थिति आइलागेको पनि बताए । अहिले प्रदेशमा गठबन्धन सरकार रहेको छ र त्यसमा एकीकृत समाजवादी सानो शक्ति भएकाले पनि सबै कुरा आफैले सोचे अनुसार नहुने मुख्यमन्त्री पाण्डेको भनाइ थियो ।
‘गठबन्धनको सरकार छ, गठबन्धनमा तीनवटा शक्तिमध्ये हामी अलि सानो छौं,’ पाण्डेले भने, ‘मिलेर नै जानु पर्यो, प्रदेशदेखि केन्द्रसम्मको गठबन्धन जोगाएरै जानु पर्यो।’
प्रतिक्रिया 4