
१२ पुस, काठमाडौं । कोरियाले ईपीएस प्रणालीमार्फत भाषा परीक्षा पास गरेका नेपाली श्रमिकलाई पनि लैजान शुरु गरेको छ । गत कात्तिकदेखि काम गरेर फर्किएका प्रतिबद्ध कामदार मात्रै लगिरहेको कोरियाले अब भाषा परीक्षा पास गरेर बसेका श्रमिकलाई पनि लैजान थालेको वैदेशिक रोजगार विभाग अन्तरगतको ईपीएस कोरिया शाखाले जनाएको छ ।
दुई वटा उडानमार्फत सयभन्दा बढी श्रमिक नयाँ श्रम भिसामा कोरिया पुगिसकेका छन् । कोरियामा ५ वर्षसम्म एउटै रोजगारदाताकोमा काम गरेर सोही रोजगारदाताकोमा फेरि काम गर्न जाने गरी फर्किएका कामदारलाई ‘प्रतिबद्ध श्रमिक’ र भाषा परीक्षा पास गरेर भिसा र श्रम कारर कुरिरहेकालाई ‘नियमित श्रमिक’ भन्ने गरिन्छ ।
शाखाका निर्देशक सुरेन्द्र राउतका अनुसार नियमित श्रमिक जान नपाएर कोरियाको रोजगारीमा परेको गाँठो फुकेको छ । २०७६ फागुनदेखि कोरियामा श्रमिक जाने क्रम रोकिएको थियो ।
‘सन् २०२२ को जनवरी महिनादेखि कोरियाले प्रत्येक हप्ता श्रमिक लैजाने प्रतिबद्धता गरेको छ,’ उनले भने, ‘सबै अवस्था समान्य रह्यो भने हप्तामा करिब २ सयजना कोरिया जान पाउने छन् ।’
अहिले शाखाले कोरिया गएर फर्किएकाहरु सहभागी गराएर सीभीटी परीक्षा पास गरेकाहरुलाई लिइरहेको छ । १ गतेदेखि चलिरहेको कम्प्युटरमा आधारित भाषा परीक्षामा पास भएकाहरुलाई पनि रोस्टरमा राखिने छ ।
‘पुसको १५ गतेसम्म्म सीभीटी परीक्षा लिइसक्छौं,’ राउत भन्छन्, ‘त्यसपछि श्रमिकलाई नियमत रुपमा कोरिया पठाउन थाल्छौं ।’
कोभिड–१९ शुरु भएपछि पछि नेपाली श्रमिकले पाउने कोरियाको रोजगारीमा अन्योल थियो । २०७६ फागुनको पहिलो सातादेखि नै ईपीएस प्रणालीमार्फत श्रमिकहरु कोरिया जान पाएका थिएनन् ।
अहिले नियमित र प्रतिबद्ध गरेका करिब नौ हजार जना श्रमिक कोरिया जान पाउो आशमा पालो कुरिररहेका छन् ।
कोरियन भाषा परीक्षा पास गर्दैमा कोरिया जान पाइन्छ भन्ने ग्यारेन्टी हुँदैन । प्रतिक्षा सूचीमा नाम चढेर लेबर कन्ट्रयाक्ट आएपछि प्रक्रिया र स्वास्थ्य र चारित्रिक मापदण्ड पूरा गरेर मात्र जान पाइन्छ । अझै पनि प्रतिक्षा सूचीमा रहेका थुप्रै श्रमिकको लेबर कन्ट्रयाक्ट आएको छैन ।
कोरियामा आम्दानी पनि राम्रो हुने भएकाले प्रतिवर्ष करिब एक लाख युवा कोरिया जान भाषा परीक्षाको तयारी गर्छन् । सन् २०२० को लागि भएको भाषा परीक्षा दिएका ९२ हजारमध्ये करिब १२ हजार उत्तीर्ण भएका थिए । त्यसपछि भाषा परीक्षा रोकिएको छ ।
कोरिया सरकारकै निगरानीमा हुने भाषा परीक्षाको नतिजा उसैले प्रकाशित गर्ने भएकाले यसको निष्पक्षतामा नेपाली युवाको विश्वास कायम छ ।
सन् २०२२ को भाषा परीक्षाबारे भने अझै अन्योल छ । ‘पहिला त पालो कुरिरहेका श्रमिकलाई कोरियामा पठाउने कुरा महत्वपूर्ण छ,’ निर्देशक राउत भन्छन्, ‘भाषा परीक्षा सञ्चालनबारे कोरियासँग संवादमा छौं, निर्णयमा पुगेका छैनौं ।’
श्रमिकको हित रक्षाका लागि कोरिया सरकार खाडी मुलुकभन्दा प्रतिबद्ध मानिन्छ । आकर्षक तलब दिनेगरी ४० वर्ष ननाघेका अदक्ष कामदार लैजाने कोरियाले महामारीअघिसम्म प्रतिवर्ष औसत पाँच हजार नेपालीलाई रोजगारी दिइरहेको थियो । कोरियाले कृषि र उत्पादनमुलक (उद्योग) समूहमा कामदार लैजाने गरेको छ ।
प्रतिक्रिया 4