
१३ पुस, जनकपुरधाम । सिरहाका प्रमुख राजनीतिक दलले औरहीमा किसानले गहुँको बीऊ लगेको घटनामा पक्राउ परेकाहरुलाई थुनामुक्त गर्न माग गरेका छन् ।
पुस ६ गते जिल्लाको औरही गाउँपालिकाले भण्डारण गरेको गहुँको बीऊ किसानले लगेका थिए । उक्त घटनामा गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवको जाहेरीले प्रहरीले कारी भन्ने मिथिलेश यादवलाई नियन्त्रणमा लिएको थियो ।
यादव पक्राउ परेको विषयलाई लिएर जनमत पार्टीले मसाल जुलुस, आम हड्ताल चक्काजामजस्ता विरोध प्रदर्शन गरेको थियो । त्यसपछि प्रदर्शनमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले गहुँको बीऊ वितरण गर्ने क्रममा उत्पन्न समस्या वार्ता र संवाद तथा सर्वदलीय सहमति कायम गरी समस्या समाधान गर्नुपर्नेमा कुनै विधि र प्रक्रिया अबलम्बन नगरेको बताएका छन् ।
त्यस्तै जनमत पार्टीले केही कार्यकर्ताको उक्साहटमा बन्द हड्ताल र चक्काजाम घोषणा गर्दै उच्छृङ्खल गतिविधि गरी जिल्लाको शान्ति सुरक्षामा प्रतिकुल असर पारेको उनीहरुको भनाइ छ ।
यद्यपि प्रहरीले घटनामा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिएका सबैलाई थुनामुक्त गरी निषेधाज्ञा फिर्ता लिन पनि दलहरुले माग गरेका छन् ।
कांग्रेसका रामचन्द्र यादव, एमालेका सरोजकुमार यादव, माओवादी केन्द्रका ठकु महतो, एकीकृत समाजवादीका रवीन्द्र साह, जसपाका बिन्दुकुमार मण्डल र लोसपाका सर्वनारायण झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मागलाई सम्बोधन गरी जिल्लाको प्रतिकुल अवस्थालाई सामान्यकरण गर्न प्रशासनसँग सहकार्य र समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’
पछिल्लो समय राजनीतिक नाममा अपराधिक गतिविधि भइरहेकोप्रति समेत ध्यानाकर्षण भएको भन्दै समग्र जिल्लाको शान्ति सुरक्षा कायम राख्न आफूहरु सदैव तत्पर रहेको उनीहरुले विज्ञप्तिमार्फत बताएका छन् ।
प्रतिक्रिया 4