
‘हाम्रो वडामा एउटा हेल्थपोस्ट समेत छैन। कोही बिरामी परे डोकोमा हालेर सदरमुकाम पुर्याउनुपर्छ। यो स्थानीय चुनावमा हाम्रो पार्टीले जित्यो भने सबै माग पूरा हुन्छ।’
उसले आफ्नो पार्टीको घोषणापत्रको प्रत्येक अक्षरांशलाई सप्रसङ्ग व्याख्या गर्यो।
घरमा सिन्को नभाँच्ने फुर्सदिला गाउँलेले उसको भाषण चाख दिएर सुने। उसका वाकपटुताबाट गाउँले प्रभावित भए। उसैको पार्टीलाई भोट हाल्ने प्रतिज्ञा गरे। उसले इमानदार कार्यकर्ताको भूमिका निर्वाह गर्यो।
स्थानीय चुनाव सम्पन्न भयो। उसको पार्टीले प्यानल सहित विजय प्राप्त गर्यो।
हेल्थपोस्ट निर्माणका लागि आफ्नै सानो बारीको टुक्रा बाँझै राख्यो। गाउँलेको हस्ताक्षर सहितको अहेव दरबन्दीको मागपत्र तयार पार्यो। आफ्नै पार्टीबाट वडा अध्यक्ष जितेका प्रतिनिधि समक्ष मागपत्र दायर गर्यो।
माग सुनुवाइको लागि गाउँले सहित पटक-पटक डेलिगेसन गयो। लामो समय बित्यो। तर जनप्रतिनिधिहरुले कानमा कपास हालेर बसिदिए।
बिहान ६ बजेको कायाकैरनले समाचार फुक्यो- ‘कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ जनसमुदायमा तीव्र रूपमा फैलिंदै गएको छ। बजारमा सिटामोलको अभाव देखिएको छ।’
उसले आफ्नो बिरामी श्रीमतीतिर हेर्यो। हेल्थपोस्ट बनाउन बाँझै राखेको बारीतिर आँखा दौडायो र छोरालाई निर्देशन दिंदै भन्यो– ‘जा ! कान्छा गोठबाट डोको लिएर आइज। तेरी आमालाई सदरमुकाम लैजानुपर्यो।’
प्रतिक्रिया 4