गत साता विदेशी विनिमय अपचलनमार्फत करोडौं रुपैयाँको डलर कारोबारमा संलग्न देखिएको भन्दै एक नेपाली पक्राउ परे । नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भई गैरकानूनी मुद्रा आर्जन गरेको अभियोगमा पक्राउ परेका उनलाई बिगो र कैद सजाय मागसहित मुद्दा दायर गरियो।
त्यसलगत्तै नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै क्रिप्टोकरेन्सी लगायत कुनै पनि डिजिटल मुद्रामा लगानी नगर्न सर्वसाधारणलाई जानकारी गरायो । यस्तो कारोबारमा सामेल भए जोकोही कारबाहीको दायरामा आउने राष्ट्र बैंकले चेतावनी समेत दियो । पछिल्लो समय उच्च प्रतिफलको लोभमा यस्तो कारोबार हुने गरेको भन्दै राष्ट्र बैंकले जहाँसुकै बसेर पनि यस्तो कारोबार गर्न नपाइने बताएको छ ।
पछिल्लो यो घटनाक्रमले क्रिप्टोकरेन्सीलाई निषेध गर्ने कि नियमन गर्ने, व्यवस्थित गर्ने कि प्रतिबन्धित गर्ने भनेर बहस सृजना गरेको छ। यो बहससँगै फरक फरक धारणा आउन थालेका छन् । क्रिप्टोकरेन्सीको वैधानिकता र भविष्य सन्दर्भमा धारणा बनाउँदा क्रिप्टोकरेन्सी के हो र यसले प्रयोग गर्ने ब्लकचेन प्रविधि के हो भन्ने बुझ्न आवश्यक छ ।
क्रिप्टोकरेन्सी के हो ?
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा व्यापक रूपमा मौलाएको क्रिप्टोकरेन्सी एक भर्चुअल मुद्रा हो। यसको भौतिक स्वरूप भने देख्न सकिंदैन । संसारमा भएका धेरै क्रिप्टोकरेन्सीहरू ब्लकचेन टेक्नोलोजीमा आधारित विकेन्द्रीकृत नेटवर्कहरू हुन् । कम्प्युटरहरूको भिन्न नेटवर्कद्वारा लागु गरिएको वितरित खाता क्रिप्टोकरेन्सी हो। यो कारोबार सामान्यतया कुनै पनि केन्द्रीय प्राधिकरणद्वारा जारी गरिएको हुँदैन।
हालसम्म यसको कुनै नियामक निकाय समेत छैन र यसको जमानत समेत कसैबाट प्राप्त हुँदैन । हाल दुई पक्षबीच भुक्तानी हुँदा तेस्रो पक्ष बैंक तथा वित्तीय संस्थामार्फत र अन्य वालेटमार्फत भुक्तानी गरिन्छ तर यसमा क्रिप्टो ग्राफिक प्रमाणमा आधारित इलेक्ट्रोनिक भुक्तानी प्रणालीको माध्यमबाट दुई पक्षबीच प्रत्यक्ष लेनदेन गर्न सकिन्छ । यसमा गोपनीयताको लागि पब्लिक र प्राइभेट की प्रयोग गरिएको हुन्छ ।
अहिलेसम्म ब्लकचेनमा आधारित ३५०० भन्दा धेरै प्रकारका क्रिप्टोकरेन्सी विकास भइसकेका छन् । यसलाई बिटक्वाइन, अल्टक्वाइन र टोकन गरी तीनवटा मुख्य अवधारणामा विभाजन गरेर हेर्न सकिन्छ । सबैभन्दा चल्तीका क्रिप्टोकरेन्सीमा बिटक्वाइन, इथेरियम र रिप्पललाई लिन सकिन्छ । बिटक्वाइन एउटा क्रिप्टोकरेन्सी हो भने अल्टक्वाइन त्यसैको वैकल्पिक भर्सन जस्तै हो ।
ब्लकचेन प्रविधि के हो ?
ब्लकचेन प्रविधि भनेको पियर टु पियर (सहकर्मीहरू) बीचको नेटवर्क हो । ब्लकचेनभित्र विभाजित डाटाबेसहरू रहन्छन् । अर्थात् धेरैवटा कम्प्युटरहरूमा डाटाबेस धेरैवटा कपीमा अवस्थित हुन्छन् । र, तिनै कम्प्युटरहरूले पियर टु पियर नेटवर्क सिर्जना गर्दछन् । सन् २००८ को अक्टोबरमा बिटक्वाइनको प्रोपोजलको एक भागको रूपमा यसलाई परिचित गराइयो ।
ब्लकचेनमा डाटाबेस तथा सर्भर सिङ्गल अथवा सेन्ट्रलाइज्ड हुँदैन । बरु ब्लकचेन डाटाबेस मेसिनको नेटवर्कभित्र छरिएर रहेको हुन्छ । त्यस्तै हरेक डाटाबेसले त्यो नेटवर्कमा नोडको भूमिका निर्वाह गर्ने गर्दछन् । ब्लकचेनमा ट्रान्जेक्सन पब्लिक की क्रिप्टोग्राफीको प्रयोगद्वारा डिजिटल्ली साइन गरिएको हुन्छ ।
ब्लकचेन प्रविधिले अहिलेको समयको बिजनेसको सम्पूर्ण इकोसिस्टमलाई नै परिवर्तन गर्नेछ र विस्तारै थर्ड पार्टी सिस्टमको पनि अन्त्य हुनेछ । हकवालाले वस्तुको मूल्यको केही अंश मात्रै प्राप्त गर्छ भने मालिकले भने धेरै मूल्य प्राप्त गर्दछ ।
मानौं एउटा म्युजिसियनले आफ्नो गीत ब्लकचेनको इन्टरनेट मूल्यको आधारित रहेर अनलाइनमा राख्यो भने कसैले उसको गीत सुनेमा, डाउनलोड गरेमा तथा पुनः प्रयोग गरेमा सीधै उसले त्यस बराबरको मूल्य प्राप्त गर्न सक्दछ ।
क्रिप्टोकरेन्सी निषेध गर्ने कि नियमन ?
पछिल्लो समय क्रिप्टोकरेन्सीका सम्बन्धमा व्यापक बहस सुरु भएको छ । एकथरीको तर्कमा यसको कुनै केन्द्रीकृत निकाय नहुने र यसमा समग्र अर्थतन्त्रको इकोसिस्टम नै ध्वस्त हुने गरी लगानी डुब्न सक्ने हुँदा निषेध गरिनुपर्ने धारणा छ भने अर्कोतर्फ प्रविधिले निम्त्याएको आविष्कारलाई निषेध गरेर यसको कारोबार रोक्न नसकिने हुँदा उचित नियमनसहित डिसेन्ट्रलाइज ब्लकचेन वालेटलाई अङ्गीकार गर्नुपर्ने धारणा आइरहेको छ ।
नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीको नियमनको लागि आफूसँग कुनै पनि कानून नभएको जनाएको छ । उसले सीमित पूँजी भएको नेपाल जस्तो देशले यसमा कारोबार गर्दा भविष्यमा सिंगो अर्थतन्त्रलाई नै ध्वस्त पार्न सक्ने आकलन सहित प्रतिबन्धित गरिरहँदा छिमेकी मुलुक भारतमा भने क्रिप्टोकरेन्सी किनबेचलाई दुई वर्षअघि कानूनी मान्यता दिइएको थियो । त्यसअघि आरबीआईले क्रिप्टोकरेन्सीको कारोबारमा प्रतिबन्ध लगाएको थियो।
सन् २०२० मा भारतीय सर्वोच्च अदालतले यो प्रतिबन्ध खारेज गरेपछि क्रिप्टोकरेन्सीले कानूनी मान्यता पाएको हो। त्यति मात्र हैन भारतीय रिजर्भ बैंकले आगामी वर्षभित्र ब्लकचेन टेक्नोलोजीमा डिजिटल करेन्सीको लञ्च गर्ने घोषणा समेत गरेको छ । त्यस्तै क्रिप्टोकरेन्सी कारोबारबाट हुने कमाइमा ३० प्रतिशत कर लगाएको छ ।
अन्त्यमा भन्नुपर्दा क्रिप्टोकरेन्सी सूचनाप्रविधिमा आधारित नयाँ कुरा भएकाले त्यसलाई यसरी पूर्ण रूपमा प्रतिबन्ध लगाउनु उचित नहुने र सम्भव समेत नहुने भएकाले प्रविधि अपनाउँदै त्यसको नियमन गर्ने वातावरण बनाउन आवश्यक छ ।
राज्यले यसलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउनुभन्दा राज्यको हितको निमित्त क्रिप्टोकरेन्सी र ब्लकचेनको सही पक्ष के–के छ त्यसलाई अनुसरण गर्नुपर्ने हुन्छ र गलत पक्ष के छ त्यसलाई नियमन गर्नुपर्ने हुन्छ।
अहिले पनि क्रिप्टोकरेन्सीका नाममा विदेशमा ठूलो रकम गइरहेको सन्दर्भमा त्यसलाई रोक्न र यसबाट उठ्ने राजश्व लिनका लागि सरकारले आवश्यक कानून निर्माण गरी नियमन गर्न आवश्यक छ । त्यसैले ब्लकचेन प्रविधिको लागि आवश्यक कानून बनाएर नियमनसहित प्रविधिलाई स्वीकार्दै जानु नै आजको आवश्यकता हो ।
(लेखक आइटी इन्जिनियरको रूपमा कार्यरत छन् ।)
प्रतिक्रिया 4