
२ फागुन, काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य सात वर्ष यताकै उच्च बिन्दुमा पुगेको छ । रुस र युक्रेनबीच जारी संकटका कारण आपूर्ति अवरुद्ध हुन सक्ने त्रासबीच तेलको मूल्य सात वर्षयताकै उच्च बिन्दुमा पुगेको हो ।
युक्रेनमा हमला गरेको अवस्थामा अमेरिकासहित युरोपेली मुलुकले रुसमाथि प्रतिबन्ध लगाउँदा तेल निर्यात गर्ने प्रमुख राष्ट्रबाट हुने निर्यात अवरुद्ध हुन सक्ने त्रासका कारण तेलको मूल्य सन् २०१४ यताकै उच्च बिन्दुमा पुगेको रोइटर्स समाचार माध्यमले जनाएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १ प्रतिशतभन्दा बढीले वृद्धि भएको समाचारमा उल्लेख छ । ब्रेन्ट नामक कच्चा तेलको मूल्य १.३ प्रतिशतले बढेर प्रति ब्यारेल ९५. ६५ अमेरिकी डलर पुगेको छ ।
त्यस्तै अमेरिकी कच्चा तेल डब्ल्यूटीआईको मूल्य १.४ प्रतिशत वृद्धि भई प्रति ब्यारेल ९४. ३८ डलर पुगेको छ ।
यसअघि ब्रेन्ट क्रुड आयलको मूल्य सन् २०१४ को अक्टोबरमा हालसम्मकै उच्च अर्थात् प्रति ब्यारेल ९६.१६ अमेरिकी डलर र डब्ल्यूटीआईको मूल्य सोही वर्षको सेप्टेम्बरमा प्रति ब्यारेल ९४. ९४ डलर पुगेको थियो ।
युक्रेनमा चाँडै नै हमला गर्क सक्ने अमेरिकाको चेतावनीले अन्तर्राष्ट्रिय बजारमा हलचल मच्चाएको हो । पूर्वी युरोपमा सैन्य तैनाथी जारी रहे ब्रेन्ट क्रुड आयलको मूल्य प्रति ब्यारेल सय डलरमाथि पुग्ने विश्लेषण समेत हुन थालेको छ ।
प्रतिक्रिया 4