
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको धरातलीय यथार्थलाई मनन गर्दै राप्रपा नेपाललाई पुनर्जागृत गर्नुपरेको बताएका छन् ।
सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राष्ट्रिय अखण्डता तथा राष्ट्रियताको जग बलियो बनाउन राप्रपा नेपालले देशव्यापी जनजागरण चलाउने थापाले बताए ।
भातृ संगठनहरूको संयुक्त बैठकलाई आज काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाललाई अन्तराष्ट्रिय शक्तिहरूको रणनीतिक प्रतिस्पर्धाको थलो बनाइने खतरा बढेको र जिम्मेवार भनिएका राजनीतिक दलहरूले उनीहरूलाई सहयोग पुग्नेगरी निर्वाध आमन्त्रण गर्ने परिपाटी बसालेको भन्दै त्यसको अन्त्य गर्न राप्रपा नेपाललाई बलियो शक्ति बनाउनुपर्ने बताए ।
पार्टीलाई ठूलो बनाउने नाममा गणतन्त्र बोकेका लगायतलाई राप्रपामा भित्र्याएपछि पछिल्लो समयमा राजसंस्था पुनर्स्थापना मुद्दालाई मात्र अगाडि सारेर हिन्दुराष्ट्र, सुशासन, विकास जस्ता मान्यतालाई समेत ओझेल पार्ने काम भएकोले राप्रपा नेपाललाई ब्युताउँन वाध्य भएको जानकारी दिँदै अब राप्रपा नेपालले रणनीतिक रुपमा हिन्दुराष्ट्र, सुशासन र समृद्धिलाई मुख्य एजेण्डा बनाएर अघि बढ्ने अध्यक्ष थापाले बताए ।
सनातनदेखि चलिआएको धर्म परम्परा र संस्कृतिको संरक्षण गर्दै देशको विकास गर्ने सम्बर्धनवादको सिद्धान्त अवलम्वन गरी पार्टीको दायरा फराकिलो पारेर ९४ प्रतिशत ओमकार परिवारसँग जोडिएर पार्टीलाई अघि बढाउने राप्रपा नेपालको लक्ष्य रहेको पनि उनले प्रष्ट पारे ।
राप्रपा नेपालले फागुन ७ गते पार्टीको औपचारिक घोषणा सभा राष्ट्रिय सभागृहमा राखेको छ । घोषणा सभालगत्तै स्थानीय निर्वाचनको तयारीस्वरुप देशव्यापी संगठन निर्माणमा जुट्दै राप्रपा नेपालले जनाएको छ ।
प्रतिक्रिया 4