+
+

प्रतिव्यक्ति ऋणको भार ५९ हजार २२५ रुपैयाँ

अच्युत पुरी अच्युत पुरी
२०७८ फागुन ११ गते १९:५०
फाइल तस्वीर

११ फागुन, काठमाडौं । नेपालमा कुल सार्वजनिक ऋण अघिल्लो आर्थिक वर्षभन्दा ९ अर्ब रुपैयाँले घटेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको सार्वजनिक ऋण १७ खर्ब २८ अर्ब ९३ करोड ९३ हजार ६ सय ७१ रुपैयाँ पुगेको छ । यो २०७८ असार मसान्तको तुलनामा ९ अर्ब रुपैयाँ कम हो ।

२०७८ असार मसान्तमा १७ खर्ब ३७ अर्ब रुपैयाँ सार्वजनिक ऋण रहेको थियो । पुस मसान्तसम्म कायम १७ खर्ब २८ अर्ब ९३ करोड ९३ हजार ६ सय ७१ रुपैयाँ ऋणलाई नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रुपैयाँले भाग लगाउँदा प्रतिव्यक्ति सार्वजनिक ऋणको भार ५९ हजार २ सय २५ रुपैयाँ पर्न जान्छ । पुस मसान्तसम्म नेपालको बाह्य ऋण ९ खर्ब ४८ अर्ब ९८ करोड र आन्तरिक ऋण ७ खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।

चालु आवको पहिलो ६ महिनामा बाह्य ऋण अघिल्लो त्रैमासको तुलनामा ०.०३ प्रतिशतले कम भएको छ । आन्तरिक ऋण भने ०.७८ प्रतिशतले बढेको मन्त्रालयको तथ्यांकले देखाएको छ । कुल सार्वजनिक ऋण भने ०.३३ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०७७/७८ को असोज मसान्तसम्म सार्वजनिक ऋण १७ खर्ब २३ अर्ब १७ करोड ८४ लाख रुपैयाँ रहेकोमा पछिल्लो त्रैमासमा ५ अर्ब ७५ करोड ६० लाख रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । यो अवधिमा सरकारले लिएको भन्दा तिरेको रकम बढी भएका कारण बाह्य ऋणको वृद्धिदर कम देखिएको हो । पहिलो तीन महिना (असोज–पुस)मा सरकारले २३ अर्ब १७ करोड ४८ लाख रुपैयाँ र ६ अर्ब आन्तरिक ऋण लिएको छ ।

  • आन्तरिक ऋण : ७ खर्ब ७९ अर्ब ९४ करोड
  • बाह्य ऋण : ९ खर्ब ४८ अर्ब ९८ करोड
  • कुल सार्वजनिक ऋण : १७ खर्ब २८ अर्ब ९३ करोड
  • सार्वजनिक ऋणको भार प्रतिव्यक्ति : ५९ हजार २ सय २५

कुल गार्हस्थ उत्पादनको साढे ४० प्रतिशत सार्वजनिक ऋण

आर्थिक वर्ष २०७८/७९ को तथ्यांक अनुसार नेपालको कुल गार्हस्थ उत्पादन ४२ खर्ब ६६ अर्ब ३२ करोड रुपैयाँ रहेको छ ।

सार्वजनिक ऋण कुल जीडीपीको यसको ४०.५३ प्रतिशत रहेको छ । यसमध्ये बाह्य ऋण जीडीपीको २२.२४ र आन्तरिक ऋण १८.२८ प्रतिशत रहेको तथ्यांक छ ।

जीडीपीको तुलनामा सार्वजनिक ऋण

  • आन्तरिक ऋण : १८.२८ प्रतिशत
  • बाह्य ऋण : २२.२४ प्रतिशत
  • कुल सार्वजनिक ऋण : ४०.५३ प्रतिशत

पूँजीगत खर्चको प्रभाव सार्वजनिक ऋण प्राप्तिमा पनि !

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा पूँजीगत खर्च निकै कमजोर भएको छ । यसको प्रभाव सार्वजनिक ऋण प्राप्तिमा समेत देखिएको छ । ६ महिनाको अवधिमा मात्र १३.४४ प्रतिशत पूँजिगत खर्च भएको थियो । वैदेशिक ऋण तथा सहायताको ठूलो हिस्सा पूँजीगत खर्चसँग जोडिएको हुन्छ ।

अर्थ मन्त्रालयका अनुसार चालु आवको ६ महिनामा विभिन्न आयोजना/कार्यक्रम कार्यान्वयन गर्न १ खर्ब १० अर्ब रुपैयाँ बराबरको वैदेशिक सहायताको प्रतिवद्धता प्राप्त भएको छ । यस अवधिमा वैदेशिक ऋणबाट खर्च भने २५ अर्ब ३४ करोड रुपैयाँ बराबेको भएको छ ।

यो स्रोतको खर्च गत आवको यसै अवधिको तुलनामा १५.६४ प्रतिशत कम हो । यो वर्ष सरकारले २ खर्ब ८३ अर्ब रुपैयाँ वैदेशिक ऋण लिने लक्ष्य राखेकोमा बजेटको अर्धवार्षिक समिक्षाबाट २ खर्ब ६ अर्ब रुपैयाँ मात्र प्राप्त हुने संशोधित अनुमान गरिएको छ । यो लक्ष्यको ७२.९३ प्रतिशत हो ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?