+

बार्सिलोनाका अध्यक्षले मलाई जबरजस्ती निकाले : कोम्यान

२०७८ फागुन  २० गते १५:३६ २०७८ फागुन २० गते १५:३६
बार्सिलोनाका अध्यक्षले मलाई जबरजस्ती निकाले : कोम्यान

२० फागुन, एजेन्सी । बार्सिलोनाका पूर्वप्रशिक्षक रोनाल्ड कोम्यानले क्लबको नतिजा सुधारका लागि क्लबले आफूलाई जार्भी हर्नान्डेजलाई जति समय नदिएको आरोप लगाएका छन् ।

लगातारको खराब नतिजापछि क्याटलान क्लबका अध्यक्ष जुआन लापोर्टाले गएको अक्टोबरमा कोम्यानलाई बर्खास्त गरेका थिए । त्यसपछि कतारको अल सादबाट जाभीलाई नियुक्त गरिएको थियो ।

केही समय मौन रहेका ५८ वर्षीय कोम्यानले पहिलोपल्ट डच अखबार अग्लेविन डाग्व्लाडसँग बार्सिलोनाबाट बाहिरिँदाको घटनाक्रम स्मरण गरेका छन् । बार्सिलोनाका लागि कुनै समय खेलेका कोम्यानले अहिले क्लबको रंगशालामा फर्केर जान मन नलागेको दुखेसो गरेका छन् ।

‘अब तपाईंले मलाई क्याम्प नोउमा केही समयका लागि देख्नुहुने छैन । क्लबका अध्यक्षसँग कुनै समस्या नरहेको नाटक गर्न म सक्दिन,’ कोम्यानले भनेका छन् ।

बार्सिलोनाको टिम निर्माण गर्नका लागि जाभीलाई जति आफूलाई समय नदिइएकोमा उनको मुख्य निराशा छ । क्लबमा आफ्नो कार्यकाल र त्यसपछि प्राप्त केही सन्देशबारे अहिलेसम्म पनि कोम्यान भ्रमित छन् ।

‘उनीहरूले मलाई त्यति समय दिएनन् जति जाभीलाई दिएका छन्,’ कोम्यानले भने, ‘यसबाट म अहिलेसम्म पनि विक्षिप्त छु । मसँग धेरैजसो चोटग्रस्त खेलाडी थिए । अहिले पेड्री फिट भइसकेका छन् । ओस्मान डेम्बेले फर्किएका छन् । अहिले त सबैकुरा ठीक भएको देखिएको छ ।’

‘क्लब व्यवस्थापनकै आग्रहअनुसार मैले वित्त व्यवस्था सुधारका लागि केही खेलाडीहरू बेच्न स्वीकृति दिएको थिएँ । तर, तपाईंहरूले देख्नुभयो लियोनल मेस्सीको बहिर्गमनलगत्तै ५५ मिलियन युरोमा कसैलाई (फेरान टोरेस) ल्याइएको छ । अब तपाईंलाई आश्चर्य हुनसक्छ–त्यसो भए मेस्सी किन बाहिरिनुपर्‍यो त ?,’ कोम्यानले प्रश्न गरेका छन्, ‘हरेक प्रशिक्षकले क्लब बोर्डबाट समय र धैर्यताको अपेक्षा गरेका हुन्छन् । मलाई पनि केही नयाँ खेलाडी चाहिएको थियो ।’

‘तर,म क्लबका लागि खुसी छु । टिमले राम्रो प्रदर्शन गर्न थालेको छ । खेलाडीहरू लयमा फर्किएका छन् । फ्रेंकी डी जोङ राम्रो प्रदर्शन गरिरहेका छन् । उनी धेरै क्षमतावान खेलाडी हुन् ।’

‘लापोर्टाले मसँग जाभीसँग पर्याप्त अनुभव नभएको हुनाले उनी प्रशिक्षक बन्न नसक्ने कुरा एक हजारभन्दा बढीपल्ट भनेका थिए । तर, म त लापोर्टाको प्रशिक्षक थिइनँ । चुनावपछि हाम्रो तालमेल मिल्न सक्दैन भन्ने मलाई पहिलो दिनदेखि नै महशुस भइसकेको थियो,’ कोम्यानले भनेका छन्, ‘मेरा लागि सबैभन्दा महत्त्वपूर्ण कुरा पैसा होइन । बार्सिलोनाको प्रशिक्षकका रुपमा म सफल हुन चाहन्थेँ, म हुन पनि सक्थेँ । तर, लापोर्टाले मसँग छुटकारा लिन खोजेको महशुस भयो । किनभने मलाई उनले नियुक्त गरेका थिएनन् ।’

बार्सिलोनाका छाडेपछि कोम्यानले कुनै ठूलो जिम्मेवारी लिइसकेका छैनन् । केही समयका लागि फुटबलबाट टाढा हुनुमै सन्तुष्ट छन् ।

रोनाल्ड कोम्यान
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय