
२ चैत, काठमाडौं । भारतीय राजनीतिको केन्द्रमा यतिबेला केजरीवाल र योगी छैनन् । बीजेपी वा वैकल्पिक राजनीतिको ‘डिस्कोर्स’ पनि छैन । बरु यी सबै मुद्दालाई ओझेलमा पार्ने गरी ‘कश्मिरी पण्डित’को मुद्दा ब्युँतिएको छ ।
तीन दशकपछि दिल्लीको केन्द्रमा सन् १९९० दशकको त्यो नरसंहार मुद्दाको ‘कमब्याक’ भएको छ, जसलाई लिएर संसददेखि सडकसम्म बहस सुरु भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीदेखि फिल्म क्रिटिक्ससम्मले यो ‘जिनोसाइड’माथि टिप्पणी गरेका छन् ।
कश्मिरी पण्डित सफायाको मुद्दालाई ब्युँताउने श्रेय चाहिं विवेक अग्निहोत्री निर्देशित फिल्म ‘द कश्मीर फाइल्स’लाई जान्छ । भारतीय राजनीतिको केन्द्रमा अहिले बहस भइरहेको यो फिल्म अब फिल्म मात्र रहेन, भारत–पाकिस्तानबीचको कश्मीर मुद्दालाई अलग ‘न्यारेटिभ’ दिने आँखीझ्याल समेत बन्यो ।
हुनसक्छ यही कारण प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार आयोजित बीजेपी विधायकको बैठकमा फिल्मको प्रशंसामा शब्द खर्चिए । अहिलेसम्म कसैले भन्न नसकेको कथामा ‘कश्मीर फाइल्स’ले सत्य उजागर गरेको भन्दै उनले धन्यवाद समेत दिए । केही तत्वले फिल्मविरुद्ध षड्यन्त्र गरेको भन्दै मोदीले उनीहरुको आलोचना पनि गरे ।
बलिउडलाई आलोचना गर्दै ‘द कश्मीर फाइल्स’लाई प्रशंसा गर्नुपर्ने परिस्थिति मोदीलाई कसरी आइलाग्यो ? हिन्दूत्वको राजनीति गरिरहेको दल बीजेपीबाट प्रधानमन्त्री बनेका मोदी किन खुलेर कश्मिरी पण्डितको मुद्दा उचाल्दैछन् ? कश्मीरमा मानवअधिकार उल्लंघन, हिंसालाई पश्रय र अल्पसंख्यक मुसलमान समुदायविरुद्ध निरकुंश बनेको भन्दै द न्यूयोर्क टाइम्स, टाइम म्यागजिनसहितका मिडियाले घेरिएका मोदीसामु ती मुद्दालाई काउन्टर दिने मुद्दाको खाँचो थियो, त्यो रिक्तताको पूर्ति फिल्मले गरिदिएको छ ।
मोदीका क्याबिनेट मन्त्रीदेखि सत्तारुढ दलप्रति नरम मानिने भारतीय मिडियाले समेत फिल्मको ‘कास्ट एण्ड क्रु’लाई बोलाएर रेडकार्पेटमा स्वागत गरिरहेका छन् । बीजेपीले सरकार चलाइरहेका सात राज्यले यो फिल्मलाई कर छुट मात्र दिएका छैनन्, प्रधानमन्त्री मोदी र उनका मन्त्रिमण्डलका सदस्यले फिल्म हेर्ने तयारी गरिरहेका छन् ।
सन् १९९० को दशकमा कश्मीरबाट अल्पसंख्यक कश्मिरी पण्डितलाई कसरी मुसलमान पृथकतावादीले बल प्रयोगको माध्यमबाट त्यहाँबाट लेखेटे भन्ने विषय फिल्मको कथावस्तु हो । विश्वविद्यालयमा अध्ययनरत एक विद्यार्थीले आफ्ना हिन्दू अभिभावक कसरी उक्त नरसहांरमा मारिए र किन कश्मिरी पण्डित लखेटिए भन्ने कथा फिल्मले पेस गर्छ ।
फिल्मलाई लिएर बलिउडका मूलधारे समीक्षकले औसत प्रतिक्रिया दिएका छन् । कतिपयले यसलाई ‘प्रपोगाण्डा’ भन्दैछन् । तर फिल्मलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस सुरु भएको छ । टाइमलाइनमा फिल्मलाई लिएर जनमत विभाजित छ । समर्थकले कश्मीरको उपेक्षित र रक्तपातपूर्ण इतिहासलाई फिल्मले प्रकाश पारेको बताइरहेका छन् भने आलोचक चाहिं प्रस्तुत तथ्य ‘इस्लामोफोबिया’बाट ग्रस्त रहेको टिप्पणी गरेका छन् ।
पक्ष–विपक्षमा जे बहस भएपनि फिल्मलाई लिएर भारतीय राजनीति तरंगित बनेको छ । यतिबेला फिल्मभित्र राजनीति घुसेको छ । यो एक किसिमले बीजेपी भर्सेस अन्य दल, हिन्दू भर्सेस अन्य धर्म, मोदी भर्सेस एन्टी–मोदीको क्लाइमेक्स पनि हो । बीजेपी कश्मिरी पण्डित र फिल्मको पक्षमा भरमग्दुर लागेको छ भने मुसलमानप्रति नरम मानिने कांग्रेस आई चाहिं ‘कश्मीर फाइल्स’ बीजेपीको प्रवक्ता बनेको भन्दै टिप्पणी गरिरहेको छ ।
कश्मीर एउटा संवेदनशील मुद्दा
फिल्मले लामो समयदेखि अशान्त र पाकिस्तानसँग सीमा जोडिएको संवेदनशील क्षेत्र कश्मीरको इतिहासको तथ्य केलाउँछ । मुसलमान बाहुल्य यो इलाकाले सन् १९८० देखि भारतीय शासनविरुद्ध चलेको सशस्त्र विद्रोह देख्यो । सन् १९९० मा इस्लामिक लडाकुले अल्पसंख्यकको रुपमा कश्मीरमा रहेका उच्च जातका कश्मिरी हिन्दूविरुद्ध लक्षित गर्न थाले । उक्त हिंसाबाट धेरै संख्यामा कश्मिरी पण्डित थातथलो छाडेर लखेटिए, केही मारिए र धेरैजसो कहिल्यै फर्किएनन् ।
जब केन्द्र सरकारले गिरफ्तारीदेखि सोधपुछसहितको व्यापक अधिकार दिलाउँदै कश्मीरमा सेना तैनाथ गर्यो, सोही बेलादेखि सेनालाई स्थानीय बासिन्दालाई ज्यादती गरेको आरोप लागिरहेको छ । सेनाले आरोपलाई अस्वीकार त गरेको छ, तर कश्मीर क्षेत्र दिल्लीलाई लिएर निकै आक्रोशित पनि भएको छ । मोदी सरकारले सन् २०१९ मा कश्मीरलाई दिइएको संवैधानिक स्वायत्ततालाई खारेज गरिदिएपछि पहिलेदेखि रहेको तनावपूर्ण सम्बन्ध थप जटिल बनेको छ ।
पछिल्लो समय बीजेपीले कश्मीरलाई चुनावी मुद्दाको रुपमा उपयोग गरेजस्तो देखिन्छ । सन् १९९० मा घटना हुँदा सत्तामा रहेको पार्टी कांग्रेसले कश्मिरी पण्डितको हितमा ध्यान नदिएको भन्दै बीजेपीले विशेषगरी हिन्दूवादी बासिन्दा पलायनको मुद्दामा ध्यान केन्द्रित गरेको छ । तर कश्मीरका बासिन्दा चाहिं कुनै पनि दलले हिंसामा लखेटिएकालाई पुनर्वासको लागि पहल नगरेको बताउँदै आएका छन् ।
कश्मीरको यातनापूर्ण विगतमाथि धेरै फिल्म खिचिए र पुस्तक लेखिए । कश्मीरको बाह्य सौन्दर्यमा बलिउडले पैसा खनायो र पर्यटन प्रवद्र्धन गर्न पहल त गर्यो, तर थोरै फिल्म मात्र किन कश्मिरी पण्डित त्यहाँबाट पलायन भए भन्ने कुरालाई चित्रण गरे । किनभने, बलिउडले राजनीतिक कथावस्तुमा हात हाल्न चाहेन । आफ्नो आवाजलाई सधैंभरि दबाइएको महसुस गरेका कश्मिरी पण्डितले ‘द कश्मीर फाइल्स’ फिल्मले आफ्नो आवाजलाई प्रतिनिधित्व गरेको महसुस गरिरहेका छन् ।
लेखक तथा भारतीय पत्रकार राहुल पण्डितले बीबीसीसँगको हालैको अन्तर्वार्तामा कश्मिरी पण्डित र उक्त फिल्मबीच एउटा भावनात्मक सेतु निर्माण भएको बताएका थिए । उनले भारतको मेनस्ट्रिम फिल्मले कहिल्यै पनि तल्लो जातविरुद्धको हिंसा, उत्तर–पूर्वी भारतका सुरक्षा बलविरुद्ध लागेको हिंसाका आरोप, माओवादी विद्रोह देखेका राज्यजस्ता मुद्दालाई विषयवस्तु नबनाएको उनको टिप्पणी छ ।
उनी भन्छन्, ‘बलिउडले अन्तिमपटक हामीलाई सन् १९८४ को दंगा वा सन् २००२ को गुजरात दंगाको कथा कहिले सुनाएको थियो ? यस देशमा हजारौं कथा छन् जसलाई मूलधारका फिल्ममा ध्यान दिइँदैन ।’ ‘कश्मीर फाइल्स’ फिल्मलाई लिएर के भनियो र के देखाइयो भन्ने कुरालाई दर्शकले त्यति ध्यान दिएका छैनन्, जति कसले भन्यो भन्ने कुरामा उनीहरुको चासो देखिन्छ । ‘दबाइएको सत्यलाई उनीहरुकै मुखबाट फिल्ममा चित्रण गरिएको छ,’ बीजेपी संसदीय दलको बैठकमा प्रधानमन्त्री मोदीको टिप्पणी थियो ।
धुव्रीकरण र राजनीति
फिल्मले स्वभाविक रुपमा कश्मिरी पण्डितको अन्तस्करणलाई स्पर्श त गरेको छ, तर केही समीक्षकले चाहिं जटिल इतिहासका कारण यसले अझै मानवीय सूक्ष्मताको चित्रण गर्न नसकेको टिप्पणी गरेका छन् । कतिपयले अभिनयको पुल बाँधेका छन् भने कतिपयले मुस्लिमलाई खलपात्रको रुपमा गरिएको चित्रणलाई न्याय दिलाउन नसकेको भनेका छन् ।
दर्शक पनि फिल्मलाई लिएर विभाजित देखिन्छन् । कतिपयले फिल्मले घाउलार्ई निको पार्ने भन्दै प्रशंसा गरेका छन् भने कतिपयले चाहिं कश्मिरी मुस्लिमलाई परम्परागत जसरी चित्रण गरिएको र यसले बाहिरी रुपमा गलत सन्देश जाने भन्दै आलोचना गरेका छन् । टाइमलाइनमा केहीले फिल्मलाई अस्वीकार गर्न नसक्ने भन्दै लेखेका छन्, ‘तपाईंले कुनैपनि मतभेदलाई त्यतिबेलासम्म अस्वीकार गर्न सक्नुहुन्न जतिबेलासम्म पीडितहरुको पीडालाई पनि स्वीकार गर्नुहुन्न ।’
बीजेपीतर्फबाट महिला तथा बालबालिका मामिलामन्त्री स्मृति इरानीले त फिल्मलाई इन्डोर्स गर्दै निर्दोषको रगतको पुनरावृत्ति नहुने बोध गराउन पनि सबैले फिल्म एकपटक हेर्न आग्रह गरेकी छन् । फिल्म निर्माताहरुले यसै सप्ताहन्तमा प्रधानमन्त्री मोदीलाई भेटेका छन् र बलिउड स्टारहरु अक्षयकुमार र कंगना रनावतले सरकारलाई समर्थन गर्दै ट्वीट पनि गरेका छन् । कंगना त ‘कश्मीर फाइल्स’ फिल्मको पक्षमा खुल्न बलिउडले साँधेको मौनतालाई लिएर आक्रोशित सुनिएकी छन् ।
यस्तै एउटा अभिव्यक्ति फिल्मका मुख्य अभिनेता समेत रहेका अनुपम खेरले दिएका छन् । के यस्तो खाले फिल्म बीजेपी सरकार रहेकै बेला मात्र निर्माण हुनसक्छ भने सोधिएको प्रश्नमा अभिनेता खेरले भनेका छन्, ‘यो सत्य हो, हरेक फिल्मको समय हुन्छ ।’ निर्देशक अग्निहोत्रीले आफू निर्देशित फिल्मको बचाउ गर्दै भनेका छन्, ‘यो कुनै हिन्दू वा मुस्लिमलाई लिएर बनाइएको फिल्म हैन, जुन मानिसहरु विश्वास गर्न चाहन्छन् ।’
‘नेपालमा कश्मीर फाइल्सको राजनीतिक अर्थ’

शुक्रबारबाट यो फिल्म नेपालमा पनि प्रदर्शन हुँदैछ । ‘द कश्मीर फाइल्स’को नेपालमा राजनीतिक अर्थ हुने विश्लेषक बताउँछन् । खासगरी कुनैबेला स्वायत्त मधेश प्रदेशको नारा उरालेको सीके राउत समूह र राष्ट्रवादका अन्य एजेन्डासँग सिनेम्याटिक अर्थ हुने उनीहरुको विश्लेषण छ । ‘बधशाला’, ‘ग्रेटर नेपाल’ फेम्ड निर्देशक मनोज पण्डित ‘कश्मीर फाइल्स’को राजनीतिक अर्थ कसरी नेपालसँग जोडिन सक्छ भन्नेबारे यसरी टिप्पणी गर्छन्–
‘शक्तिशाली फिल्मको कुनै सीमा हुँदैन । यसको सामाजिक र सांस्कृतिक अर्थ भने रहन्छ । जहाँसम्म कश्मीर फाइल्स फिल्मको कुरा छ, नेपालमा यसको राजनीतिक अर्थ अवश्य छ । नेपालमा राजनीतिक अर्थ के छ भने, राष्ट्रवाद र मधेशमा सीके राउतले उठाएका नाराको नतिजा र प्रभाव के हुनसक्छ भन्ने नै हो । पृथकतावादी ‘मुभमेन्ट’ हुने ठाउँमा राजनीतिक मुद्दाहरुको सफरिङ कसरी हुनसक्छ भन्ने प्रश्नसँग फिल्मको राजनीतिक अर्थ छ । कश्मीर मुद्दा नेपालको राजनीतिक अर्थसँग मिल्छ ।
म बक्स अफिस नतिजाबारे यसै भन्न सक्दिन किनभने बक्स अफिसले मान्छेसँगको कनेक्टिभिटी खोज्छ । नेपालमा राजनीतिक सिनेमाको विषयमा ठूलो चासो र जागरुकता देखिन्न पहिले बनाइएका यस्ता फिल्मको अनुभव हेर्दा । राजनीतिक विषयवस्तुमा बनाइएका फिल्ममा नेपाली दर्शकको रुचि देखिएको छैन ।
मोदीकालीन भारतमा यतिबेला राजनीतिक घटनाक्रममा चासो देखिएको छ । उनको दल बीजेपीले राजनीतिक रुपमा फिल्मलाई प्रेरित गरिरहेको देख्न सकिन्छ । कश्मीर फाइल्समा बीजेपीको स्वार्थ छ । किनभने यो फिल्मले बीजेपीको चुनावी रणनीतिलाई पनि बोकेको छ । भारतमा पछिल्लो समय हिन्दू–मुस्लिम द्वन्द्वले ठूलो स्थान पनि पाएको छ । मणिकर्णिका, उरीदेखि यस्ता फिल्ममा सरकारको स्वार्थ पनि जोडिएको छ ।
भूराजनीतिक रुपमा नेपाल के कुरामा सजग हुनुपर्छ भने भारतीय सत्तासँग उदार मानिएका फिल्म नेपाल भित्रिंदा कसरी भित्रिएको छ भन्नेतर्फ हामी सजग हुनुपर्छ । तर व्यापार भने अलग पाटो हो । हिन्दू–मुस्लिम द्वन्द्वका फिल्म नेपालमा ल्याइरहँदा नेपाली दर्शकको रुचिमा ल्याइएको हो वा अन्य मानिसको रुचिले हो भन्ने कुरा बुझ्नुपर्छ ।
अवश्य पनि फिल्म राजनीतिक टुल्सको रुपमा प्रयोग हुन सक्ने स्थिति संसारभर रहन्छ । नेपालको राजनीतिक सन्दर्भमा यसको असर के हुन्छ भन्नेबारे सचेत हुनुपर्छ । किनभने फिल्मको राजनीतिक स्वार्थ पनि हुन्छ । यसले दीर्घकालीन रुपमा असर पार्न सक्छ । नेपालमा केही फिल्म छन्, जसले राजनीतिक रुपमा प्रभाव पारेको हुनसक्छ । प्रपोगान्डा फिल्मलाई लिएर नेपाल सचेत हुनैपर्छ ।
प्रतिक्रिया 4