
काठमाडौं । निर्देशक तुलसी घिमिरे २१ वर्षपछि आफ्नो चर्चित टेलिसिरियल ‘मुक्ति’ लिएर दर्शकमाझ आउने भएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले आगामी जुनदेखि सिरियलको छायांकन गरिने बताए ।
सिरियलका केही कलाकार पनि फाइनल भएका छन् । आफू निर्देशित ‘दर्पणछायाँ’ फेम्ड अभिनेता उत्तम प्रधानलाई मुख्य भूमिकामा लिएर घिमिरेले सिरियललाई अघि बढाउन लागेका हुन् ।
सिरियलमा उत्तमसहित अरुण रेग्मी, जितु नेपाल, मुकुन्द श्रेष्ठको पनि अभिनय हुने जनाइएको छ । महिला कलाकारहरु चाँडै तय हुने निर्देशक घिमिरेले जानकारी दिए । यसअघि मुक्ति सिरियलबाटै अभिनयमा डेब्यु गरेकी सरिता लामिछानेलाई भने नयाँ सिरियलमा देख्न नपाइने भएको छ ।
पारिवारिक कथावस्तुमा निर्माण हुने सिरियलको एक सय भाग निर्माणको लक्ष्य राखिएको जानकारी घिमिरेले दिए । एपीवान टीभीबाट प्रसारण हुने यो सिरियल यसअघि नेपाल टेलिभिजनबाट प्रसारण हुन्थ्यो ।
‘म आफ्ना सिर्जनामार्फत नयाँपुस्तासँग जोडिन चाहन्छु,’ निर्देशक घिमिरेले भने, ‘नयाँ पुस्ताका दर्शकले यसलाई रुचाउन सक्छन् ।’
प्रतिक्रिया 4