
काठमाडौं । अभिनेत्री नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा सलोन बस्नेत अनुबन्धित भएका छन् । सलोन र निर्माण कम्पनीबीच मंगलबार सम्झौता भएको छ ।
चन्द्र पन्तले निर्देशन गर्ने फिल्मको प्रमुख भूमिकामा सलोन फिचर्ड हुने जनाइएको छ ।
‘फिल्ममा सलोनको प्रमुख भूमिका नै हुनेछ । अहिलेसम्मकै नयाँ रोलमा उहाँ देखिनुहुनेछ,’ नीताले अनलाइनखबरसँग भनिन्, ‘उक्त रोलले सलोनलाई नै खोजेको छ ।’
मित्रताको कथा समेत फिल्ममा भएकाले सलोन फिट हुने नीताको भनाइ छ । ‘यो मित्रताको कथा समेत हो । यसमा मित्रताको बुलन्द भूमिका छ,’ उनले भनिन् ।
नीता र हरिहर अधिकारी पनि प्रमुख भूमिकामा प्रस्तुत हुँदैछन् । भारतीयसहितका अन्य कलाकारलाई पनि चाँडै फाइनल गर्ने तयारी छ । ‘ए लिस्टर भारतीय कलाकार पनि खेल्दै हुनुहुन्छ । उहाँहरुलाई अनुबन्धित गर्न हामी भारत जाने तयारीमा छौं,’ उनले भनिन् ।
साउनदेखि तीन चरणमा फिल्म छायांकन हुने भएको छ । नेपाल, भारत र बेलायतमा छायांकन तयारी छ । चार करोड रुपैयाँ बजेटको फिल्ममा आधुनिक युवापुस्ताको प्रेमकथा प्रस्तुत हुने जनाइएको छ । फिल्मलाई नेपालीसहित हिन्दी भाषामा समेत निर्माण गर्ने तयारी छ ।
प्रतिक्रिया 4