
२९ चैत, काठमाडौं । नयाँ वर्षको चार दिनअघिबाट सुरु हुने बिस्केट जात्रा यो वर्ष बेलायतमा पनि मनाइएको छ । भक्तपुरको विभिन्न नगर परिक्रमा गरी मनाइने यो जात्रा सात दिनसम्म मनाइने भएपनि बेलायतमा भने सांकेतिक रूपमा आइतबार एक दिन मनाइएको हो ।
साउथ इस्ट लण्डनको एसियन कम्युनिटी हलमा परम्परागत पोशाकमा भेला भएका नेवार समुदायले रथ तानेर जात्रा मनाएका हुन् ।
जात्रामा सहभागी पत्रकार शिव भण्डारीका अनुसार बेलायतको विभिन्न ठाउँमा बसोबास गर्ने नेवारी समुदायको जात्रामा सहभागिता थियो । २० दिन लगाएर तयार पारिएको खटलाई १२ मिनेटसम्म हलको वरपर घुमाएर जात्रा मनाइएको थियो ।
कार्यक्रमको आयोजना पासा पुचः गुथि युकेले गरेको हो । कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई प्रमुख अतिथिको रुपमा बोलाइएको भएपनि उनी समयमा उपस्थित हुन नसकेपछि उपस्थितमध्येबाट ज्येष्ठ सदस्यले नै जात्राको उद्घाटन गरेका थिए । यो कार्यक्रम अहिले सांकेतिक भएपनि सम्भव भएसम्म भविष्यमा यसलाई संस्कार पूरा गरेर मनाउने आयोजकले जनाएको छ । जात्रामा नेवारी खानाका परिकारहरु समेत तयार पारिएको थियो ।
जात्रामा ६५० जनाभन्दा धेरैको सहभागिता रहेको आयोजकको दाबी छ ।
संस्कृति प्रसार हुनु राम्रो, विधि भने पूरा हुनुपर्छ : संस्कृतिविद्
भक्तपुरका संस्कृतिविद् विनोदराज शर्मा संस्कृति प्रसार हुनु राम्रो कुरा भएपनि यताको परम्परालाई यथावत् राख्न चुनौती हुने बताउँछन् ।
नेपाली जात्रा विदेशमा मनाउँदा हाम्रो संस्कृति र परम्परा विदेशमा समेत फैलिने सम्भावना हुन्छ । तर विधि पूरा गर्न नसके यसले गलत सन्देश पनि सक्ने शर्माको मत छ । उनले नेपालको मौलिक संस्कृतिलाई विदेशमा मनाउँदा पूरा विधि सम्पन्न गर्न कठिन हुने भन्दै त्यसलाई आयोजकले ध्यान दिनुपर्ने बताए ।
‘यहाँको जस्तो विधि बुझेका मान्छे त्यहाँ नहुन सक्छन्, सम्बन्धित विषयको पूरा ज्ञान नहुँदा गलत संस्कार बस्नेतर्फ ध्यान दिनुपर्छ,’ उनले भने, ‘यहाँको जस्तो धार्मिक सहिष्णुता त्यहाँ नमिल्न सक्ने भएकाले यो पक्षमा आयोजकले ध्यान दिनुपर्ने हुन्छ ।’
तस्वीर सौजन्य : शिव भण्डारी/लण्डन
प्रतिक्रिया 4