
११ चैत, काठमाडौं । ‘गरिबी यस्तो चिज हो, जसले सुखपूर्वक बाँच्न नदिने मात्र होइन आरमसाथ मर्न पनि दिदैन ।’
दक्षिण भारतीय चलचित्र ‘केजिएफ’को यो संवाद रिनादेवी शाहको नियतीसँग दुरुस्तै मिल्छ । उनको श्रीमान् त्रिवि शिक्षण अस्पतालको शैय्यामा छन्, जीवन र मरणको छटपटीमा । रिनादेवी आफ्ना श्रीमान्को असह्य पीडा न हेर्न सक्छिन्, न लुकाउन नै ।
उपचारका लागि सानो झुपडी र एक टुक्रो जग्गा पनि बन्धकीमा राखेर उनी रौतहटबाट काठमाडौं आइन् । अस्पतालको चिसो भुईंमा डेरा जमाइन् । उनीसँग दुई काखे बालबच्चा छन् । त्यही भुईंमा पातलो म्याट विछ्याएर बस्छिन्, त्यही सुत्छिन् ।
छेउमै लुगाको पोका, चुडिंन लागेको तुने चप्पल । काखमा दुई स-सना बच्चा छन् । घरीघरी बामे सर्दै अल्लि पर पुग्छन् । तानेर पुनः त्यहीँ म्याटमा राख्छिन् ।
सन्तानलाई हेर्दै बरर आँसु झार्छिन् । आजभोलि रिनादेवी साहको मन वेचैन छ । आफ्नै शरीर बोझिलोसँगै हरक्षण तनावमा छिन् ।
यसरी खस्यो दुःखको पहाड !
भारतको बम्बइमा कपडा सिलाइको कमाइले घरको जेनतेन गुजारा गर्दै आएका थिए, प्रभु साह । गत पुसमा रौतहट (गौर) घर आएका थिए । तर, दुई हप्ता हुन नपाउँदै अस्वस्थ्य भए । ज्वरो र खोकीले छोडेन । बिहार (मोतिहारी) को एक निजी अस्पताल पुर्याए । एक साता त्यही भर्ना भए । अनेक जाँच गरियो । छरछिमेकसँग हारगुहार गर्दै काढेको ऋण ६० हजार सकियो । झोलाभरी औषधि बोकेर घर फर्किए । तर, समस्या भने ज्यूँ का त्यूँ ।
केही सीप नलागेपछि घर छेउकै गौर अस्पतालमा पुर्याए । साता बित्यो । चिकित्सकले रोग पत्ता लगाउन सकेनन् । भने, ‘हामीले यहाँ केही गर्न सक्दैनौं । थप उपचारका लागि काठमाडौं लैजानु ।’
उपचार गर्न लैजानका घरमा एक पैसा थिएन । अब कसो गर्ने हो ? आफन्तसँग केही पैसा ऋण गरेर साहका दाइले काठमाडौं (शिक्षण अस्पताल) ल्याए । चेकजाँचको क्रममा लङ्क एब्र्सेस अर्थात फोक्सोमा पिप जमेको देखियो । चिकित्सकले तत्कालीन समयमा भिडियो एक्सरे गरेर पिप निकाल्नु पर्ने सुझाव दिए । तर, ऋण गरेर ल्याएको तीन लाख पैसा पनि सकियो । थप उपचारका लागि लाखौं पैसा चाहिने भयो ।
साहका दाइले पुनः रौतहट नै पुर्याए । त्यसपछि उपचारकै क्रममा वीरगञ्ज, मोतिहारीका विभिन्न निजी अस्पताल चाहरे । त्यहाँ उपचार गर्ने नसकिने । बेडमा भर्ना भएको एक रातकै हजारौं रुपैयाँ लाग्छ भनेपछि रिनाको हातखुट्टा गल्यो । बिरामीको अवस्था झन्-झ्न बिग्रिदै गयो । मुखबाट पिप र रगत वाक्न थाले ।
यति हुँदा आफन्तसँग ६-७ लाखको हाराहारीमा ऋण गरिसकेकी थिएन् । यसै त गरीब, ऋणपान पत्याइदिने कोही भएनन् । गाउँको एक जना हुनेखानेसँग भएको झुपडी र सानो टुक्रो खेतपनि धितो राखेर केही लाख रकम लिइन् । अनि बालबच्चालाई काखी च्यापेर रिना एक भाञ्जालाई साथमा लिएर २५ फागुनमा काठमाडौं आइपुगिन् ।
उपचार एक सपना !
समयमा उचित नपाउँदा फोक्सोमा जमेको पिप फुटेर प्रभुको शरीरभर संक्रमण फैलिसकेको थियो । अर्थात उपचारमा सम्लग्न चिकित्सक डा. निरज बमका अनुसार उनी ‘सेप्टिसेमिया’मा गइसकेका थिए । अस्पतालमा आएका केही दिनमा आईसीयूमा राख्दादेखि उपचार खर्चमा लाखौं सकियो । तर, समस्या झन् बढ्यो । बुधबार बेलुकादेखि श्वासप्रश्वासका लागि भेन्टिलेटरको साहयता लिनुपर्ने भयो । साहको उपचारमा ऋण तथा घर नै धितोमा राखेर १३ लाखभन्दा बढी खर्च भइसकेको छ ।
बेला-बेलामा आफन्तको फोन आउँछ । र , भन्छिन्, ‘औषधिको किन्न लागि थप पैसा चाहिने भयो । भएको पैसा सकियो । भित्रबाट औषधि किन्न कागज दिएका छन् । तर, औषधि किन्न सकेका छैन ।’
उनीमाथि दुःखको भारी थपिँदै गएका छन् । उता श्रीमान्का लागि औषधि किन्न पैसा छैन । यता भोकाएका छोरा-छोरीलाई के खान दिने ? र, उनी पैसा लागि सानो बच्चा च्यापेर सडकका दिउँसो गल्ली- गल्ती भौताहारिरहेका छिन् । उनको पीडा यो विरानो सडकमा हिंडिरहेका मानिसलाई के वास्ता । कसैले सोधीखोजी गर्दैनन् । कति दिनरात भोकै कटाएकी छिन् । गाउँ-घरका मानिसले सय-पचास गरेर चन्दा उठाएका छन् । तर, थोरै पैसाले के छोप्पो लाग्थो र !
‘एउटै औषधि किन्न पाँच-सात हजार तिर्नुपर्छ । भिख मागेर उठाएको पैसाले के पुग्छ र ,’ गहभरी आँसु पार्दै भन्छिन् । गाउँका हुनेखानेलाई आफ्नो दुःख पोख्छिन् । आफैंले भोट हालेर जिताएका मेयरलाई कयौं पटक फोन गरिन् । तर, फोन उठ्दैन । अकस्मात फोन उठेपनि जवाफ आउँछ, ‘म केही गरिरहेको छु । पर्खनुहोस् ।’ तर, त्यो झुठो आश्वासन दिएको महिनौं बितिसक्यो ।
चिकित्सकको प्रारम्भिक अनुमान छ, बिरामीको निको हुने सम्भावना एकदमै कम छ । डा. बम भन्छन्,’ पहिलो पटकमा आएको बेला उपचारलाई निरन्तरता दिएको भए रोग निको हुने थियो । तर, अहिले अवस्थामा एकदमै जटिल अवस्थामा छ ।’ तर, समस्या त्यही पैसाको नै थियो ।
हाल शरीरमा पातलो पाइप राखेर फोक्सोमा रहेको पिप निकालेका छन् । तर, संक्रमण यति फैलिएको छ कि नियन्त्रणमा ल्याउन गाह्रो छ ।
साहका भाञ्जा रितेश गुनासो गर्छन्, ‘नेताहरु भोट माग्ने बेलामा स्वास्थ्य सेवा निःशुल्क र सहज हुन्छ भन्छन् । तर, आफैंले भोग्नु पर्दा थाहा भयो । पैसा अभावले समयमै उपचार नपाउँदा मर्नुपर्ने अवस्था आयो ।’
स्वास्थ्यलाई संविधानले नागरिकको मौलिक हक भनेको छ । योसँगै संविधानले आधारभूत स्वास्थ्य त निः शुल्क पाउने उल्लेख गरिएको छ ।
संविधानको धारा ३५ मा ‘कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भनी उल्लेख छ ।
यति मात्र होइन, जनस्वास्थ्य सेवा ऐन, २०७५ को परिच्छेद-२ मा सेवाग्राहीको अधिकार, कर्तव्य तथा स्वास्थ्य संस्थाको दायित्वका विषयमा व्यवस्था छ । जसअनुसार प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार हुन्छ । ऐनको दफा ३ मा भनिएको छ, ‘कुनै पनि नागरिकलाई स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन ।’
तर, व्यवहारमा भन्ने लागु छैन । ‘मौलिक हकको रुपमा सरकारले स्वास्थ्यलाई लिएको छ । तर, के गर्ने भाषण गरेर कागजी पानामा लेखेर हुँदैन । उपचारमा नाममा भएको सबै सम्पत्ति सकियो ।’
बेड नम्बर ७१२

त्रिवि शिक्षण अस्पतालको आइसियूमा २५ वर्षीय एक युवा पीडाले छट्पटाइरहेका छन् । मुखमा अक्सिजन मास्क छ । दाइ नन्द कामी भाइको टाउको सुम्सुमाइरहेका छन् । राउन्डमा आएका चिकित्सकले सोध्छन्,’ बिरामीलाई अहिले कस्तो छ ?’
‘खै । यस्तै हो नि । शरीर दुखो बाहेक भन्दैन । डाक्टर साप । भोलिसम्मलाई मात्रै पुग्ने औषधि छ । त्यो पनि नागरिकता राखेर ल्याएको । पैसा छैन डाक्टर साप अब घर लैजान्छु,’ नन्द न्याउरो मुख लगाउँदै भन्छन् ।
ती चिकित्सक निरीह हुँदै भन्छन्, ‘फ्री बेड मिलाइदिएका छौं । केही दिन अझै राख्नुपर्छ । रोग पत्ता लागेको छैन ।’
तर, के गर्ने ? यो बिरानो सहरमा सर-सहयोग माग्न चिनेको कोही छैन । घरबाट ल्याएको सबै पैसा सकियो । उनीसँग अब विकल्प एउटै छ – अस्पताललाई बाट भाइलाई निकाल्ने ।
‘यहाँ राखेर उपचार गर्न एक पैसा छैन । बरु मरेपनि घरमै गएर मर्छ । हामीजस्तो गरीबको को छ र सर !,’ यत्तिभन्दै गर्दा नन्दका आँसु गलासम्म पुगिसकेका हुन्छन् ।
गरिबी एक अभिशाप
हुम्लामा बनीबुतो गरेर जेनतेन गुजारा गर्दै आएका थिए, नन्द र उनका भाइ । गाउँमा सानो झुपडी थियो । दिनभर मेलापात, ज्यामी काम गर्थे । त्यसैबाट जुटाएको पैसाले परिवारको छाक टार्थे । घरमा बुढा-आमा । दाजु-भाइका दुई श्रीमती र चार बच्चा छन् । घरको खेतीले एक महिना पनि टार्न कठिन छ । ज्याला मजदुरीको टुंगो नहुने । कहिले कहाँ पुग्नुपर्ने, कहिले कहाँ । नेपालगञ्जसम्म पुग्थे ।
तर, अचानक गौर सिंह कामी (भाइ) दुई महिना अगाडी ज्वरो, खोकी देखियो । हुम्लाको सिमिकोटरमा रहेको प्राथमिक स्वास्थ्य चौकीमा राखे । हप्ता बित्यो । निको भएन । दुई हप्ता बित्यो । त्यहाँका स्वास्थ्यकर्मी भने – उहाँ धेरै गल्नु भएको छ । केही रोग लागेको हुन सक्छ । नेपालगञ्ज लैजानुहोस् ।’
तर, के गर्ने थियो त पैसा अभाव । घरमै लगे । जानेको वनबुटी गरे । तर, निको भए । झन् श्वा-श्वा । खोकी र ज्वरो छोडेन ।
गाउँका केही मानिसले भने -बरु ऋण दिन्छौ । भाइलाई नेपालगञ्ज लगेर उपचार गरेर लेराउनु ।’ नन्द एकसरो लुगा बोकेर भाइलाई प्लेनबाट ३ चैतमा नेपालगञ्ज झारे ।
भेरी अस्पतालमा भर्ना गरे । तर, त्यहाँ परीक्षण नहुने । चिकित्सक बाहिर परीक्षण गर्न सिफारिस गर्थे । निजी प्रयोगशला (जीवन रक्षा) मा गरे । तर, जाँच एकदमै महँगो । अनेक जाँच भयो । तर, के रोग भन्ने ठ्याक्कै परिचाहन भएन । चिकित्सकले आशंका गरे क्षयरोग । औषधि चलाए । तर, झन् रोगले च्याप्दै गयो । त्यही राख्दा एक लाख १० हजार सकियो । अन्नत चिकित्सकले भने,’ यहाँ उपचार गर्न सक्दैनौं । टिचिङ अस्पताल लैजानु ।’
उनीसँग अरु के विकल्प बाँकी थियो र । कसैले भनेको भरमा स्वास्थ्य बीमा गरेका रहेछन् । त्यसले केही भरथेग गर्यो । तर, के गर्ने अस्पतालको फार्मेसीमा सिटामोल र केही साधारण औषधि मात्रै पाइने ।
उपचारका लागि काठमाडौं
२० चैत दिउँसोभरको यात्रा गरेर, भाइलाई काठमाडौं ल्याए । साँझमा बसले कंलकी ल्याएर उतारिदियो । जीवनमा काठमाडौं टेकेको दोस्रो पटक थियो । तर, कहाँ जाने, कसलाई सोध्ने टुंगो थिएन । यता-उता बाटो हिँड्ने मानिसलाई सोधे । टिचिङ अस्पताल जानुपर्ने । कसैले देखाइदियो – ऊ त्यहाँबाट बस जान्छ ।’
सोधपुछ गर्दै कमजोर भइसकेका भाइलाई डोहोर्याउँदै उनी बल्ल आठ बजे टिचिङ अस्पतालमा पुगे । आकस्मिक कक्ष गए । तर, स्वास्थ्यकर्मीले सामान्य ज्वरो हो भन्दै फर्काए । उनले सबै कागजपत्र देखाउन थाले तर, स्वास्थ्यकर्मीले झर्को मान्दै भने – भर्ना गर्नुपर्दैन । भोलि ओपीडीमा देखाउनु ।’
तर, नन्द निरीह हुँदै कुनै जवाफ दिन सकेनन् । त्यहाँ कसैलाई कसैको मतलब थिएन । कहाँ बस्ने केही टुगों भएन । अस्पतालसम्म पुगेपछि कसैले त साथ सहयोग गर्छ भन्ने लागेको थियो उनलाई । त्यो भीडभाडमा उनी एक्लो भए । त्यही भएका बिरामी कुरुवाले एक होटेल देखाइदिए । तर, बेपत्ता ज्वरो आयो । के गर्नसक्थे र ! रातभर पानी-पट्टी गर्दै बसे । छेउमै रहेको अस्पतालमा लैजाने हिम्मतसमेत आएन ।
भोलिपल्ट बिहान चिकित्सकलाई देखाए । भर्ना गरियो । झिनो आशा पलायो । वार्डमा राखेका भाइ आईसीयू , भेन्टिलेटरमा राखेर उपचार भयो । तीन लाख पैसा सकियो । तर, रोग पत्ता लागेन । चिकित्सकले पुनः क्षयरोगको औषधि पनि चलाए । तर, त्यस औषधिले पनि कुनै प्रतिक्रिया देखाएन ।
‘छातीमा दाग देखिएकाले क्षयरोगको शंका गरिएको हो । तर, औषधिले कुनै प्रतिक्रिया देखाएन । अन्य फोक्सोको रोग हो भनेर परीक्षण गरेका छौ,’ डा. बम भन्छन् ।
उनको बिजोग देखेर डाक्टर बमले निःशुल्क बेडको व्यवस्था गरिदिए । अब ,थप उपचारका लागि पैसा छैन । घर लैजान समेत पैसा छैन । खानका लागि पैसा छैन ।
‘कति दिन त पैसा नभएर भोकै बसेको छु । एकछाक खाएर पनि दिन-बिताएको छु । ममसँग केही विकल्प छैन । गरिबले उपचार पाउने त यस्तै रहेछ । अब घर गएर राख्छु,’ उनी निरास हुँदै भन्छन् । चिकित्सकले भनेका छन् – भारतमा पठाएको रगतको रिर्पोट केही दिनमा आउँछ । अनि के रोग हो भन्ने पत्ता लाग्छ कि ! ‘
के गर्नु रोग पत्ता लागेर नि । ‘थप उपचारका घर, जग्गा बच्दा पनि २ लाख आउँदैन । गाउँको ठाउँमा गएर त्यही पनि कसले किन्छ र?,’ नन्द भन्छन्,’ बुढा आमा-बुमा र कलिला छोराछोरीलाई उठिवास लगाएर के गर्नु ।’
आफैंले भोट दिएर जिताएका जनप्रनिधिहरूलाई आफ्नो दुःख पोखेका छन् । तर, केही गर्न सक्दैनौं भन्ने जवाफ दिए ।
‘हाम्री जस्ता गरिबको को छ र ! चाहिने बेलामा भोट माग्छन् । अनेक कुरा गर्छु भनेका थिए’ नन्दले भने, ‘ स्वास्थ्य सेवा नै नपाएर गरिबले मर्नुपर्ने रहेछ ।’
सार्की दम्पतीको पीडा
उदास चेहराका मानिसको ओहोर-दोहोर बाक्लो छ । ओपीडी विभाग भरिराउ छ । टिकट काट्ने ठाउँमा लाइनमा उस्तै । इमर्जेन्सी कक्ष बाहिर एम्बुलेन्सको आउजाउ छ । बच्चाहरू रोएको बराबर सुनिन्छ ।
यो दृश्य कान्ति बाल अस्पतालको हो । एक तला माथिको पीआईसीयू बाहिर एक महिला मोइबाइल हेर्दै बसेकी छन् । फोनमा भएका एक बालकको तस्बीर तल-माथि सारिरहन्छिन् । सिन्धुली घर भएका नेत्र बहादुर सार्कीका (२४) दम्पतीले साढेँ तीन वर्षीय छोराको उपचारका लागि कान्ति आएका रहेछन् । अस्पताल आएपछि थाहा पाए – छोरालाई निमोनिया, क्षयरोग र मुटुमा समस्या रहेछ । हाल पीआईसीयूमा राखेर निमोनियाको उपचार भइरहेको छ ।
उपचारमा सम्लग्न चिकित्सक डा. प्रकाश जोसीका अनुसार उक्त बालकलाई ‘डाउन सिन्ड्रोम’ भएको हो ।
सामान्यतया हरेक कोषिकामा यो आनुवंशिक फरक गर्भधारणदेखि नै हुन्छ र डाउन सिन्ड्रोम भएका मानिसलाई बच्चा गर्भमा विकास भइरहँदा, बाल्यावस्था र वयस्क जीवनभरि समेत प्रभाव पारिरहन्छ ।
जसोतसो हारगुहार गरेर केही रकम ऋण मागेर सार्की दम्पती तीन हप्ता अगाडि कान्ति आइपुगेका थिए । परीक्षण गर्दा खर्च एक लाखभन्दा माथि नाध्यो । त्यसपश्चात थप उपचारका लागि पैसा भएन ।
उनको त्यो बिजोग देखेर हुनुपर्छ, एक चिकित्सकले सोधीखोजी गरे । कान्तिको सामाजिक सुरक्षा एकाइबाट उपचार गराइदिने व्यवस्था मिलाइदिए । बेड चार्ज तथा अस्पतालको भएको फार्मेसीमा भएका औषधि निःशुल्क पाएका छन् । तर, के गर्ने अन्य औषधि किन्नुपरेमा पैसा छैन ।
चिकित्सकका अनुसार हाल उक्त बालबालिका निमोनियाको उपचार भइरहेको छ । मुटुको शल्यक्रिया गर्नुपर्ने, श्वासप्रश्वास साँघुरो भएको नली खुलाउनुपर्ने हुन्छ । लामो समयसम्म अस्पतालमा राखेर उपचार गर्नुपर्ने बताउँछन् । तर, त्यसका लागि खर्च जुटाउन नेत्रको सामर्थ्य छैन ।
‘अहिलको उपचारका लागि एक लाख ऋण गरेर ल्याएको । खेतीपातीले तीन महिना खान पुग्दैन । कसोगरी उपचार गर्ने केही सोच्न सकेको छैन,’ नेत्र भन्छन् ।
फोनमा भएको फोटा हेर्दै बोलिरहँदा उनी भावुक हुन्छन् । बोल्दाबोल्दै भक्कानिन्छन् । छेउमा बसेर कुरा सुनिरहेकी उनकी श्रीमती पनि टोलाइरहेकी छिन् । बिहान-बेलुका श्रीमान्-श्रीमतीलाई छाक टार्न गाह्रो छ । कतिपय छाक भोकै बसेका छन् । केवल छोराकै उपचार लागि । नेत्रका घरमा बुढा-आमा छन् । त्यो पनि रोगी । काम गरेर खान सक्दैनन् । ज्यामी गर्दै आएका नेत्र अहिले काममा जान सकेका छैइनन् । अझै कति दिन अस्पतालको वास बस्नुपर्ने हो अन्योल छ । ‘श्वास रहन्जेल आश हुँदो रहेछ । भएको घरबार बेचेर भएपनि उपचार गर्नुपर्यो नि,’ नेत्र भावुक हुँदै भन्छन् ।’
नेता-मन्त्रीको उपचार राज्यले गर्छ, गरीबले भिख माग्नुपर्ने
माथि केही घटना त प्रतिनिधि पात्र मात्रै हुन् । नेपालीले कुल स्वास्थ्य खर्चमध्ये बिरामी र उसको परिवारले उपचारको समयमा आफ्नो खल्तीबाट गर्नुपर्ने खर्चको हिस्सा झन्डै ६० प्रतिशत छ । जुन एकदमै महँगो हो । प्रत्येक वर्ष उपचार गर्ने क्रममा करिब पाँच लाख मानिस गरिबीको रेखामुनि पर्छन् ।
जनस्वास्थ्यविद् डा. केदार बराल सरकारले भनेको आफ्नो दायित्व पूरा गर्न नसक्नलाई अपराधको संज्ञा दिन्छन् । ‘स्वास्थ्य सेवा सहज र सुलभ रुपमा हुन्छ भनेर संविधानमा उल्लेख गरिएको छ । त्यसअनुरुप नीति, नियम बनेका छन् । तर, व्यवहारमा निम्न वर्गले सेवा पाउन सकेका छैइनन् । भोलिका दिनमा सरकारविरुद्ध नै मुद्दा चल्न सक्छ,’ डा. बराल भन्छन् ।
सबैलाई स्वास्थ्य सेवा पहुँज पुर्याउनका लागि देशभरका गरिबीको पहिचान परिचयपत्र अत्यावधिक गर्नुपर्ने उनको सुझाव छ । हालसम्म २६ जिल्लामा गरिबी पहिचान भई परिचयपत्र वितरण भएको छ ।
‘संविधानले उल्लेख गरेका सबै स्वास्थ्य सेवा सर्वसुलभ रुपमा पाउने प्रणालीको विकास गर्नुपर्ने हुन्छ’ डा. बराल भन्छन्,’ विपन्न वर्गले पाउनुपर्ने सेवा पनि हुने खालेकाले लिइरहेका छन् ,’सुनिश्चिता गरेको स्वास्थ्य सेवा नपाउनु वा दिन नसक्नु राज्यले गरेको नागरिकमाथि गरेको ज्यादती हो ।’
उपचार खर्चको नाममा नेता-मन्त्री, हुनेखाने, पहुँचवालाले लाखौं-करोडौं असुल्ने गर्छन् । तर, सर्वसाधरण भने जायजेथा सकेर भिख माग्नुपर्ने अवस्था छ ।
तस्वीरहरू : चन्द्र आले
प्रतिक्रिया 4