
१३ असार, पोखरा । पोखरा पर्यटन परिषद्ले बर्सेनी गर्दै आएको रोपाइँ महोत्सव यसवर्ष पोखरा २५ हेमजामा बुधबार हुने भएको छ ।
‘पोखरा सबै मौसमका लागि’ मूल नारासहित बर्खायाममा पनि विदेशी पर्यटकलाई आकर्षिक गर्न महोत्सव गरिँदै आएको आयोजकले जनाएको छ ।
महोत्सवमा १५ हजार पाहुना आउने दाबी आयोजकले गरेको छ । जसमध्ये ५ सय जना विदेशी पाुहनामात्रै हुनेछन् । ‘यतिबेला पोखराका विभिन्न ठाउँमा रहनुभएका विदेशी पर्यटकलाई आउनेजाने सुविधासहित सकभर सबैलाई महोत्सवमा पुर्याउनेछौं,’ परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले भने ।
महोत्सवमा साउने प्रतियोगिता (हलगोरु दौड), विभिन्न आमा समूहबीच असारे गीत प्रतियोगिता, हिलोमा माछा समात्ने खुला प्रतियोगिता, हिलोमा दौड (महिला, पुरुष/विदेशी पुरुष, महिला), रस्साकस्सी (नेपाली–विदेशीबीच) र पत्रकारहरुबीच हिलो दौड प्रतियोगिता राखिएको आयोजक पोखरा पर्यटन परिषद्का अध्यक्ष भट्टराईले जानकारी दिए ।
महोत्सवमा घैंटो फुटाउने, जोडी दौड, म्युजिकल बेलुन, हिलोमा नाङ्लो दौड लगायत प्रतियोगिता पनि रहनेछ । महोत्सवमा पोखरा २५ का उत्कृष्ट किसान तथा समाजसेवीलाई पुरस्कृत गरिनुका साथै सांस्कृतिक कार्यक्रम पनि राखिएको छ ।
साउने प्रतियोगितामा पहिलो तथा दोस्रो हुने हल गोरुलाई क्रमशः ७ र ५ हजार रुपैयाँले पुरस्कृत गरिने आयोजकले जनाएको छ । त्यस्तै, असारे रोपाइँ तथा गीत प्रतियोगितामा पहिलो र दोस्रो हुनेलाई क्रमशः ७ हजार र ५ हजार रुपैयाँले पुरस्कृत गरिनेछ । अन्य प्रतियोगिताका विजयीलाई पनि लन्च तथा डिनरको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
२०६१ सालबाटै ‘पोखरा सबै मौसमका लागि’ मल नारासहित परिषद्ले निरन्तर असार १५ मा रोपाइँ महोत्सव गर्दै आइरहेको छ । प्रत्येक वर्ष फरकफरक ठाउँमा महोत्सव चलाउँदै आइएकोमा यसवर्ष हेम्जालाई चुनिएको हो । हेम्जाको करिब १० रोपनी क्षेत्रफलमा धान रोपाइँ महोत्सव गरिने परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिए ।
‘खेतीयोग्य जमिन संरक्षण, कृषिलाई व्यवसायीकरण गर्दै कृषकलाई आफ्नो पेशामा अभिप्रेरित गर्न र हाम्रो परम्परागत कृषि प्रणालीलाई पर्यटनसँग जोडेर प्रवद्र्धन गर्न महोत्सव गर्दै आएका हौं,’ महासचिव शर्माले भने ।
महोत्सवको स्थानीय आयोजकको भूमिका देवीस्थान सेवा समाजले गरेको छ । समाजले यसअघि पनि हेम्जामा हिलो महोत्सव गर्दै आइरहेको थियो । समाजका हरिशरण पौडेलले हिलो महोत्सवलाई निरन्तरता दिन र परम्परागत कृषि प्रणालीलाई हराउन नदिन सहकार्य गरिएको बताए ।
प्रतिक्रिया 4