
१ साउन, काठमाडौं । नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चको वर्तमान कार्यसमिति भंग गरिएको छ । आन्तरिक विवादका कारण गणेशप्रसाद लकान्द्रीको अध्यक्षतामा रहेको कार्यसमिति विघटन गरी मञ्चले डम्बर बराइलीको संयोजकत्वमा तदर्थ समिति गठन गरेको छ ।
निवर्तमान अध्यक्ष लकान्द्रीले संस्थालाई मनोमानी ढंगले चलाएको, हरहिसाब पारदर्शी नदेखाएको, नियमावलीलाई दुरुपयोग गरेको लगायतका आरोप लगाउँदै बराइली लगायतका अन्य पदाधिकारीहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका थिए ।
प्रशासनको रोहबरमा भएको छलफलमा लकान्द्रीले पदबाट राजीनामा दिने र तदर्थ समिति गठन गरेर चाँडै साधारणसभा मार्फत नयाँ कार्यसमिति चयन गर्ने सहमति भएको थियो ।
‘संस्था मनपरी ढंगले चलेको थियो, अब चाँडै साधारणसभा गरेर नयाँ कार्यसमिति निर्वाचित गर्छौं,’ संयोजक बराइलीले भने, ‘संस्थालाई सबैको साझा बनाएर अघि बढाउने हाम्रो अठोट छ ।’
लकान्द्रीले भने आफूमाथि लगाइएका आरोप निराधार रहेको दाबी गर्दै आएका छन् ।
२०७२ सालमा स्थापना भएको मञ्चले सुनचाँदी व्यवसायीको हकहित तथा यस क्षेत्रका मुद्दा उठाउँदै आएको छ । लकान्द्री स्थापनाकालदेखि नै मञ्चको अध्यक्ष रहँदै आएका थिए । संयोजक बराइली निवर्तमान वरिष्ठ उपाध्यक्ष हुन् ।
प्रतिक्रिया 4