+
+
बाबुरामलाई पत्र :

चुनाव नजिकिएसँगै अडान किन डगमगाउँछ दाइ ?

माओवादी नामको घरमा रातो स्टिकर टाँसेर वैकल्पिक राजनीतिक यात्रामार्फत समाजवादी बाटोमा हिंड्न लाग्नुभएको तपाईंलाई क्षेत्रीय दल हुँदै फेरि हँसिया हथौडा लिएर रातो स्टिकर भएको घरमा मक्किएको लिस्नु चढ्नुपर्ने बाध्यता कसरी, किन र कसका लागि आइपर्‍यो ?

सौगात पोखरेल सौगात पोखरेल
२०७९ साउन ३१ गते ९:२९

प्रिय बाबुराम दाइ लालसलाम !

तपाईंलाई यो पत्र लेखेकोमा तपाईंप्रतिको विश्वास डगमगाएको नबुझ्नुहोला। बरु तपाईंकै पथमा हिंडिरहेको व्यक्तिले प्रश्न गरिरहेको भन्ने बुझेर उत्तर दिनुहोला। सायद तपाईंले पढेर मुस्कुराएर मात्र छाड्नुहुन्न भन्ने मलाई आशा छ। याद छ- कुनैबेला तपाईं आफूलाई प्रश्न गर्ने मान्छे खुब मनपर्छ भन्नुहुन्थ्यो नि !

माओवादी नामको घरमा रातो स्टिकर टाँसेर वैकल्पिक राजनीतिक यात्रामार्फत समाजवादी बाटोमा हिंड्न लाग्नुभएको तपाईंलाई क्षेत्रीय दल हुँदै फेरि हँसिया–हथौडा लिएर रातो स्टिकर भएको घरमा मक्किएको लिस्नु चढ्नुपर्ने बाध्यता कसरी, किन र कसका लागि आइपर्‍यो ?

वैकल्पिक राजनीतिको उभारलाई सही तरिकाबाट नेतृत्व गर्न नसक्दा नेपालको राजनीति कति समय पछि धकेलियो ? त्यसको जिम्मा तपाईंले पनि लिने कि नलिने ? अरु बेला देशको कुरा गर्ने बाबुरामलाई किन चुनाव आएपछि आफ्नो जितको मात्र चिन्ता हुन्छ ? अघिल्लो चुनावमा वैकल्पिक राजनीतिको रापतापबाट वाम एकतातिर कमलादीमा लालसलाम गर्न पुग्ने तपाईं कति दिन त्यो एकतामा टिक्नुभयो ?

वाम एकताबाट गोरखाको टिकट नमिल्ने भएपछि शेरबहादुरको शरणमा परेर निर्वाचन लड्नुपर्ने र वाम एकताको बाटो छाड्नुपर्ने बाध्यता तपाईंको एक सांसद पदको लागि मात्र थियो ? होइन भने अरूले किन चुनाव जितेनन् ?

फेरि अहिले चुनाव आउन लागेपछि माओवादीसँग ओत लाग्न पुग्नुभएछ। औचित्य सकिएको माओवादी आन्दोलनको औचित्य तपाईंलाई एक सिट दिंदा मात्र पुष्टि हुन्छ कि अरु केही राजनीतिक र वैचारिक सुधार आवश्यक हुन्छ ?

तपाईं बडो लोकतन्त्रको कुरा गर्नुहुन्छ। तपाईंले नेतृत्व गरेको पार्टीमा आजसम्म कहीं प्रतिस्पर्धा वा निर्वाचन भएको छ ? तपाईंलाई टिके नेता किन नभन्ने ? केही व्यक्तिहरूको राजनीतिक स्वार्थपूर्तिका लागि मात्र तपाईं नेता हो कि नयाँ राजनीतिक बाटो निर्माण वा पुरानो राजनीतिको कोर्स करेक्सनका लागि ? होइन, पुरानै बाटो हिंड्नुथियो भने त यो बितेका केही वर्षमा तपाईंले हजारौं युवाको ऊर्जाशील उमेर खेर फालिदिनुभयो। अब तपाईंलाई यी ऊर्जाशील सपनाको घाँटी थिचेको आरोप लगाउने कि नलगाउने ?

आसेपासे र आफन्त पोस्न क्रोनी क्यापिटालिज्मको कुरा गर्ने तपाईं त्यसैको जालोमा किन फसिरहनुभएको छ ? एकतापछि माओवादी दुई नेताका आफन्तहरूको हुलुमुलु नै स्थायी समिति बन्ने हो कि भन्ने खतरा थप बलियो बनेको छ। मलाई सबैको नाम लिएर समय बर्वाद गर्नु छैन। भन्न खोजेको कुरा बुझिहाल्नुभयो होला किनकि तपाईं बुझकी हुनुहुन्छ।

यात्रामा भेटिनु र छुट्टिनु कुनै नौलो कुरा होइन तर यात्रामा ड्राइभर नै छुटिगयो भने त बिजोग पो भइजान्छ। त्यसो त, पार्टीका यात्रुहरू बसका यात्रुहरू होइनन्। जोसँग चिनजान हुँदैन र भावना पनि जोडिएको हुँदैन। पार्टीका नेता कार्यकर्तालाई बसका यात्रु र पार्टीलाई केवल साधनको रूपमा सीमित गरिदिने तपाईंको विचार र व्यवहार मरूभूमिभन्दा पनि रुक्खासुख्खा लाग्छ।

जेहोस्, तपाईं बस फेरेको फेर्‍यै गर्नुहुन्छ। त्यो बस फेर्नु पछाडिको उद्देश्य कतै तपाईंको निजी महत्वाकांक्षा र मुलुकको बृहत्तर हित होइन कि भन्ने प्रश्न किन बलियो हुन थालिरहेको छ ?

पद नलिई पनि गान्धी अमर छन्। मण्डेला सम्मानित नै छन्। तर तपाईं त प्रधानमन्त्रीको कुर्सीमा बसिसक्नुभएको मान्छे। नयाँ पुस्ताको लागि आफ्नो क्षमता समर्पित गर्न किन हिच्किचाइरहनुभएको छ ? तपाईं पनि दुईचार थान सांसद पदका लागि आफैंसँग छुटिजानुभएको विचारविहीन लोभी र स्वार्थी नेता त होइन ? यसो भनेर आरोप लगाउनेहरूलाई तपाईं जवाफ दिन सक्नुहुन्छ ?

उम्मेदवारीको टुङ्गो नलाग्दासम्म तपाईं कडा माओवादी भएर प्रस्तुत हुनुभयो भने पनि मलाई अनौठो लाग्दैन। तपाईंलाई कमलादी पुगेर वाम एकता जिन्दावाद भन्न र केही दिनपछि टिकट नपाएपछि वामहरूलाई गाली गर्न अलिकति लाज र संकोच लागेन। वाम एकता हुनेभयो भनेर टिकटका लागि काठमाडौं धर्ना दिन बसेका कार्यकर्ताहरू तपाईंले सिट नपाउँदा निराश भएर फर्कनुपरेको थियो।

तपाईंको लाज जोगाइदिन हामीजस्तो फुच्चेहरूले निर्वाचन फेस गर्नुपरेको थियो। जुन मेरा लागि धेरै कुरा सिक्ने अवसर थियो।

अहो मेरो निराशा, कुण्ठा र तपाईंप्रतिको विश्वास अलि लामै पो भइगयो त पत्र पनि। आज पनि बाबुरामप्रति प्रेम बाँकी छ। प्रेम र भावना नजोडिएको मानिसलाई प्रश्न गर्नुको औचित्य बाँकी रहँदैन। त्यही भएर म यी प्रश्नहरू तपाईंलाई गरिरहेको छु।

मलाई एउटा कुरा मात्र अजीव लाग्छ- बाबुरामलाई चुनावको मुखमा के चिजले गलत निर्णय लिनका लागि बाध्य गराउँछ ? स्टिकर लागेको घरमा मक्किएको लिस्नो भाँचिएर तपाईंलाई कम्मरमा भिरेको खिया लागेको हँसियाले नकाटोस्। हथौडा उछिट्टिएर टाउकोमा नलागोस्। शुभकामना !

उहतपाईको

सौगात पोखरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?