
१० भदौ, पोखरा । सैनिक आवासीय महाविद्यालय पोखरामा कक्षा १२ की श्रृया सुवेदी व्यवस्थापन संकाय पढ्छिन् । व्यवस्थापन संकाय लिएर पढे पनि व्यावसायिक रुपमा बजारसँग उनी खासै नजिक थिइनन् ।
सामान बनावट, बजारिकरण, बिक्री वितरण सुवेदीले कहिल्यै राम्ररी भोगेकी थिइनन् । तर, शुक्रबार विद्यालयकै प्रांगणमा उनी घरायसी सामान बेच्दै गरेको भेटिइन् । सामान बेच्न सुरु गरेको केही घण्टामै सबै सामान सकिएपछि शिक्षक नवराज बरालसँग भनिन्, ‘सर, ल्याएको सबै सामान सकियो । अरु सामान लिन जानुपर्ने भयो ।’
बरालले खुसी हुँदै सोधे, ‘गजब ग¥यौ । कति रुपैयाँको सामान बेच्यौ नि ?’
‘१४–१५ हजारको बिक्री भयो कि सर’, विद्यार्थी सुवेदीले जवाफ दिइन् ।
त्यसपछि श्रृया आफ्नो अर्थशास्त्रका शिक्षक नवराजको गाडी चढेर पसलको सामान किन्न कुदिन् ।
पोखरा महेन्द्रपुलस्थित सैनिक स्कुलका कक्षा १२ मा अध्ययनरत विद्यार्थीले स्कुलकै प्रांगणमा व्यापार मेला आयोजना गरे । जसमा श्रियाजस्तै कक्षा १२ का सबै विद्यार्थीले व्यावहारिक रुपमा व्यापार सिकेका छन् । उनीहरुले सामान्य मास्क वितरणदेखि इलेक्ट्रिक स्कुटर, जीवन बीमा, बैंक, दैनिक उपभोग्य सामग्री, स्टेसनरीदेखि तथा होटल तथा रेस्टुरेन्ट सञ्चालनसम्मका उपाय प्रत्यक्ष अनुभव गर्न पाए ।
प्रांगणमा विभिन्न सामग्रीका २२ वटा स्टल राखिएका थिए । जसमा विद्यार्थी आफैंले डिलर, होलसेलरसम्म पुगेर सामान खरिद गरेर मेलामा बिक्रीका लागि राखेका थिए । महिलाहरुको श्रृंगार सामानको स्टल राखेका पुष्पा शर्मा, रोजिना लामिछाने, धनिच्छा गुरुङ, सविना श्रेष्ठ र कृतिका केसीको समूहले ४५ हजार रुपैयाँ बराबरको सामान बेच्न राखेका थिए ।
‘हामीले यहाँ धेरै सामान बुटवलबाट अनलाइन नै मगाएर राखेका छौं । सकेसम्म यही मेलमा बेच्छौं । नभए अनलाइनमै बेच्ने गरी तयारी पनि गरिसकेका छौं,’ पुष्पाले भनिन्, ‘यो कन्फिडेन्स यही मेलाले दिएको हो ।’
मेलामा इलेक्ट्रिक स्कुटरबारे जानकारी दिन खटिएका पवन सुवेदीले स्कुटरबारे जानकारी लिन आउनेको भिड देख्दा नेपालमा इलेक्ट्रोनिक सामानको राम्रो सम्भावना रहेको थाहा पाए । ‘कति धेरैले स्कुटरबारे बुझ्न आइराख्नु भएको छ । उहाँहरुलाई बुझाउँदै पनि आइराखेका छौं,’ उनले भने, ‘पेट्रोलियम पदार्थ खपत घटाएर विद्युतीय सामग्री उपभोग बढाउनेबारे जानकारी दिन पाउँदा मलाई पनि खुसी लागेको छ ।’
मेलामा सहभागी हुन आएका अभिभावक गीता केसीले विद्यार्थीले राखेको पुस्तक पसलबाट करोडौं कस्तुरी किनिन् । विद्यार्थीको ‘बार्गेनिङ’ क्षमता देखेर उनी छक्क थिइन् । ‘धेरै खुसी लाग्यो । हामी अभिभावकले पनि सिकाउन नपाएको कुरा स्कुलबाटै सिक्ने मौका पाएका छन्,’ उनले भनिन् ।
मेलामा विद्यार्थीले नै सांगीतिक प्रस्तुति पनि दिएका छन् । जसमा उनीहरुले आफैं टिकटको व्यवस्था गरेर इभेन्ट आयोजना गरेका हुन् । मेला एक दिनका लागिमात्रै आयोजना गरिएको हो ।
मेलाको उद्घाटन गर्न आउका मध्यकमाण्ड हेडक्वार्टर, पोखराका महासेनानी मदन बञ्जारा विद्यार्थीसँग बातचित गर्दै पढाइमा सिकेको कुरा व्यवहारमा पनि उत्तार्न विद्यार्थीलाई सुझाए । ‘मासले के चाहन्छ, त्यो पनि हेर्नुुपर्छ । तर, त्यसो गर्दा के सहि, के गलत पनि बुझ्नुपर्छ,’ उनले भने ।
मेलाका संयोजक तथा शिक्षक उपेन्द्र पौडेलले विद्यार्थी आफैं बजारमा गएर आफैैं सामान डिल गरेर मेलामा बेच्न राखेका हुन् । मेलाबाट प्राप्त आम्दानी उनीहरुले आफ्नै लागि खर्च गर्नेछन् ।
‘व्यवस्थापन पढेका विद्यार्थीले सैद्धान्तिक कुरा धेरै सिक्छन् । तर, त्यो स्कुलको गेटबाट बाहिरिएपछि व्यवहारमा प्रयोग गर्दैनन्, टाउकोमात्रै हुन्छ,’ शिक्षक पौडेलले भने, ‘उनीहरुलाई कसरी सामान किन्ने, कसरीबेच्ने यो मेलाले सिकाएको छ ।’
प्रतिक्रिया 4