
नेपाल फर्किएपछि मैले गोर्खे शब्द भुलेको थिएँ । हुन त देशमा गोर्खे शब्दमा पनि मतमतान्तर छ । म यसको सामाजिक र राजनैतिक अर्थसँग खासै परिचित छैन र सरोकार पनि राख्दिनँ । तर देश छाडेपछि भने एक नेपालीले अर्को नेपालीलाई गोर्खे नै भनेर सम्बोधन गर्ने चलन म गएको देश दक्षिण कोरियामा पनि छ ।
म आफैं पनि दक्षिणकोरियाको एक गोर्खे कार्यकाल सकेर नेपाल आएको छु र अर्को एक गोर्खे कार्यकालको लागि ईपीएसको कार्यालयमा छु । यही ईपीएस कार्यालयमा गएको अमूक व्यक्तिले कोरिया जाँदै गरेको एक युवालाई गोर्खे भनेपछि मैले फेरि यो शब्द सम्झिएँ । यो चौरमा म जस्तै धेरै युवा गोर्खे बन्न आएका छन् । मैले यो डायरी तिनै गोर्खेहरूको नाममा लेखेको हुँ ।
ग्वार्को चोकबाट बालकुमारी नपुगी देब्रेतिर भित्र पसेपछि सधैं हल्लाखल्ला र भीडभाड देखिन्छ । आज पनि कुनै मेला भर्न गए जस्तो चौरभरि मानिस जम्मा भएका छन् । बिहानको ११ बजे बोलाइएका हामी तोकिएको समय भन्दा पनि धेरै लामो समयसम्म अलमलमा बस्छौं । कुन बेला ? को ? कहाँ आएर ? के आदेश जारी गर्छ ? भनेर घरी कार्यालयको ढोकातिर र घरी कार्यालय नजिकैको सडकमा हिंड्ने भव्य गाडीतिर आँखा दौडाउँछौं ।
आज शनिबार भएकाले कार्यालयमा दुई जना मात्र छन् । एक जना सामान्य लवाईखवाई वाला, अर्को अलि ठेकेदारी आदमको व्यक्ति । सामान्यलाई छाडदिऊँ । सामान्यहरूको कथा सामान्य नै हुन्छ । असामान्य चैं हातमा मोटो ब्रासलेट, औंलाभरि औंठी र घाँटीमा हाम्रा गाउँले भैंसीको दाम्लो भन्दा ठूलो र भव्य सिक्री लगाएका मनुवा छन् ।
उनको गहना र सजावटसँग मेरो न प्रेम न दुस्मनी नै छ । बेला बेलामा चौरमा आउने र ठूलो ठूलो स्वरमा कराउने उनी त्यहाँ भएकै बेला एउटा बाइक आयो । बाइक छेउमा नपुग्दै उनले आदेश दिए, ‘ओइ त्यो उता लैजा’ । बाइकवाला युवाले आफ्नो बाइक बीच चौरमा नै रोकेर ती मनुवासँग झोंक्किए ।
ठेकेदार जस्तो मनुवाले तँ भनेको हुनाले युवालाई रिस उठ्नु सामान्य नै थियो । कसलाई तँ भनेको भन्दै आएपछि ‘तिमीलाई भाइ बाइक उता लैजाऊ’ भन्दा ती युवा झनै तातिए । यो देखेर ती मानिस बर्बराउँदै कतै लागे, ‘…गोर्खे जाने बेला कोरिया जाँदैछ फुर्ती छ, अमेरिका जाने जस्तो !’
‘… अमेरिका नजाने मान्छे चैं मान्छे हैन ?’ युवक रन्थनिंदै आफ्नो एफजेट कुनामा लगेर अड्याए र भीडमा कतै हराए । मेरो मनमा भने अघिकै चर्को वार्ताको परकम्पन चलिरहेको थियो । यसरी श्रम बेच्न जानेप्रति आम मानिसदेखि लिएर देशका बौद्धिकसम्मको बुझाइ एकदमै फरक किसिमको हुन्छ ।
युरोप, अमेरिका लगायत केही देश र महादेशमा जाने कुरा र यसको प्रतिष्ठाको स्तर नै अलग्गै हुन्छ । उनीहरूका लागि जोडी मिलाइदिने, सँगै ठाँटिएर सेल्फी लिनेदेखि शुभकामना दिनेसम्मको हैसियत नै अर्को हुन्छ ।
जिन्दगी धान्ने जस्तो सामान्य कुरा पनि आफ्नै भूगोलमा गर्न नसकेर विशेषतः श्रम बेच्न जाने गोर्खेहरूको के हैसियत ? के स्वाभिमान ? तर मर्नु भन्दा बौलाउनु निको । स्वदेशमै बसेर आफ्नालाई भोकै मार्नु र आफू पछुताउँदै मर्नु भन्दा गोर्खे बन्न लाइनमा लाग्नु नै श्रेयष्कर छ ।
साउनको दिन आकाशमा बादल हटेको छ । तालु सेक्ने प्रचण्ड घाम छ । ईपिएसको यो साँघुरो, हिलाम्य चौरमा आँखाभरि कोरिया गएर धन कमाउने सपना बोकेका निर्दोष आँखाहरू छन्, छिट्टै प्रियतम वा प्रियसीसँग छुट्टिनुपर्ने भयले त्रसित आँखाहरू छन् ।
नानीहरू बाबुहरूका अंग्रेजी वर्णमालामा नाँचिरहेका रंगीन आँखाहरू छन् । बाबुको दमको ओखती र आमाको ग्याष्टिकको गोली सम्झिरहेका विस्मित आँखाहरू छन् । र; अज्ञात देश, अन्जान शहर, अज्ञात मानिससँगै अनिश्चित भविष्यले पिरोलिएका व्याकुल आँखाहरू ।
चौरभरि सबै आएका छन्, बस कर्मचारी आउँदैनन् । गोर्खेहरू सबै–सबै नियतिको लगाममा छन् । बस् अड्डाका मानिसहरू बेलगाम छन् । हुन त यो देश यस्तै यस्तै संयोगमा बनेको छ । जनता सबै–सबै लगाममा छन् । बस् राजसीहरू बेलगाम छन् ।
अघिसम्म पातलो भीड झन्झन् बाक्लिंदैछ । लामो नाक भएको खस, थ्याप्चे नाक भएको मंगोल, काँधभरि घरको बोझ बोकेको केटो, शिरसम्मै जिम्मेवारी धानेकी केटी सबै छरपस्ट छन् । मेरो मन आफैंलाई सोध्छ, यी मानिस हुन् या मेसिन ? यीमध्ये कति यसै फर्किएर आउलान् ? कठोर श्रमले गर्दा कति रोग लिएर आउलान् ? कति आफ्नै पैतालामा ठमठम आउलान् ? र, खै कति बाकसमा आउलान् !
यी प्राणहरू हुन् या रोबोर्ट हुन् ? एक सिजन कोरिया बसेर आएको मेरो मन कता–कता जान्छ । कुनै समय संसारमा यस्ता दिन पनि थिए कि सबैभन्दा धनी त्यही मानिस हुन्थ्यो जसका धेरैभन्दा धेरै दास हुन्थे । महिला दास, पुरुष दास, युवा दास र वृद्ध दास । दासहरूको बस्तुसरह मोलमोलाई र किनबेच हुन्थ्यो ।
पुरुष दासहरूको तुलनामा महिला दासहरूको महत्व र दुःख दुवै बढी थियो । मालिकहरूका लागि यो शानको कुरा थियो । दासहरूको लागि यो भाग्यको खेल । अहिले जमाना बदलियो । दासहरूको पनि स्वरूप बदलियो ।
आधुनिक दास भएको नाताले ती दासहरूलाई मेरो अघात प्रेम छ । तुलना गर्न मन लाग्छ दासहरूका निम्ति त्यो दिन र आज के फरक छ ? ती दास र हामीमा के फरक छ ? उनीहरूलाई मालिकले बेचे, गोर्खेहरूलाई देशले बेच्छ । बस् यति नै त हो !
कतै टुसुक्क बसौं, बस्ने ठाउँ छैन । एक गिलास पानी खाऊँ धारा छैन । घाम मात्र छलौं भने पनि थोरै छहारी समेत छैन । बल्ल १ बजेतिर कर्मचारी देखिए । अलि अग्लो रूखको छहारी भएको स्थानमा उभिएर उडान नं. र नाम अनुसार बोलाउँदै हामीलाई लाममा लगाउन थाले । करिब २०० जना जति लाममा लागेपछि कार्यालयका कर्मचारीले लम्मेतान भाषण दिन थाले ।
के गर्नुपर्ने ? के गर्नु नपर्ने ? के खान हुने ? के खान नहुने ? के लैजान पाइने ? के लैजान नपाइने ? यी सबै जान्न आवश्यक छ र जान्नका लागि लाइन अनिवार्य छ, भाषण पनि । तर शीतल र शान्त वातावरण गोर्खेहरूको भने नसिब नै हुन्न ।
दशैंका खसी–बोका जस्तो एउटा चौरमा कोचाकोच र ठेलमठेल गरेर नियमहरू सुन्नुपर्छ । प्रश्न गर्न सकिंदैन । बस् हस भन्नुपर्छ । सायद यही सुविधाका लागि गोर्खेहरू रेमिट्यान्स पठाउँछन् । यसभन्दा जाति त परदेश नै सही कोरियामै हाइसञ्चो छ । जहाँ जानुस्, आरामले बस्न सक्नुहुन्छ । लाग्दो पैसा तिरेपछि चाहिंदो सेवा सजिलै लिन सक्नुहुन्छ ।
शताब्दी अगाडिको कुरा, विश्वयुद्ध चलिरहेको थियो । पहिलो र दोस्रो विश्वयुद्धले संसारका धेरै मानिसको जीवन छिन्यो । सम्पत्ति पनि सकियो तर केही यस्ता मानिस र देश थिए जसले युद्धलाई प्रयोग गरेर आफ्नो सत्ता पनि जोगाए र धन पनि कमाए ।
नेपालमा त्यो बेला राणाशासन थियो । जहानियाँ शासनले यस्तो मौका छाड्ने कुरै भएन । गाउँगाउँबाट योग्य युवाहरू खोजेर मर्न पठाएसँगै यसले धेरै कुराको सुरुवात गरेको थियो । राणाकालमा दास प्रथाको उन्मूलन भएकोमा आज पनि जयजयकार गर्दा कसैले याद गर्दैन ।
यही बेलादेखि हाम्रो देशमा उमेर पुगेका, शारीरिक हिसाबले योग्य, तन्दुरुस्त युवाहरूलाई सरकारकै दलालीमा देश छाड्न लगाउने प्रथाको सुरुवात भयो । आर्थिक हिसाबले यो राम्रो देखिए पनि सामाजिक, मनोवैज्ञानिक र पारिवारिक हिसाबबाट भने यो उथलपुथलवाला थियो । जुन आजसम्म पनि चलिरहेको छ ।
जेहोस्, लामो भाषण, चर्को घाम र अस्तव्यस्तताको बीच उहिले विश्वयुद्ध भिड्न गएका, अपाङ्गता भएर आएका, उतै हराएका र गोली खाएका जिजुबा लाहुरे र हजुरबा लाहुरेहरूलाई यो आधुनिक गोर्खेको सलाम छ ।
मानिसले देश छाड्नेहरूलाई सामान्य रूपमा लिन्छन् । अझ आफ्नै मर्जीले देश छाडेको मान्छन् । कतिपय त गरिखान नसकेरै पलायन भएको मान्छन् तर यसको कारण भने व्यक्ति मात्र हो कि होइन भनेर बुझ्न खोज्दैनन् ।
आफ्नै घरको हालत, देशको मति, दुनियाँको चलन र थोरै थोरै राम्रो लगाउने, मीठो खाने, आफ्नाहरूलाई सुख दिने रहरले देश छाड्नुपर्छ भन्ने कुरा देश छाड्नेलाई समेत थाहा नहुँदो रै’छ । नेपालदेखि कोरिया बसाइसम्मका विभिन्न समस्या, नियम र प्रक्रियाका बारेमा गोर्खेहरूलाई सम्झाउने काम सकिएपछि अब टोपी, ज्याकेट र राहदानी बाँड्ने कार्यक्रम चल्दैछ ।
राहदानी त अनिवार्य नै हो टोपी ज्याकेट बाटामा कामदार नहराओस् भनेर पहिचान गर्न लगाउनै पर्नै पोशाक हो झैं बनाइएको छ । यतिबेला ४५ डलर तिरेर पाएको कमसल ज्याकेट र टोपी आफ्नो देशले दिएको अन्तिम उपहार मानेर बोक्दै भीड विस्तारै पातलिंदैछ ।
ईपिएसको काम सकिएपछि अब कोभिड परीक्षणको रिपोर्टसहित क्यूआर कोर्ड बनाउने कार्य बाँकी रहेको छ । यो कोभिडको महामारीपछि सुरु भएको अर्को व्यथा हो । उसो त कोभिडले केहीलाई धेरै दियो । त्यस्तै कोभिडले धेरैको धेरै कुरा लियो पनि ।
संक्रमण हुने र मृत्यु हुने भन्दा बाहेक पनि यसले सामान्य मानिसको जीवन थप समस्याग्रस्त बनायो । जस्तो अहिले नेपालमा विदेश जानेहरूलाई कोभिडको परीक्षण अनिवार्य छ । यो नियम नियमसंगत भएमा खराब कुरा होइन । यद्यपि हाम्रो देशमा भने यो परीक्षण बिरालो बाँधेर श्राद्ध गरे जस्तै कर्मकाण्डी छ । कोभिड परीक्षण गर्न अस्पताल जाँदा नै कोभिड संक्रमण हुने उच्च सम्भावना छ ।
ईपिएसको गेटबाट निस्कँदै गर्दा फेरि पनि आफ्नो देशमै अपमानित भएको अनुभूति हुन्छ । यति दुःख र हैरानीबाट प्राप्त लोकतन्त्रको नामोनिसान छैन । हुनत लोकतन्त्रमा एउटा नागरिक नै सर्वोच्च हो । तर, हाम्रो भागमा उही दुःख, अपमान र तिरस्कार मात्र छ ।
म त झनै गोर्खे, मलाई लागेका कुरा डायरीमा नोट गर्ने बाहेक अहिलेको संरचना, नेतृत्वको कार्यशैली र हाम्रो इतिहासका कुरा तथा यसका विभिन्न आयाम खोतल्न मेरो ल्याकत र क्षमता दुवै छैन । मैले लेख्ने र लेख्न खोजेको कुरा भनेको सामान्य भोगाइको कथा हो ।
यो भोगाइ तिनै युवा जमातको हो जो आफ्नो श्रम बेच्न अन्य देशमा जान बाध्य छन् । यो अस्तव्यस्तता तिनैले भोग्नुपर्छ जसको पसिना र रगतबाट देशको अर्थतन्त्र धानिएको छ ।
प्रतिक्रिया 4