
काठमाडौं । भारतीय लोकसभा सदस्य तथा पशु अधिकारकर्मी मेनका गान्धीको उपस्थितिमा डकुमेन्ट्री ‘माका दूध’को प्रिमियर काठमाडौंमा गरिएको छ ।
बानेश्वरस्थित वान सिनेमाजमा आयोजित प्रथम प्रदर्शनीमा वातावरण वैज्ञानिक, पशु अधिकारवादी, चिकित्सक, राजनीतिज्ञ र सञ्चारकर्मी सहभागी रहे ।
डा. हर्ष आत्माकुरी निर्देशित १२६ मिनेट वृत्तचित्रले पेसा छाडेर पशु अनुसन्धानमा बहादुरीपूर्वक लाग्ने एक चिकित्सकको कथा भन्छ । अन्तर्वार्ता शैलीमार्फत प्रस्तुत डकुमेन्ट्रीमा दुग्ध व्यवसायको सत्यता, दिगोपन र नैतिकताको कथा प्रस्तुत गरिएको छ ।
भारतको ह्वाइट रिभोलुसनमाथि आधारित डकुमेन्ट्रीले त्यहाँको डेरी संरचना र त्यसको सामाजिक प्रभाव पेस गर्छ । साथै, कसरी भारत संसारकै बिफ मासु निर्यात गर्ने मुलुक बन्यो भन्ने चित्रण पनि गर्छ ।
निर्देशक आत्माकुरीले फिल्मले शीर्षकभन्दा पनि मातृत्वलाई सम्झाउने बताए । डकुमेन्ट्रीमा नेतृ मेनका गान्धीसहितका २२ जना अधिकारवादी, राजनीतिज्ञ र किसानसँग संवाद गरिएको छ ।
नेपालमा आयोजना भएको भिगन महोत्सवको छेकोमा फिल्म प्रिमियर गरिएको हो । भारत, चीन, जापान, क्यानडा, इन्डोनेसिया, बेलायत, अमेरिकासहित ३० भन्दा बढी मुलुकका भिगनहरु यतिबेला काठमाडौं आएका छन् ।
फिल्म प्रिमियरमा बोल्दै नेतृ गान्धीले पछिल्लो समय संसारभर भिगनहरुको संख्या बढेको र त्यसको छाप नेपालमा पनि परेको देख्न पाउँदा खुसी लागेको बताइन् । उनले उक्त अवसरमा गढीमाई मेला रोक्न समेत आग्रह गरेकी थिइन् ।
कार्यक्रमको आयोजक संस्था वल्र्ड भिगन अर्गनाइजेसन नेपालका अध्यक्ष सुरेशप्रसाद शर्माले महोत्सवमा जुटेको सहभागिताले आफूहरुलाई उत्साहित पुगेको बताए । उनका अनुसार दक्षिण एसियामा भिगनको अन्तर्राष्ट्रिय महोत्सव गर्ने नेपाल पहिलो हिमाली मुलुक समेत हो ।
प्रतिक्रिया 4