
१४ असोज, काठमाडौं । किरात राई यायोख्खाले २१ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । असोज ८ गतेदेखि १० गतेसम्म भएको यायोख्खाको ११ औं राष्ट्रिय महाधिवेसनले पारित गरेको घोषणा पत्र नवनिर्वाचित केन्द्रिय कार्यसमितिले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको घोषणापत्रमा संघीय गणतन्त्र नेपालको प्रदेश १ लाई किरात प्रदेश नामाकरण गर्नको लागि निर्णायक आन्दोलन गर्ने, मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनमा प्रदेशको नाम किरात प्रदेश राख्न घोषणा पत्र ल्याउन पार्टीहरुलाई आह्वान गर्दै किरात राई प्रदेश नाम राख्न पहल गर्ने, झापाको लखनपुरमा रहेको आदिवासी जनजाति रंगशालालाई सोही नामले स्थापित गराउनका लागि पहल गर्ने उल्लेख गरिएको छ ।
साथै विद्यालयहरुमा किरात राई समुदायको मातृभाषामा पठनपाठन हुँदै आएका पुस्तकहरु किरात सिरिजङगा लिपिमा परिणत गर्दै लिपिको व्यापक प्रयोगका लागि माहौल बनाउने, संविधानतः धर्म निरपेक्ष मुलुक घोषणा भैसकेको सन्दर्भमा धर्मको नामबाट हुने सबैखाले हस्तक्षेत्र र दमनको घोर भत्सर्ना गर्दै धर्म निरपेक्षताको पूर्ण कार्यान्वयनका लागि नेपाल सरकार समक्ष जोडदार माग गर्ने जनाएको छ ।
पत्रकार सम्मेलनमा यायोख्खाका पूर्व अध्यक्ष तिलक राईले घोषणा पत्र अनुसार सबै एकजुट भएर लागे सम्भव हुने बताए । उनले भने ‘किरात राई जातिको पहिचान र अधिकार स्थापित गर्न सबै राईहरु एकजुट हुनुपर्छ । सबै एकजुट भएर प्रदेशको नाम किरात प्रदेश राख्न दबाब दिनुपर्छ र सकिन्छ ।’
यायोख्खाका सह–अध्यक्ष ज्ञान बहादुर राईले घोषणा पत्रमा उल्लेख भएको बुँदाहरुलाई सार्थकता दिन लागिसकेको बताए । उनले भने ‘घोषणा पत्रमा समेटिएको बुँदाहरुमा काम गर्दै आईरहेका नै छौं । थप शसक्त रुपमा लागिसकेका छौं ।’
प्रतिक्रिया 4