
एउटा क्याफे। ठिक्कको क्याफे। सायद औसत भन्न मिल्छ। तर मलाई औसत शब्द त्यति मन पर्दैन। औसत शब्द आफैंमा कस्तो औसत सुनिन्छ। यसरी औसत भन्दा केहीलाई, कोहीलाई ज्यादै नै तौलिएको, नापेको जस्तो सुनिन्छ। त्यसरी अरूलाई मूल्याङ्कन गर्ने आफ्नै सोचाइ, हेराइ नै कस्तो औसत लाग्छ।
एउटा क्याफे, सानो चिटिक्कको बगैंचा भएको। बगैंचाभरि आउटडोर प्लान्टका साथै केही सिजनल फूलहरू फुलिरहेका। बगैंचातिर फर्किएको ओपन बार। बारमा विभिन्न प्रकारका विदेशी स्वदेशी अल्कोहोलिक, ननअल्कोहोलिक पेयपदार्थहरू सजिएका। फिल्टर-कफीको बास्ना आइरहेको बारसँग जोडिएको कफी काउन्टर। बगैंचाको बीच–बीचमा छरिएका मार्बलका पाँच टेबल। टेबललाई घेरिरहेका कुर्सीहरू। भित्र हलमा चारजोडी टी-टेबल सहितका सोफासेट। अर्को हलमा सेटअप सजिएको आठवटा टेबल।
कोही एक्लै, कोही जोडी, कोही साथीहरू, कोही परिवारसँग खाइरहेका। रमाइरहेका। हल्ला, हाँसोहरू गुन्जिरहेका। पृष्ठभूमिमा बजिरहेको गीतसँगै हुक्का र चुरोटबाट फुस्किएका धुँवाहरू नाचिरहेका।
म बगैंचामा फर्किन्छु। एउटा टेबल ओगटेर बस्छु। भिरेको झोला फुकाल्छु। झोलाबाट ल्यापटप निकाल्छु र टेबलमा राख्छु। चुरोटको बट्टा र लाइटर पनि राख्छु। मोबाइल साइलेन्ट मोड बनाएर राख्छु। लगाइरहेको चश्मा फुकाल्छु। हेडफोन झिक्छु। शरीर तन्काउँछु। आफूलाई हलुका महसुस गर्छु।
पुनस् आफ्नो नजर चारैतिर ओछ्याउँछु। एउटा टेबलमा एक अधबैंसेलाई देख्छु ल्यापटपमा घोत्लिरहेको। उसको सम्मुख देख्छु फ्रेसजुसले भरिएको गिलास। बगैंचामा भएका अरू टेबलहरू ग्राहकहरूलाई कुरेर बसिरहेका हुन्छन्।
म नजर मोड्छु आफ्नै टेबलतिर।
वेटर आउँछ मेनु लिएर अर्डर लिन। म मेनु नै नहेरी माग्छु, डबलसट अमेरिकानो। ऊ मेरो अर्डर च्यापेर फरक्क फर्किन्छ।
टेबलबाट चश्मा उठाउँछु र लगाउँछु। ल्यापटप अन गर्छु। हेडफोनलाई ब्लुटुथ कनेक्ट गर्छु र कुनै डिप म्युजिक लगाउँछु। चुरोट निकाल्छु र सल्काउँछु। गुगल डक्स् खोल्छु। खाली पन्ना मेरो ऐना झैं बन्छ।
अब के लेखौं ? औंलाहरू किबोर्डलाई ताकेर बसिरहन्छन्। एक गुच्छा धुवाँ आकाशतिर हुत्याउँछु।
दुईदिनमा एउटा कथा लेखेर कसैलाई बुझाउनु छ। मस्तिष्कमा दुई तीनवटा प्लटहरू नभएका होइनन्। तर प्लटहरू कथा होइनन्।
मैले कसैलाई कुनै बेला भनेको थिएँ, प्लट भनेको बीउ हो। बीउ कहाँ रोप्ने, कस्तो माटोमा रोप्ने, कस्तो हावापानीमा रोप्ने त्यो क्यानभास हो। बीउ रोपेपछि पानी, सूर्यको किरण, मल, औषषि भनेको तिम्रो लेखाइ, भाषा, शैली, उत्कथन हो। जब बीउ उम्रिंदै काण्ड देखिन्छ, त्यो मूल कथा हो। हाँगाहरू, उपकथा हुन्। पातहरू पात्रहरू हुन्। रूख तब बलियो हुन्छ जब जराले माटोलाई मज्जाले समातेको हुन्छ। जरा तिम्रो कथाको मर्म हो। तिमीले भन्न खोजेको सार हो।
मैले कति सजिलै भनिदिएको थिएँ। लाग्थ्यो, कथा, उपन्यास लेख्न त्यति गाह्रो नै छैन।
म विस्तारै बुझ्दैछु, लेख्नका लागि प्लट मात्रै भएर नहुने रहेछ। कुनै महान लेखकको लेखन नियमलाई पछ्याउँदैमा मात्रै नहुने रहेछ। शब्दहरूको जालो मात्रै बुनेर नहुने रहेछ। लेख्नका लागि अध्ययन जरूरी छ। अनुसन्धान, अनुशासन, अनुभव, अभ्यास, आत्मविश्वास आवश्यक छ। लेखकसँग कल्पनाशक्ति हुनुपर्छ। धैर्य हुनुपर्छ। आफू बाहिरको परिस्थिति र आफूभित्रको मनस्थिति उपयुक्त हुनुपर्छ।
कथा कनेक्टिङ्ग हुनुपर्छ। कन्भिन्सिङ हुनुपर्छ। केयरका साथ लेखिनुपर्छ। कन्ट्रोलका साथ लेखिनुपर्छ। कन्भिक्सनका साथ लेखिनुपर्छ। लेख्नका लागि धेरै थोक चाहिने रहेछ।
तर कहिलेकाहीं सबै भएर पनि लेख्न नसकिने रहेछ। लेख्नका लागि केही अधुरोपन पनि चाहिने रहेछ। अंहकार चाहिने रहेछ। असन्तुष्टि चाहिने रहेछ। अनिद्रा चाहिने रहेछ। अभाव चाहिने रहेछ।
काँचको कपमा अमेरिकानो आइपुग्छ। कफीको चुस्की र चुरोटको धुवाँ निल्दै मस्तिष्कमा रहेका कथाका प्लटहरूलाई चलाइरहन्छु। नचाइरहन्छु।
औंलाहरू किबोर्डमा विस्तारै चल्मलाउन थाल्छन्। अक्षर, शब्द, वाक्यहरू विस्तारै छापिन थाल्छन्।
“सूर्य अस्ताइसकेको छ। चन्द्रमा उदाउँदैछ। केही अस्ताएपछि केही उदाउनुपर्ने रहेछ।
चिसो हावाले विस्तारै गाढा रातलाई बढार्दै लिएर आउँछ।
रातको बात म बुझ्न सक्दिनँ। मलाई रातको साथ अनौठो लाग्छ। रात सबैका लागि एउटै रूप, स्वरूप लिएर कहिल्यै नआउने रहेछ।
केही रात भएको छ, रातले मेरो लागि निद्रा लिएर आउन छाडेको छ। सपना बोकेर आउन छाडेको छ। रातले राहत लिएर आउन बिर्सेको छ। आराम ल्याउन बिर्सेको छ। हिजोआज रातले अनिद्रा बोकेर आउने गर्छ। बेचैनी बोकेर आउने गर्छ। बिझ्ने याद, सम्झनाहरू ल्याउने गर्छ। ऐंठन लिएर आउँछ। रातले आहत लिएर आउन थालेको छ।
मलाई अन्धकारदेखि होइन रातदेखि डर लाग्न थालेको छ।
म चाहन्छु मेरो लागि कहिल्यै रात नहोस्। नआओस्। रातले मलाई एक्लो बनाउँछ। उदास बनाउँछ। दुखी बनाउँछ।
रातले मलाई अवगत गराउँछ। बोध गराउँछ, मेरो यथार्थको। मेरो अस्तित्वको। मेरो आत्माको। मेरो अभावको। रातले मलाई मेरो धरातल देखाउँछ। मलाई निचोर्छ।
हुन सक्छ, रातले मेरो वास्तविक अनुहारलाई प्रतिबिम्बित गरिरहेको हो। सायद म यस्तै छु।
रात कहिल्यै दिन जस्तो झूटो हुन सक्दैन। रात स्पष्ट हुन्छ। प्रष्ट हुन्छ। दिनको जस्तो रातसँग कुनै छायाँ हुँदैन। रात आफैंमा एउटा विराट छायाँ हो। दिन मायावी हुन्छ तर रात मेरो लागि मायालु किन हुन सक्दैन ?
मलाई रात कहिल्यै शान्त लाग्दैन। रात मलाई सन्नाटाले भरिएको चर्को कोलाहल लाग्छ जसले मेरो कानको पर्दालाई होइन हृदयलाई ठुङ्ने गर्छ। म कानलाई थुन्न सक्छु हृदयलाई सक्दिनँ।
म रातमा सुन्न सक्छ, विभिन्न आवाजमा आइरहेका रुवाइ, चीत्कार, रोदन, आहटहरू। मलाई तिनीहरूले घायल बनाउँछन्। बेलाबेला सोच्छु, सायद म मात्रै एक्लो छैन। अधुरो छैन। म जस्तै अरू पनि छन्। मैले सन्नाटामा सुन्ने आवाजहरू अरू कसैका होइनन् म जस्तै उदासीहरूका हुन्। दु:खीहरूका हुन्।”
एउटा युवती बगैंचाको अर्को टेबलमा आएर बस्छिन्। किबोर्डमा मेरा औंलाहरू चल्मलाउन छाड्छन्।
उक्त युवतीले मेरो ध्यान खिच्छिन्।
उनले वेटरलाई बोलाएर बियर मगाउँछिन्। आफूसँग लिएर आएको चुरोट सल्काउँछिन्। हामी दुवैको मुखबाट फुस्किएको धुवाँको गुच्छा एउटै हावामा मिल्न जान्छ।
म अधबैंसेतिर फर्किन्छु। ऊ त्यसरी नै ल्यापटपमा घोत्लिरहेको हुन्छ। म अनुमान लगाउँछु, सायद ऊ केही पढ्दै छ अथवा केही हेर्दैछ।
ग्राहकहरू आउने जाने गरिरहन्छन्।
म नजरलाई पुन: टेबलमा फर्काएर लिएर आउँछु।
लेख्न थाल्छु।
“मलाई दिन बिताउन सजिलो लाग्छ। म कहिल्यै नहिंडेको गल्लीमा हिंडिरहेको कल्पना गर्दै दिन बिताइदिन सक्छु। आकाशमा नाचिरहेका बादलहरूलाई हेरेरै दिन बिताइदिन सक्छु। हावामा हल्लिरहेका पातहरूलाई सुनेरै दिन बिताइदिन सक्छु। पढिसकेका शब्दहरू पुन: पढेरै म दिन बिताइदिन सक्छु। शान्त तलाउमा जमेर बसेको पानीलाई कहानी सुनाउँदै दिन बिताइदिन सक्छु। कहिल्यै ठेगानामा नपुग्ने पत्रहरू लेखेरै म दिन बिताइदिन सक्छु। म कसैलाई पनि नसम्झेरै पूरै दिन बिताइदिन सक्छु।
तर मलाई रात कटाउन सकस पर्छ। म रात रोएर मात्र कटाउन सक्छु। मेरा आँखाहरू रुँदैनन् मन रुन्छ। मैले अधिकांश रात त्यसरी नै कटाएको छु। सायद दुखाइ भएको भए आँखा रुन्थ्यो। दुःख छ त्यसैले मन रुन्छ।”
युवतीले बियर रित्याउँछिन्। पुन : अर्को बोतल मगाउँछिन्। म ठुटो चुरोटलाई एस्ट्रेमा किचिमिची पार्छु।
मलाई लागेको थियो, युवती कसैलाई भेट्न आएकी हुन्। कसैको प्रतीक्षा गरिरहेकी हुन्। विस्तारै लाग्न थाल्छ, युवती अरू कसैलाई होइन आफैंलाई भेट्न आएकी हुन्।
अर्को बोतल बियर उनको टेबुलमा आइपुग्छ।
म पुन : ल्यापटपमा घोत्लिन थाल्छु।
“म कहिलेकाहीं आफूलाई निर्वस्त्र पारेर ऐनासामु उभ्याउँछु। म आफूलाई देख्दिनँ। म मान्छे देख्दिनँ। म देख्छु, एउटा अस्थिपञ्जर जसमा टाँसिएको केही मांसपेशीले त्यसलाई रूप दिएको छ, स्वरूप दिएको छ। म देख्छु यस्तो काया जसको अस्तित्वले कुनै अर्थ राख्दैन। जो हुनु र नहुनुले केही फरक पार्दैन। परिरहेको छैन।
म देख्छु यस्तो सम्बन्धलाई जसले सम्बोधन कहिल्यै गर्न पाएन। म देख्छु यस्तो संवेदनालाई जसले कहिल्यै महसुस गर्न पाएन। म देख्छु एउटा यस्तो दयनीय पात्रलाई जसलाई कसैले लेखेनन् अथवा लेख्न चाहेनन्। म देख्छु त्यसलाई जसलाई म मात्र देख्न सक्छु। मैले मात्र महसुस गर्न सक्छु।”
युवतीले एक गिलास बियर सिनित्त पार्छिन्। खाली गिलासलाई भर्न थाल्छिन्। अर्को चुरोट सल्काउँछिन्।
कफीको चुस्की लिंदै म उनलाई केहीबेर हेरिरहन्छु।
उनले कसैलाई फोन गर्छिन्। फोन लाग्दैन अथवा उठ्दैन। तीन-चार पटकसम्म लगातार कोसिस गरिरहन्छिन्। नेटवर्क टिपिरहेको छैन अथवा कसैले उनको कललाई टिपिरहेको छैन, म भन्न सक्दिनँ। उनी रिसाउँछिन् या निराश हुन्छिन् म उनको अनुहारमा सल्बलाइरहेको भावलाई पढ्न सक्दिनँ।
भर्खर भरेको गिलास पनि उनी एकै सासमा रित्याउँछिन्। वेटरलाई हातको इसाराले फेरि अर्को ल्याउन भन्छिन्।
पुन: मेरा ल्यापटपका किबोर्डहरू बज्न थाल्छन्।
“मेरा काँपिरहेका हातहरूले कैयौंपटक गलालाई ताकेका छन्, छुरा लिएर। कैयौंपटक हावामा तुर्लुङ्ग तैरिन खोजेका छन् मेरा खुट्टाहरू। कैयौंपटक मेरो शरीरलाई झर्न मन लागेको छ उँचाइबाट र खस्न मन लागेको छ कुनै गहिराइमा। थाहा छैन मभित्रको कुन चाहिं तत्वले यिनीहरूलाई रोकिरहन्छ। सायद कोही छ, केही छ जो मेरो विरुद्ध उभिरहेको छ। मसँग लडिरहेको छ। थाहा छैन, हारिसकेकोलाई जितेर कसैले के पाउँछ ?
कहिलेकाहीं त लाग्छ, मेरो नसामा रगत छैन। आँखामा आँसु छैन। मस्तिष्कमा चेतना छैन। मनमा संवेदना छैन। मात्र अलिकति हावा छ मेरो रोगी फोक्सोमा। त्यो बाहेक मसँग अरू केही छैन। म त्यति हावाले मात्रै जीवित छु।”
म भारी महसुस गर्छु। औंलाहरू थाक्छन्।
म युवतीतिर फर्किन्छु।
युवतीको आँखा रसाइरहेको हुन्छ। उनी सुक्सुकाइरहेकी हुन्छिन्। उनलाई परिक्रमा गरिरहेको चुरोटको धुवाँमा खोइ कुन्नि उनी केही खोज्दै हुन्छिन्।
म उनको अवस्थालाई राम्रोसँग विवेचना गर्न सक्दिनँ। उनलाई के भइरहेको छ, म अनुमान लगाउन सक्दिनँ। कुनै अड्कल काट्न सक्दिनँ।
मान्छे किन दु:खी हुन्छ ?
मलाई दु:ख भोग्न भन्दा लेख्न मन लाग्छ। मान्छेहरूलाई पनि त दु:ख झेल्नु भन्दा पढ्न मजा लाग्छ। दु:खले सबैलाई आकर्षित गर्ने गर्छ।
म युवतीको आँसु पछाडिको कहानीलाई अनुमान लगाउन सक्दिनँ तर कम्तीमा कल्पना त गर्न सक्छु।
मान्छे दु:खी कि आफूबाट हुन्छ कि आफ्नाबाट। कि अतीतलाई सम्झेर हुन्छ कि त भविष्यलाई सोचेर।
मुस्कुराएको ओठमा सायद धेरै लेखिएको हुँदैन। तर रोएको आँखामा धेरै थोक लेखिएको हुन्छ। मलाई ओठभन्दा आँखा पढ्न मन पर्छ।
उनलाई हेर्दा यस्तो लाग्छ, आज उनी मादकताको नसामा चुर भएर मात्न चाहन्छिन्। बिर्सिन चाहन्छिन् आफूसँग जोडिएकाहरूलाई। आफूबाट छुटिएकाहरूलाई। बिर्सिन चाहन्छिन् आफैंलाई।
हुन चाहन्छिन् त्यो चुरोटबाट निस्किएको धुवाँ जस्तै र बग्न चाहन्छिन् हावासँगै। अन्तत: विलीन हुन चाहन्छिन्।
थाहा छैन, किन रङ्गीन दुनियाँ देख्ने आँखाले सधैं रङ्गहीन आँसु खसाल्छ।
उनी चुपचाप रोइरहेकी छिन्। तर उनी चिच्याइरहेकी छिन् भित्रैबाट। छट्पटाइरहेकी छिन्। सायद उनलाई किनारको आवश्यक छ। काँधको जरुरत छ। कसैको साथ चाहिएको छ। अथवा उनलाई केही, कोही चाहिएको छैन। उनी डुब्न चाहन्छिन् त्यही पीडाको अतल गहिराइमा कहिल्यै नउत्रिने गरी।
सायद उनी कसैलाई गुमाएर दु:खी भएकी छिन्। उनले कसैलाई पाएर खुसी नभएको पनि हुन सक्छिन्।
युवतीको रोइरहेका आँखाले मेरा आँखालाई भेट्टाउँछन्। म आफ्नो नजर लुकाउँछु।
थाकेका औंलाहरू किबोर्डमा घिस्रिन थाल्छन्।
“कहिलेकाहीँ एक्कासि मुटुको धड्कन बढेर आउँछ। टाउको टनटनी दुख्न थाल्छ। हातखुट्टाहरू झम्झमाउन थाल्छन्। आँखाले धमिलो देख्न थाल्छ। यस्तो लाग्छ, म सकिंदैछु। मेरो फोक्सोमा रहेको अलिकति हावा पनि फुस्किंदै गइरहेको छ।
त्यो बेला मलाई यस्तो जिन्दगीको माया लागेर आउँछ जसलाई मैले कहिल्यै स्वीकार्न सकिनँ। अँगाल्न सकिनँ। मैले बाँच्न सकिनँ।
म अरू मान्छेहरूलाई आफूजस्तो देख्दिनँ। सायद केही छन् उनीहरूभित्र जसले उनीहरूलाई मभन्दा केही फरक बनाइदिएका छन्। मलाई हरबखत उनीहरूले घेरिरहेको महसुस हुन्छ। घुरिरहेको भान हुन्छ।
मलाई कतै टाढा जान मन लाग्छ, यी अनुहारहरूको भीडबाट जहाँ मलाई कसैको नजरले समेत पछ्याउन नसकोस्। टुटाएर भाग्न मन लाग्छ आफूसँग बाध्य भएर बाँधिएका दुर्बल सम्बन्धहरूलाई।
मान्छेहरू ढोङ्गी हुन्छन्। लाग्छ, कसैको संवेदनाले पनि महसुस गर्न सक्दैनन् मेरो वेदनालाई। मलाई कसैले बुझ्न सक्दैनन्।
कहिलेकाहीं म आफैंलाई प्रश्न गर्छु, म किन यस्तो छु ? यस्तो अवस्थामा छु ? मसँग त्यसको जवाफ हुँदैन। सायद जवाफ नभएरै म यस्तो भएको हुँ।
भन्छन्, शरीर मर्छ तर आत्मा कहिल्यै मर्दैन। आत्मा मरिसकेको शरीर सायद मेरो जस्तै हुँदो हो।”
म अधबैंसेतिर नजर फ्याँक्छु। ऊ त्यसरी नै ल्यापटपमा घोत्लिरहेको हुन्छ। सायद केही लेखिरहेको छ।
धर्मराउँदै आफ्नो असन्तुलित शरीरलाई युवतीले ट्वाइलेटतिर लैजान्छिन्।
दुस्खलाई शरीरले होइन मनमस्तिष्कले साँचेर राखेको हुन्छ। नसाले शरीरलाई मात्रै छुन्छ। त्यो बेला शरीरले गर्ने हरेक गतिविधिलाई मस्तिष्कले जाँचिरहेको हुन्छ। मनले नियालिरहेको हुन्छ। नसा फगत बहाना हो अरू केही होइन।
लेख्न थाल्छु।
“सायद यो एक्लोपन, यो अधुरोपन एउटा रोग हुनुपर्छ। म रोगी हुँ। मेरो नजिक आउनेहरूलाई सजिलैसँग सर्न सक्छ यो रोग। त्यसैले उनीहरू मेरो नजिक पर्दैनन्, पर्न चाहन्नन्। अथवा म आफूलाई कसैको समीप नै पार्न खोज्दिनँ। म आफैं टाढिन्छु।
रातमा विषालु भावनाहरू लाटेकोसेरो जस्तै शिकार गर्न उड्दा रहेछन्। उनीहरूले कमजोर मनहरूलाई आफ्नो निसाना बनाउने रहेछन्। म निरीह हरेक रात शिकार हुन्छु।
हल्का उज्यालो झ्यालको पर्दालाई चिरेर कोठाभित्र आइपुग्छ। सायद रात निदाउँदैछ, दिन ब्युँझिंदैछ।”
युवतीले अर्को बोतल पनि रित्याउँछिन्। उनी अकारण मुस्कुराइरहेकी छिन्।
मलाई थाहा छैन दु:खले कुन चरण पार गरेपछि आँसु होइन मुस्कानलाई जन्माउँछ।
बगैंचामा बत्ती बल्न थाल्छन्। रात आफूलाई फिंजाउँदै लिएर आउँछ।
म सोच्छु, रातले उक्त युवतीलाई कस्तो रूप देखाउँछ होला। कस्तो व्यवहार गर्छ होला। के उनीसँग रातलाई सामना गर्ने सामर्थ्य छ ?
युवती लड्खडाउँदै क्याफेबाट निस्किन थाल्छिन्। मेरो नजरले उनलाई पछ्याइरहन्छ।
अचानक उक्त युवती विस्तारै हावामा विलाउन थाल्छिन्। हराउँदै जान्छिन्। अन्तत: हावा बन्छिन्।
म अचम्मित हुन्छु। लाग्छ, युवती नितान्त मेरो मस्तिष्कले जन्माएको कहानी हो। कल्पना हो।
मेरो नजर अधबैंसेमा पर्छ। उसले मलाई मुस्कुराउँदै हेरिरहेको हुन्छ। म त्यो रहस्यमयी मुस्कानलाई पढ्न सक्दिनँ।
म विस्तारै भाँचिंदै जान्छु। टुक्रिंदै जान्छु। छरिंदै जान्छु। विस्तारै अदृश्य हुँदै जान्छु। के म पनि कसैको कहानी हुँ ? कल्पना हुँ ?
अन्तत : म पनि हावा बन्छु।
……..
कथा सकिन्छ। म लामो सास लिन्छु। ल्यापटप बन्द गर्छु।
काउन्टरमा जान्छु र फ्रेस जुसको पैसा तिरेर आफ्नो बाटो लाग्छु।
प्रतिक्रिया 4