
२५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न १३ भदौमा बालकोट पुगेका रवीन्द्र मिश्रको रोडम्याप थियो, एमालेको समर्थन लिने, राप्रपाबाट चुनाव लड्ने ।
मिश्र राप्रपाबाट काठमाडौं–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न त सफल भए, तर एमालेको समर्थन जुटाउन भने उनलाई हम्मेहम्मे परेको छ ।
काठमाडौं–१ मा ३२ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राप्रपाका मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाल सुशासन पार्टीका रमेशप्रसाद खरेल, हाम्रो नेपाली पार्टीका डम्बर साहूसहित २० जना दलीय उम्मेदवार छन् भने ११ स्वतन्त्र उम्मेदवार छन् ।
स्रोतका अनुसार उम्मेदवारी दर्ताको अघिल्लो दिन २२ गतेसम्म पनि एमालेमा के गर्ने भन्ने अलमल थियो ।
किनकी पार्टी नेतृत्व र राप्रपा नेताहरुबीच तालमेलका लागि निरन्तर सम्वाद भइरहेको थियो । झापा, रुपन्देही र बाँकेमा तालमेल गर्ने सहमति भइसकेको थियो भने काठमाडौं, चितवनमा पनि सहकार्यका लागि सम्वाद चलिरहेको थियो ।
त्यसैले एमालेले उपत्यकाका अरु उम्मेदवार टुंगो लगाउँदा पनि काठमाडौं–१ मा निर्णय गरेको थिएन । यद्यपि तालमेल नभएको अवस्थाका लागि राष्ट्रिय युवा संघका अध्यक्ष किरण पौडेललाई तयार पारिएको थियो ।
२३ गते मिश्र र किरण दुबैले उम्मेदवारी दर्ता गरे । त्यसपछि पनि मिश्रलाई तालमेलको आश थियो भने किरणलाई उम्मेदवारी फिर्ता लिनुपर्ने हो कि भन्ने त्रास । तर अब मिश्रलाई एमालेले समर्थन गर्ने सम्भावना लगभग टरेको छ ।
मिश्रको चुनावी अभियानका संयोजन गरिरहेका सौरेन्द्रबहादुर शाहले अनलाइनखबरसँग भने, ‘एक्लै भिड्नुपर्ने अवस्था देखिन्छ ।’
एमालेसँग सम्वाद गरेपछि उसकै भर नपरेकाले एक्लै भिड्न पनि तयार नै रहेको उनको दाबी छ । भन्छन्, ‘हरेक दिन घरदैलो गरिहेका छौं र हाम्रो मनोबल उच्च छ ।’
एमाले उम्मेदवार पौडेल पनि अब उम्मेदवारी फिर्ता नलिने गरी अगाडि बढेको देखिन्छ । सम्वादका क्रममा पार्टीको निर्णयमा उम्मेदवार भएको भन्दै उनले सानो ठाउँ त राखेका छन्, तर चुनावी तयारी निकै अगाडि बढाइएका छन् ।
पौडेल आफू उम्मेदवार कायम रहने मात्र होइन, चुनाव नै जित्ने दाबी गर्छन् । ‘पार्टीको आफ्नो संगठन छ, मेरो पनि आफ्नो सम्बन्धहरु छन्,’ उनले अनलाइनखबरसँग भने, ‘मैले त आफ्ना लागि सहज परिस्थिति देखेको छु ।’
यद्यपि नेपाली कांग्रेसको पनि बलियो संगठन रहेको र कांग्रेस उम्मेदवार सिंहले पछिल्लो ३ वटा चुनाव यही क्षेत्रबाट जितेकाले मुख्य प्रतिस्पर्धा उनीसँगै हुने पौडेल बताउँछन् । भन्छन्, ‘स्थानीय तहको मत हेर्दा पनि ५००÷६०० मात्र फरक छ । युवाको भोट मलाई आउँछ, एजेण्डा पनि हामीसँगै छ ।’
कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका सिंहले यो क्षेत्रमा २०६४, २०७० र २०७४ मा चुनाव जितेका थिए । २०७४ मा भने उनलाई तत्कालीन विवेकशील साझा पार्टीका उम्मेदवार मिश्रले कडा टक्कर दिएका थिए । मिश्र, स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका रञ्जु दर्शना र किशोर थापाले जगाएको आशको जगमा चुनाव लडेका थिए ।
वाम गठबन्धनको भागवण्डामा काठमाडौं–१ माओवादीको भागमा परेको थियो, जहाँ विद्यार्थी राजनीति गरिरहेका अनिल शर्मा उम्मेदवार भए । एमाले नेता कार्यकर्ताले उनलाई स्वीकार नगर्दाको लाभ मिश्रले उठाएका थिए ।
यो पटक विवेकशील साझाको क्रेज त्यो बेला जस्तो छैन । त्यसैले मिश्र राप्रपासँग एकता गर्न हतारिए, ताकि संगठन भएको पार्टीबाट चुनाव लड्न सहज हुन्छ । उनले एमाले अध्यक्ष ओलीलाई भेटेर चुनावमा सहकार्यको वातावरण पनि बनाउन खोजेका थिए । त्यसबेला ओली सकारात्मक देखिएका पनि थिए ।
चुनावी तालमेलबारे सम्वादका क्रममा राप्रपा नेताहरुले काठमाडौं–१ मा मिश्रलाई पनि सघाउन आग्रह गरेका थिए । तर ओली सहमत भएनन् । एमालेको निर्वाचन चिह्नबाट लड्ने भए पो सघाउँछु भनेको भन्दै ओली पन्छिएको एमालेका एक नेताले बताए ।
स्थानीय चुनावको गणित
३० वैशाखको स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत हेर्दा काठमाडौं–१ मा कांग्रेस नै अगाडि छ । कांग्रेसका उम्मेदवारले ९ हजार ८९५ मत पाएका छन् ।
एमालेका उम्मेदवारले ९ हजार ५४१ मत पाएका छन् भने राप्रपाका उम्मेवारले एक हजार ३७६, माओवादी केन्द्रका उम्मेदवारले एक हजार १५९ मत पाएका छन् । सत्ता गठबन्धनमा रहेका दल माओवादी र एकीकृत समाजवादीको साथ भएकाले कांग्रेसका उम्मेदवार प्रकाशमानलाई सहज जस्तो देखिन्छ । तर शहरी जनमत यही अवस्थामा रहिरहन सम्भव छैन भने लगातार तीन पटक चुनाव जितेका उनीमाथि उठ्ने प्रश्नहरु पनि उत्तिकै छ ।
साथै रवीन्द्रसँगै विवेकशील अभियानबाट आएका र हाल रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र दलका पुकार बम, पूर्व डीआईजी समेत रहेका रमेश खरेल र लौरो अभियानको नारा दिएका डम्बर साहुले कति मत पाउँछन् भन्नेमा पनि काठमाडौं–१ को चुनावी प्रतिस्पर्धा कस्तो हुन्छ भन्ने निर्धारण हुने देखिन्छ ।
प्रतिक्रिया 4