
२८ कात्तिक, काठमाडौं । मुखर वक्ता, सार्वजनिक छवि ठूलो भएका नेताहरुको खोजी देशैभर हुने गर्छ । चुनावका बेला त्यस्तो माग अझै बढी हुन्छ । तर दलका दोस्रो तहका नेताहरु आफ्नो क्षेत्र छाडेर अन्यत्रका उम्मेदवारका लागि मत माग्न जान सकेका छैनन् ।
ठूला पार्टीका अध्यक्षहरुलाई छाड्ने हो भने हरेकजसो पार्टीका उच्च तहका नेताहरु आफू उम्मेदवार भएको क्षेत्रभन्दा बाहिर चुनाव प्रचारमा जान सकेका छैनन् । भूमिकाका हिसाबले अध्यक्षपछिको कार्यकारी मानिने महासचिव, महामन्त्रीहरुले समेत आफ्नै लागि मात्र मत मागिरहेका छन् ।
अपवादमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का कर्णाली प्रदेशका अरु जिल्लामा गएको बाहेक दोस्रो तहका प्रभावशाली नेताहरु आफ्नै क्षेत्रमा मात्रै देखिएका छन् ।
एमाले महासचिव शंकर पोखरेल, नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका महासचिव देव गुरुङ पनि आफ्नो क्षेत्रमा मात्रै सीमित भएको देखिन्छ । पोखरेल दाङ–२ बाट उम्मेदवार छन् । उनी फाट्टफुट्ट काठमाडौैंमा हुने पार्टी कार्यक्रममा सहभागी हुन आउने गरेको भए पनि अरु समय आफ्नै क्षेत्रको कार्यक्रममै केन्द्रित भएका छन् ।
कांग्रेसका महामन्त्रीद्वय शर्मा काठमाडौं–४ र शर्मा झापा–१ मा मात्रै केन्द्रित भएको देखिन्छ । माओवादी महासचिव गुरुङ पनि आफ्नो निर्वाचन क्षेत्र लमजुङमा मात्रै केन्द्रित भएका छन् ।
एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ पनि आफ्नो चुनाव क्षेत्र भन्दा बाहिर गएका छैनन् ।
त्यस्तै सचिवहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, गोकर्ण बिष्ट र योगेश भट्टराई पनि आफ्नो क्षेत्रमै मात्रै केन्द्रित भएको देखिन्छ ।
उपसभापति खड्कापछि कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंह फाट्टफुट्ट अरुको क्षेत्रमा पनि गएको देखिन्छ । उनी काठमाडौं–७ कि माओवादी केन्द्रकी उम्मेदवार मानुषी यमी भट्टराईको चुनावी कार्यक्रममा सहभागी भएका थिए भने सोमबार काठमाडौं–२ मा आयोजना हुने ओनसरी घर्तीको कार्यक्रममा सहभागी हुने छन् । निर्वाचन क्षेत्र सानो भएको र सुगम क्षेत्र भएकाले पनि उनलाई यो सुविधा प्राप्त भएको हुनसक्छ ।
सभापतिको चुनाव लडेका शेखर कोइराला, उपसभापति धनराज गुरुङ, पूर्व महामन्त्री कृष्ण सिटौला लगायतका कांग्रेस नेताहरु पनि आफ्नो चुनाव क्षेत्रबाहिर अरु उम्मेदवारको पक्षमा मत माग्न जान सकेका छैनन् । बालकृष्ण खाँण भने गृहमन्त्री भएकाले आफ्नो क्षेत्र भन्दा बाहिरको प्रचारमा जान निर्वाचन आचार संहिताले रोक्छ ।
माओवादीका दुई प्रभावशाली उपमहासचिव जनार्दन शर्मा र वर्षमान पुन पनि आफ्नो क्षेत्रमा मात्रै केन्द्रित भएका छन् । पुन रोल्पा र शर्मा रुकुम पश्चिमको चुनावी कार्यक्रममा मात्र सहभागी भइरहेका छन् । अर्थमन्त्री भएका कारण शर्मालाई आचार संहिताले आफ्नो क्षेत्रभन्दा बाहिर जानबाट छेक्छ ।
माओवादीका अन्य तीन उपमहासचिव गिरिराजमणि पोखरेल, पम्फा भुसाल र मात्रिका यादव पनि आफ्नो क्षेत्रमा मात्र मत मागिरहेका छन् । यद्यपि भूसाल उर्जा मन्त्री भएकाले उनलाई क्षेत्रबाट जान आचार संहिताले रोक्छ ।
सचिवहरु चक्रपाणि खनाल र देवेन्द्र पौडेल पनि आफ्नो क्षेत्रमै सीमित देखिन्छन् । पौडेल शिक्षा मन्त्री पनि भएकाले उनलाई भने क्षेत्रबाहिर जान आचार संहिता आकर्षित हुन्छ ।
किन खुम्चिए ?
अध्यक्ष, सभापतिपछि आफू नेतृत्वमा जान चाहेका दोस्रो तहका नेताहरुले भूमिका पनि त्यही अनुसार निभाउनु पर्ने हो । आफू मात्रै नभई आफ्ना पार्टीका अन्य उम्मेदवारलाई समेत जिताउन लागेर त्यो भूमिका उनीहरुले देखाउन सक्थे । तर, अधिकांश नेता त्यसमा चुकेका छन् ।
आखिर यी नेताहरु आफ्नै क्षेत्रमा मात्रै किन खुम्चिए त ? माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रचार प्रसारको अवधि छोटो भएकाले आफ्नो पार्टीका अध्यक्ष बाहेकका नेताहरु आफ्नै क्षेत्रमा मात्रै केन्द्रित भएको बताए ।
‘प्रचार प्रसारको अवधि थोरै भयो, त्यसकारणले आफ्नो निर्वाचन क्षेत्रमा लाग्नुपर्ने भयो,’ उनको भनाइ छ, ‘आफ्नो क्षेत्रका सबै ठाउँमा जाँदा एउटै निर्वाचन क्षेत्रमा पनि १५ दिन लाग्नुपर्ने हुन्छ । त्यसैले साथीहरु आफ्नै जिल्लामा केन्द्रित हुनुहुन्छ ।’
अध्यक्षलाई भने घरदैलोमा धैरै जान नपर्ने गरी सातवटै प्रदेशमा पुग्ने समय मिलाइएको श्रेष्ठले जानकारी दिए । निर्वाचन आयोगले ४ मंसिरको निर्वाचनका लागि १७ कात्तिकदेखि मात्र चुनाव प्रचार गर्न पाउने गरी समय तोकेको थियो ।
नेपाली कांग्रेका प्रवक्ता प्रकाशशरण महतले पनि समय छोटो भएका कारण सभापति बाहेकका अन्य नेताहरु अन्यत्र नगएको बताए । ‘यसपालि प्रचार प्रसारको समय नै सीमित भयो, त्यसले गर्दा आफ्नो ठाउँमै नेताहरु सीमित भए,’ उनले भने, ‘आफ्नो ठाउँमा त सबैले प्रचार गर्ने भइहाले, आफू पनि निर्वाचित भएर आउनुप¥यो ।’
घरघरमै आइदेओस् भन्ने मतदाताको चाहना भएकाले उम्मेदवार बनेका शीर्ष नेताहरुले आफ्नो क्षेत्रबाहिर जान नभ्याएको महतको भनाइ छ ।
एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले एक, दुई मतले पनि चुनावमा हारजित हुने भन्दै अध्यक्ष बाहेकका नेताहरु आफ्नै क्षेत्रमा केन्द्रित भएको बताए । ‘चुनावले प्रायः नेताहरुलाई क्षेत्रमुखी बनाइदिने रहेछ’, उनले भने, ‘एक, दुईटा भोटले पनि हारिन्छ । त्यसैले बाँकी नेताहरु आफ्नै क्षेत्रमा लाग्नुभएको छ ।’
दिनदिनै घरदैलोमा हिँड्नुपर्ने, सबै क्षेत्रमा पुग्नुपर्ने भएकाले पनि अरु नेताहरुले बाहिरका क्षेत्रमा पुग्न नभएको रिजालले बताए ।
सबैजसो पार्टीका दोस्रो तहका धेरै नेताहरु आफ्नै चुनाव क्षेत्रमा जित्ने ढुक्क हुन नसकेका कारण बाहिर जान नसकेका हुन् । सत्ता गठबन्धनका दलहरुलाई एक अर्को दलको मत पनि तान्नुपर्ने चुनौती छ भने एमालेका उम्मेदवारलाई पनि सत्ता गठबन्धन दलका समर्थक र नयाँ मतदाता आफ्नो पक्षमा पार्नुपर्ने चुनौती छ ।
प्रतिक्रिया 4