
कालो चस्मा लाऊ भन्छ
पिरती लाउने आऊ भन्छ
मैले तिम्लाई रोजेको
तिम्ले कसलाई खोजेको
एक सातादेखि यो गीत टिकटकमा भाइरल बनिरहेको छ । सर्वसाधारणदेखि सेलिब्रिटीले लिपसिंक गर्दै यो गीतमा सयौं टिकटक बनाएका छन् ।
एकाएक भाइरल बनेको यो गीत यतिबेला सामाजिक सञ्जालमा सबैभन्दा बढी सुनिने गीतमध्ये पर्छ, जसलाई मंसिर ४ को चुनावी हल्लाले समेत प्रभावित तुल्याएको छैन ।
तीन दशकदेखि कलाकारिता गरिरहेकी डोल्मा ह्योल्मोको आवाजमा बुनिएको यो गीत कसरी बन्यो ? यो गीतको चर्चा र भ्युजले गायिका ह्योल्मोलाई समेत छक्क बनाएको छ । अहिलेसम्म यो गीतलाई युट्युबमा १० लाखभन्दा बढी पटक हेरिएको छ भने सयौंले टिकटक भिडियो बनाएका छन् । यो गीत निर्माण पछाडिको रचना गर्भ पनि रोचक नै छ ।
खासमा किर्गिस्तानमा भएको एक सांस्कृतिक कार्यक्रमका लागि डोल्माले गीत तयार पारेकी थिइन् । उनले त्यहाँ स्टेजमा गाएको भिडियोले नै युट्युबमा १५ लाखभन्दा बढी भ्युज पाएको छ ।
दुई महिनाअघि रेकर्ड भएको यो गीतको भिडियो रिलिजलगत्तै डोल्मा पुनः एकपटक चर्चामा छिन् । टिकटक पुस्ताले उनीसँग सम्बन्ध गाँस्ने अवसर पाएको छ ।
‘विदेशस्थित कार्यक्रममा जाँदा एउटा न एउटा गीत लैजाने मेरो बानी छ । किर्गिस्तानको कार्यक्रमका लागि यो गीत तयार पारेकी थिएँ । तर यति हिट र भाइरल बन्ला सोचेको समेत थिइनँ,’ डोल्मा सुनिइन् ।
आखिर कालो चस्मा नै किन ? डोल्माको कथन छ, ‘यो गीत दर्शकको लागि बनाएकी हुँ । कोट जाडोको लागि लगाइन्छ । खुट्टामा काँडा बिझ्छ भनेर जुत्ता लगाइन्छ । कालो चस्मा सबैलाई काम लाग्छ । दृष्टिविहीन, घामले डढेकोदेखि हिउँले खाला भनेर लगाइन्छ । सबैलाई मिल्ने भएकाले यो गीत हिट भएको हो ।’
यो गीत हिट भएपछि ‘कालो चस्मा लाऊ भन्छ-२’ पनि बनाउने सोचमा रहेको डोल्माले जानकारी दिइन् । ‘मान्छे उमेर बढ्दै गए पनि बच्चा जस्तो हुँदै आउँछ । चस्मा सबै उमेर समूहको लागि पनि हुन्छ । मेरो उमेर बढी भए पनि चस्मा मलाई पनि काम लाग्ने कुरा हो,’ उनले भनिन् ।
कहिले त म त अमेरिका
कहिले त म त जापान
त्यसैले त भेटै नभएको
डोल्माको अघिल्लो यो गीत भाइरल नभए पनि राम्रै चर्चा बटुल्यो । कुन गीत भाइरल बन्छ, त्यो कसैलाई थाहा हुँदैन । स्वयं डोल्मालाई पनि चस्माको गीत भाइरल बन्छ भनेर थाहा थिएन ।
प्रतिक्रिया 4