
नेकपा (एमाले)का सचिव रहेका ६३ वर्षीय लेखराज भट्ट व्यवस्थापिकामा पुग्ने चौथो चुनावी दौडमा छन् । कैलाली निर्वाचन क्षेत्र ४ बाट चुनाव लड्दै आएका उनी यसअघि २०६४ को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने उनी पराजित भए ।
यसपटक कैलाली–४ मा भट्टलाई रोक्न नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर उठेका छन् । बलायर सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् ।
२०२८ सालमा कर्णाली विद्यार्थी हित परिषदबाट राजनीतिमा आएका भट्ट २०३८ मा अनेरास्ववियु छैटौंको कैलाली जिल्ला अध्यक्ष बने । त्यसपछि सातौं र आठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्वाचित भए ।
२०३६ सालमा नेकपा (मशाल) मा प्रवेश गरेका भट्ट २०५१ मा नेकपा (माओवादी)मा आवद्ध भएर भूमिगत भए । २०५७ मा माओवादीको केन्द्रीय सदस्य, पोलिटब्युरो हुँदै स्थायी कमिटी सदस्यसम्म भए ।
माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ सालमा गठित अन्तरिम व्यवस्थापिकामा उनी पार्टीका तर्फबाट सांसद बनेका थिए । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनले कांग्रेसका दीर्घराज बलायरलाई पराजित गरे ।
२०६४ सालको चुनाव जितेपछि भट्ट सुरुमा श्रममन्त्री त्यसपछि विज्ञान तथा प्रविधिमन्त्री र २०६८ सालमा वाणिज्य तथा आपूर्तिमन्त्री बने ।
२०७० सालको दोस्रो संविधानसभा चुनावमा उनी पराजित भए । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने उनी वाम गठबन्धनको बलमा कैलाली–५ बाट विजयी भए ।
निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच एकता भएर एउटै पार्टी नेकपा बन्यो । उनले दोस्रो पटक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी पाए । नेकपा विभाजनपछि भने उनी एमालेमा लागेर फेरि केही समय मन्त्री भए ।
माओवादीमा हुँदा सधैं अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट रहेका भट्ट एमालेमा पनि अध्यक्ष केपी शर्मा ओली नजिक छन् ।
नेकपा विभाजनपछि एमाले रोजेका धेरैजसो माओवादीका नेता अहिले अध्यक्ष ओलीसँग रुष्ट छन् । भट्टसँगै एमाले भएका प्रभु साहले अहिले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
भट्टले भने ओलीसँग नजिकिएरै सुदूरपश्चिम प्रदेशको एमाले नेतृत्व पनि हात पारे । उनले एमालेमा सिंगो जीवन बिताएका, पार्टी उपाध्यक्षसमेत रहेका भीम रावललाई हे¥याहे¥यै पार्दै सुदूरपश्चिम प्रदेशको नेतृत्व हत्याए ।
कैलाली–४ बाट एकल सिफारिस भएका भट्टले सजिलै टिकट पाए, तर अछाम–१ बाट एकल सिफारिस भएका रावलले पाएनन् । ओलीले आफूसँग असन्तुष्टहरूलाई देखाउनकै लागि पनि भट्टलाई जसरी पनि जिताउन पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।
भर्खरै माओवादीबाट आएकाले टिकट पाउने तर सुदूरपश्चिम क्षेत्रकै प्रमुख नेतालाई वञ्चित गरिंदा एमाले पार्टी पंक्तिभित्र असन्तुष्टि छ । यसको असर भट्टको चुनावी अभियानमा पनि परेकै छ ।
गत वैशाखको स्थानीय तह निर्वाचनको नतिजा र सत्ता गठबन्धन हेर्दा आगन्तुक उम्मेदवार भए पनि बलायर बलियो देखिन्छन् ।
स्थानीय चुनावमा कैलाली–४ मा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा कांग्रेस अगाडि छ । कांग्रेसको २२ हजार ९९७, एमालेको २० हजार ८१, माओवादी केन्द्रको १० हजार १२३ मत र एकीकृत समाजवादीको ४ हजार २९ मत छ ।
स्थानीय चुनावमा कांग्रेस आफैंले एमालेले भन्दा धेरै मत पाएको छ । सत्ता गठबन्धनमा रहेका दलहरूको मत जोड्दा भट्टको भन्दा बलायरको आधार धेरै बलियो देखिन्छ ।
प्रतिक्रिया 4