
कम्युनिस्टहरु हार्दैनन् । कि जित हुन्छ, कि धाँधली । नपत्याए नेकपा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ कमरेड झलनाथ खनाललाई हेर्नुहोस् । ०४८ यता एउटा चुनावबाहेक सबै चुनावमा ‘क्रान्तिकारी विजय’ हासिल गरेका उनलाई यसपल्टको नतिजा अलिक हजम भइरहेको छैन ।
यथार्थ के हो भने माओवादीले समर्थन नगरेको भए खनाल प्रधानमन्त्री हुन सक्दैनथे । उनले गत स्थानीय चुनावमा कांग्रेसबाट भोट ट्रान्सफर नभएको भन्दै खुलेआम आक्रोश पोखेका थिए । १७ पल्ट प्रधानमन्त्री हारेको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेल ‘बदनाम’ छन् । उनको बदनामीको पृष्ठभूमिमा त्यस बेलाका एमाले संसदीय दल नेता तथा पार्टी अध्यक्ष झलनाथ खनालको अनिर्णय मुख्य कारक थियो । कथित ‘राष्ट्रिय सहमति’ का नाममा एमालेले संसदमा देखाएको तटस्थता यथार्थमा बेइमानी थियो ।
इलामका कांग्रेस तर यति ‘बेइमान’ छैनन् । यसअघिका दुई आम चुनावमा आफूले हराएका कांग्रेस नेताहरु हिमालय कर्माचार्य, अनि भूपेन्द्र कट्टेल स्वयं आफ्नो प्रचारमा आफूभन्दा पनि बेसी खटिएको देखेर खनालले तिनको इमानदारी र मुर्खतामा किञ्चित शंका गर्नुपर्दैन ।
इलाम क्षेत्र १ का सबै पालिका पुगेर उनीहरुले खनालका भएका, नभएका सबै प्रतिभाबारे बखान गरे । आगामी राष्ट्रपति खनालका लागि कलममा भोट दिन भन्दै उनीहरुले रुख समर्थक मतदातासामु हात जोडे । यो पंक्तिकारले ती भिडियोहरु निकै ध्यान दिएर हेर्यो । लाग्छ, त्यति मेहनत तिनले आफ्नै लागि विगतमा गरेका हुँदा हुन् त सायद कांग्रेसको विजय सम्भव हुने थियो ।
यति हुँदाहुँदै पनि खनाल हार्दैछन् । कांग्रेसका नेताहरुले मतदातालाई ह्वीप लगाउन सकेनन्, जो खनाल चाहन्थे । परिणाम आइसक्दा पनि उनी थाहा पाउन सकिरहेका छैनन्, आफ्नो राजनीतिक बिश्रामको समय आयो । उनले इलाम १ को गणनामा धाँधली भएको भन्दै मतगणना बहिस्कार गरेका छन् । निर्वाचन आयोगलाई पनि पुनः मतदान (पुनः गणना होइन) माग गरेको जानकारी गराइसकेका छन् ।
लोकतन्त्रको कुरा गर्न सजिलो छ, साँच्चिकै लोकतन्त्रवादी हुन कठिन । निश्चित निर्वाचन क्षेत्रलाई आफ्नो जमिनदारी ठान्ने सामन्तवाद रहँदासम्म नेपालीले दुःख पाइराख्नुपर्ने छ । निर्वाचन क्षेत्र जित्न त्यस क्षेत्रमा कम्तीमा एउटा घर किन्नुपर्छ भन्ने सोचले अघिल्लो चुनावमा आरजु राणा देउवाले कैलाली–५ मा घर किनेकी थिइन् । यसपालि प्रचण्डले चितवनमा घर बनाएका थिए, नतिजा जगजाहेर छ । उम्मेदवार अनुपयुक्त लागे मतदाताले उचित निर्णय गर्न सक्छन् । त्यसलाई धाँधली या अन्तर्घात भन्दिएर कुनै पनि नेताको कद बढ्दैन ।
तर यसो भन्ने खनाल न त पहिलो हुन्, न त अन्तिम । बाघ आयो– को हल्लाले साँच्चिकै बाघ आउँदा पनि गाउँलेले नपत्याउने लोककथाजस्तै अब त कहीँ साँच्चिकै धाँधली भएको रहेछ भने पनि नागरिकले गम्भीर नहुने अवस्था आउन लागिसक्यो ।
चुनाव सकिएसँगै हामीले सत्ता गठबन्धनका दलहरुबाट सुन्नु परेको छ, ‘अन्तर्घात भयो, भोट ट्रान्सफर भएन ।’ यथार्थमा सबै सार्वभौम मतदातालाई आफ्ना कार्यकर्ता मानेर अन्तरपार्टी निर्देशन जारी गर्न खोज्दाको परिणति नेतृत्वले भोग्दैछ । तर थोत्रो संगठन शैलीमा आधारित नेतृत्वले मतदाता कसरी चलायमान हुँदैछन् भन्ने बुझ्न कठिन छ ।
प्रहरी प्रशासन सबै हातमा हुँदा पनि तालुकदार गृहमन्त्री बालकृष्ण खाँण स्वयंले चुनाव हारिसके । तर एमालेले भन्दैछ, ‘धाँधली भयो । पुनः मतदान गर ।’ पहिले माओवादीले यसो भन्थ्यो । यसपल्ट ठूलै अग्रता लिँदैगर्दा पनि एमालेबाट यो टिप्पणी आइसकेको छ । फेरि दोहोर्याउन मन लाग्यो । कम्युनिस्टहरु हार्दैनन् । कि जित हुन्छ, कि धाँधली ।
अनेक गल्तीहरुका बीच पनि कांग्रेस नेतृत्वको शालीनता बरु चित्तबुझ्दो छ । उनीहरु पराजयको जिम्मेवारी लिन्छन् । जवाफदेही बन्ने कोशिस गर्छन् । ज्ञानेन्द्रबहादुर कार्की र विजयकुमार गच्छदारले हारपछि दिएका टिप्पणी लगायत एकाध घटना छाड्ने हो भने उनीहरु जुन किसिमको स्वभाव देखाउँछन्, वास्तवमा राज्य संस्थापनमा रहने दलहरुमा त्यस्तो चरित्र देखिनुपर्छ ।
यसपल्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरिबाट ल्याइरहेको मत एमाले र माओवादीका नेताहरुले पचाउनै सकिरहेका छैनन् । यथार्थमा रास्वपाले भोट ल्याएको होइन, मतदाताले दिएका हुन् । ल्याउनका लागि उसले अहिलेसम्म देखिने गरी केही गरिसकेको छैन । तर देशभरि स्थापित ठूला नेताहरुका असंख्य गल्तीमाथि घण्टी बजिसक्दा पनि स्वीकार्न तयार नहुने, मतदाताको विवेकलाई उरन्ठेउला, हाहा हुहुमा कुदेका भनेर अपमानित गर्ने नेताहरुलाई फेरि जनताले किन छान्ने ? तिनलाई जनताले किन नेता मान्ने ?
यथार्थमा कुनै पनि दलले मतदातालाई भोट दिनका लागि अपिलमात्रै गर्न सक्छ । हामी अघिल्लो चुनावको भोट जोडजाड पारेर नयाँ परिस्थितिको आकलन गर्छौं । जबकि त्यति भोट पाएर सत्तामा गएकाहरुले अवसर पाउँदाखेरि के गरेका थिए ? अनि पकेट एरिया, कोर एरिया छँदैछ भनेर मनलागी, बासी र परित्यक्त अनुहार पठाउँदाको परिणति के हुन्छ भनेर तिनले विचार गरे कि गरेनन् ?
विगतमा पाएको भोटलाई मालपोत कार्यालय गएर आफ्नो नाममा राजीनामा पास गरेको नम्बरी जग्गाजस्तो मानेर आज जोपायो त्यही उम्मेदवार भिडाउन खोज्दा क्षति भोग्नुपर्छ भन्नलाई यस्ता धेरैवटा दृष्टान्त काफी छन् । मतदाताले विगतका चुनावको तथ्यांक सम्झेर बस्दैनन्, उनीहरुले उम्मेदवारहरुको अनुहारमा आफ्नो भविष्य कस्तो होला भनेर हेर्छन् ।
त्यसैले माधव नेपालले भोट ट्रान्सफर भएन भनेर दिल दुखाउनुको कुनै अर्थ छैन भन्नलाई उनले समानुपातिक तर्फ कमाएको भोट र प्रत्यक्षमा जितेका सिटको अनुपात काफी छ । प्रचण्डले यो चुनावमा तुलनात्मक बढी गुमाएका छन् । तर गठबन्धन नगरेको भए तिनले अझै कति गुमाउँथे होलान् भन्ने कल्पनामात्रै गर्दा पनि कुरो प्रष्ट बुझिन्छ ।
गठबन्धन त तालमेलका नाममा मतदातामाथि काठमाडौंबाट जुन निर्णय थोपर्न खोजियो, अब त्यसको निरन्तरता सम्भव छैन भन्नलाई योपल्टको चुनावी नतिजा उदाहरण हो । अब उम्मेदवारी दिने प्रवृत्ति नै बदल्नुपर्छ । निश्चित निर्वाचन क्षेत्रलाई मौजा मानेर जुनीभरि रजाइँ गर्न खोज्दा नागरिकले शान्त प्रतिवाद गर्छन् । त्यसलाई चुनाव भनिन्छ ।
कमरेड खनालले यो साधारण सत्यलाई स्वीकार गर्न कति समय लाग्ला ?
प्रतिक्रिया 4