
काठमाडौं । बारा–पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजले ४४ मेगावाट बिजुली थपेको छ । फलाम र स्टिल उत्पादन गर्दै आएको उद्योगले क्षमता विस्तारका लागि प्राधिकरणबाट थप ४४ मेगावाट विद्युत थपेको उद्योगको भनाइ छ । उद्योगले यसअघि करिब ४ मेगावाट विद्युत आपूर्ति गर्दै आइरहेको थियो ।
प्राधिकरणले परवानीपुर १३२ केभी सबस्टेसनबाट ६६ केभी प्रसारण लाइनमार्फत उद्योगलाई थप विद्युत आपूर्ति दिने छ । थप विद्युत आपूर्तिका लागि बिहीबार उद्योग परिसरमा राखिएको ६६/११ केभी, ५० एमभीए क्षमताको ट्रान्सफर्मर परीक्षण गरी सञ्चालनमा ल्याइएको छ ।
उद्योगले आफ्नै खर्चमा उद्योग परिसरमा ६६ केभीको स्वीचयार्ड बनाएको छ । प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा बिहीबार स्वीचयार्डको परीक्षण तथा सञ्चालन गरिएको हो ।
योसँगै जगदम्बा इन्टरप्राइजेज विद्युत आपूर्ति लिने सबैभन्दा ठूलो ग्राहक बनेको प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठले बताए ।
‘उद्योगले अहिले ४.८ एमभीएको लोड लिइरहेको थियो, थप ४४ एमभीए लोड दिनका लागि लाइन तथा ट्रान्सफर्मर परीक्षण सम्पन्न गरी क्रमशः स्वीकृति लोड बमोजिम थप विद्युत दिन सुरु गरिएको छ,’ उनले भने, ‘स्वीकृति लोड अनुसार विद्युत लिएमा उद्योगले मासिक रुपमा २० करोड रुपैयाँभन्दा बढी महसुल तिर्ने छ ।’
प्रतिक्रिया 4