
१७ मंसिर, काठमाडौं । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले उद्योग क्षेत्रको विकासबिना मुलुकको अर्थतन्त्र सबल हुन नसक्ने बताएका छन् ।
नेपाल उद्योग परिसंघले शुक्रवारदेखि सुरु गरेको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निजी साझेदारी संवाद ‘बजेट वाच’ कार्यक्रममा बोल्दै उनले देश विकासका लागि उद्योग क्षेत्रको महत्वपूर्ण भुमिका भएकाले उद्योग क्षेत्रको विकास बिना मुलुकको अर्थतन्त्र सबल हुन नसक्ने बताएका हुन्।
उनले उद्योग क्षेत्रको विकास, सरकारले ल्याएको बजेट कार्यान्वयन र नीति बनाउने विषयमा सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने धारणा राखे ।
मुख्य सचिव बैरागीले सरकारले कुनैपनि एउटा मात्रै क्षेत्रलाई प्राथमिकता दिएर देशको विकास हुन नसक्ने बताए । उनले त्यसको लागि सरकारले प्राथमिकताको क्षेत्रहरु बजेट तथा योजनाहरुमा स्पष्ट रुपमा अगाडि ल्याएको बताए ।
उनले सरकारले योजना बनाए पनि कार्यान्वयन हुन नसकेको स्वीकार गरे । उनले मुलुक भित्र नै उत्पादन बढाउन नसके विदेशी मुलुकसँग प्रतिष्पर्धी बन्न नसक्ने बताउनु भयो । मुख्य सचिव बैरागीले उद्योग क्षेत्रको विकासका लागि बनेको नीतिहरु कार्यान्वयन हुन नसक्नु सरकार र निजी क्षेत्रका क्षमता कमजोर हुनु भएको बताए ।
उनले सरकार र निजी क्षेत्र दुवैले आफ्नो काम गर्ने क्षमता बढाउनु आवश्यक रहेको बताए । बैरागीले पछिल्लो समय मुलुकको अर्थतन्त्र सहज अवस्थामा नभएको बताए । उनले सरकार र निजी क्षेत्र दुवै अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा छ भन्ने विषयमा जानकार रहेको भन्दै तत्काल आत्तिहाल्नुपर्ने अवस्था नभएको बताए ।
उनले मुलुकको अर्थतन्त्र श्रीलंकाको जस्तो हुन्छ भन्नेको पछि नलागी सबैले आत्माविश्वास बढाउन आवश्यक रहेको बताए । उनले अर्थतन्त्र सही ट्रयाकमा भएता पनि शतर्क हुनुपर्ने अवस्था रहेको बताए ।
प्रतिक्रिया 4