
१८ मंसिर, काठमाडौं । हिमालको दीगो व्यवस्थापन गर्न सरोकारवाला सबैको चासो र एकीकृत प्रयास आवश्यक भएको निष्कर्षसहित दीगो पर्वतीय विकास सम्मेलन सम्पन्न भएको छ ।
१५-१७ मंसिरसम्म काठमाडौंको चन्द्रागिरिमा सम्पन्न सम्मलेनमा विश्वव्यापी रुपमा भइरहेको जलवायु परिवर्तन, यसले हिमालय र समग्र वातावरणमा पारेको असरबारे गम्भीर चिन्ता र चासो व्यक्त गरिएको छ ।
सम्मेलनको उद्घाटन सत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल हिमालयको देश भएको र नेपालमा आयोजना गरिएको कार्यक्रमबाट हिमालयको दीगो विकास र संरक्षणमा सकारात्मक सन्देश प्रवाह गर्न मद्धत पुगेको बताए ।
कार्यक्रममा कोलोराडो विश्वविद्यालयका प्राध्यापक डा. अल्टन सी वायरले जलवायु परिवर्तन र यसले हिमालय क्षेत्रमा पारेको प्रभाव न्यूनीकरण गर्दै हिमालयको संरक्षणमा एकीकृत प्रयासका लागि एक जुट हुन कार्यक्रमले सहयोग पुग्ने बताए ।
पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले सम्मेलनले हिमालको दीगो व्यवस्थापनका लागि विश्वव्यापी रुपमा सन्देश प्रवाह गर्न सफल हुने बताए ।
संयुक्त राष्टसंघको महासभाले सन् २०२२ लाई अन्तर्राष्ट्रिय दीगो पर्वतीय विकास वर्षको रुपमा मनाउने घोषणा गरेको थियो ।
अन्तर्राष्ट्रिय पर्वतीय दिवसको पूर्व सन्ध्यामा विभिन्न देशबाट सम्मेलनमा सहभागी हिमालय क्षेत्रका विज्ञ तथा वैज्ञानिकले हिमालको दीगो व्यवस्थापन गर्न नसके यसले प्राकृतिक र मानवीय दुवै क्षेत्रमा गम्भीर परिणाम ल्याउन सक्ने भन्दै सरोकारवालालाई गम्भीर बन्न सुझाव समेत दिएका छन् ।
कार्यक्रममा नेपालसहित अमेरिका, बेलायत, जापान, चीन, भियतनाम, चिली, स्पेन र भारतलगायत देशका विज्ञले प्रत्यक्ष तथा भर्चुअल रुपमा विज्ञले प्रस्तुतीकरण दिएका थिए ।
सम्मेलनमा उठेका विषय अनुसार आगामी दिनमा हिमालय क्षेत्रको समग्र विकास संरक्षणका लागि नीति तय गर्न सम्मेलनले मार्गदर्शन गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताए ।
प्रतिक्रिया 4