
४ पुस, काठमाडौं । नेपालमा सरकारले स्वास्थ्यमा प्रतिकूल असर पर्ने वस्तुको उत्पादनमा अन्तःशुल्क असुल गर्छ । यस्तो अन्तःशुल्कमा बियरको योगदान सबैभन्दा धेरै रहेको पाइएको छ ।
आन्तरिक राजस्व विभागका अनुसार सरकारले आर्थिक वर्ष (आव) २०७८/७९ मा १ खर्ब ३ अर्ब रुपैयाँ आन्तरिक राजस्व संकलन गर्न सफल भएको थियो । जसमा बियरले सबैभन्दा धेरै योगदान गरेको छ । यस आवमा बियरबाट ३१ अर्ब रुपैयाँ अन्तःशुल्क संकलन भएको छ । यो कुल अन्तःशुल्क संकलनको ३०.०९ प्रतिशत हिस्सा हो ।
मदिराबाट ३० अर्ब ४१ करोड रुपैयाँ अन्तःशुल्क राजस्व संकलन भएको छ । यो कुल अन्तःशुल्क संकलनको २९.५२ प्रतिशत हिस्सा हो । सुर्तीजन्य पदार्थबाट एक वर्षमा २४ अर्ब ५६ करोड रुपैयाँ अन्तःशुल्क उठेको छ । यो कुल अन्तःशुल्क संकलनको २३.८४ प्रतिशत हो ।
अन्य औद्योगिक उत्पादनको योगदान भने १६.५५ प्रतिशत रहेको छ । यस्ता उत्पादनबाट एक वर्षमा १७ अर्ब ५ करोड राजस्व संकलन भएको विभागको तथ्यांकले देखाएको छ ।
आव २०७८/७९ मा अन्तःशुल्क संकलनमा के-को कति हिस्सा ?
- बियर : ३१ अर्ब (३०.०९ प्रतिशत)
- मदिरा : ३० अर्ब ४१ करोड (२९.५२ प्रतिशत)
- सुर्तीजन्य पदार्थ : २४ अर्ब ५६ करोड (२३.८४ प्रतिशत)
- अन्य औद्योगिक उत्पादन : १७ अर्ब ५ करोड (१६.५५ प्रतिशत)
हरेक वर्ष बढ्दैछ अन्तःशुल्क
सरकारले हरेक वर्ष अन्तःशुल्क दर बढाइरहेको छ । जसको प्रभाव राजस्व संकलनमा समेत देखिएको छ ।
आर्थिक वर्ष २०७४/७५ मा ६० अर्ब ४६ करोड रुपैयाँ अन्तःशुल्क संकलन भएकोमा ५ वर्षको अवधिमा बढेर १ खर्ब नाघेको हो ।
आव २०७७/७८ को तुलनामा आव २०७८÷७९ मा २७ प्रतिशत बढी अन्तःशुल्क संकलन भएको तथ्यांकले देखाएको छ ।
कुन वर्ष कति संकलन भयो अन्तःशुल्क ?
- आव २०७४/७५ : ६० अर्ब ४६ करोड
- आव २०७५/७६ : ७३ अर्ब ६१ करोड
- आव २०७६/७७ : ६४ अर्ब ८४ करोड
- आव २०७७/७८ : ८१ अर्ब ५१ करोड
- आव २०७८/७९ : १ खर्ब ३ अर्ब
प्रतिक्रिया 4