+

क्यानले भन्यो :  नेपाल टी-२० लिगमा फिक्सिङको हल्ला झूटो

२०७९ पुष  २० गते १३:४७ २०७९ पुष २० गते १३:४७
क्यानले भन्यो :  नेपाल टी-२० लिगमा फिक्सिङको हल्ला झूटो

२० पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले जारी नेपाल टी–२० लिग क्रिकेटमा म्याच फिक्सिङ वा स्पट फिक्सिङ भएको भन्ने हल्लाको खण्डन गरेको छ ।

क्यानले बुधबार जारी गरेको वक्तव्यमा नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्‍याउने गरी गरिएका यस्ता गतिविधि अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

म्याच फिक्सङ वा स्पट फिक्सिङबारे जानकारी भएमा प्रमाणसहित नेपाल क्रिकेट संघको केन्द्रीय कार्यालय र नेपाल टी–२० लिगको एन्टी करप्सन युनिटमा उजुरी बुझाउन पनि क्यानले आग्रह गरेको छ ।

मिथ्या र भ्रामक सूचना नफैलाउन पनि कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लद्वारा हस्ताक्षरित वक्तव्यमा आग्रह गरिएको छ ।

९ पुसदेखि सुरु भएको नेपाल टी–२० लिगमा बेटिङ, सम्भावित फिक्सिङ र विदेशी खेलाडीलाई श्रम स्वीकृतिविना खेलाइएको घटनाप्रति अनुसन्धान गर्न गृहमन्त्री रवि लामिछानेले मंगलबार नै नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

नेपाल टी–२० लिगको कमर्सियल तथा स्ट्र्याटेजिक साझेदारका रुपमा सञ्चालन अधिकार पाएको विवादित पृष्ठभूमिका सेभेन थ्री स्पोर्टस, फ्रेन्चाइज टिम र मालिकको अपारदर्शी गतिविधि, खेलाडीहरुलाई फिक्सिङका लागि आएको प्रस्ताव र केहि खेलमा देखिएका अस्वभाविक नतिजाका आधारमा धेरैले यो प्रतियोगितामा स्पट फिक्सिङ भएको हुनसक्ने आशंका गरेका छन् ।

प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले यही आरोप लगाउँदै आफ्नो जिम्मेवारी छाडेका छन् ।

नेपाल टी-२० लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय